महामारीको पीडामा लज्जास्पद क्रियाकलाप

अधिवक्ता प्रेमराज सिलवाल

भाइरसको महामारीको पीडामा भौँतारिरहेका मानिसहरूमाथि विभिन्न क्षेत्र र व्यक्तिहरूबाट अपहेलाना र पीडा दिने हर्कत र क्रियाहरू भईरहेका छन् ।

लकडाउनको पीडाबाट त्रसित भएर छाकटार्न नपाएर छटपटाईरहेका मानिसहरूलाई ‘एक पोका चामल र चाउचाउ’को लागि अनेकौं प्रकारका झंझट र नौटङ्गी गर्ने गरीएको देखिन्छ । भोका र गरीबले पाउनै पर्ने संवैधानिक भावना बमोजिमको खाना, पानी जस्ता आधारभूत कुरा दिँदा पनि राज्यका विभिन्न निकायमा रहेका र व्यवसाय गरी धन कमाएकाहरू दुःखीलाई हैरानी दिने र वेइज्यती गर्ने तरिकाले ‘राहतको पोको’ बाँडिरहेका देखिन्छन् । एकजना पोको लिने मान्छेलाई एक दर्जन ‘दानी’हरूले छुनै पर्ने र सेल्फी खिच्नुपर्ने प्रक्रिया र प्रणालीका कारण भोकाएका मानिसहरू थप आहात हुन सक्ने स्थिति देखिन्छ । अर्काेतर्फ भोका र गरिबले पाउनु पर्ने राहतको खानापानी ‘हुनेखाने’ र ‘वितरक’ आफैँले कुम्ल्याउने गरेका घटना पनि देख्न थालिएका छन् । राहतको सामग्री वितरण सम्बन्धी निश्चित मापदण्ड र नीति केही पनि नहुँदा यसमा चरम बेथिती र बिकृति देखिएका छन् । लकडाउनबाट मानिसहरू सुरक्षित र ढुक्क हुनुपर्नेमा त्रास र अनिश्चितमा बाँचिरहेका छन् ।

कोभिडको परीक्षण व्यवस्थित र चुस्त बन्न नसक्दा अन्यौलता बढी रहेको छ । कति लकडाउन गरेपछि हामी ढुक्क हुन सक्ने हो केही टुङ्गो छैन् । महिना दिन नै लकडाउन गरेपनि त्यसपछि विदेशबाट आउने मानिस र अन्य आन्तरिक कारणबाट भाइरस नसर्ने भन्ने ग्यारेन्टी छैन् । त्यसको उत्तम विकल्प भनेको सुरक्षात्मक उपाय अपाउने, स्वास्थ्य चेकजाँच गर्ने, उपचारमा ध्यान दिने, विदेशबाट आउनेको नियन्त्रण, निगरानी, चेकजाँच र सतर्कता अपनाउने जस्ता कुरा हुन् वा हुनसक्दछन् । आजसम्मको कार्य तरिका हेर्दा त्यसमा थुप्रै खेलाँची भएका छन् । जसरी बुआनबाट उद्दार गरी ल्याइएका नेपाली विद्यार्थीहरूलाई खरिपाटीमा लगेर क्वारेन्टाइनमा राखी स्वस्थ्य भएको प्रमाणित भएपछि मात्र घर पठाउने कार्य गरियो सोही तरिका त्यसपछिका दिनमा पनि अपनाउने गर्नु पर्ने थियो । त्यहाँ सेना लगायतका सुरक्षाकर्मीले गरेको कार्य प्रसंशनिय रहेको छ । तर भारतबाट आएकाहरूको क्वारेन्टाइन भने नाम मात्रको रहेकोले त्यस क्षेत्रमा थप संक्रमित रहेको अनुमान गर्न सकिन्छ ।

अर्काेतर्फ लकडाउन मात्रै बढाउने कार्यले पनि सामान्य नागरिकको दैनिकी अस्तव्यस्त बन्दैछ । सहरमा बस्ने मजदुर, श्रमजीवी र सामान्य मानिसको जीवन र दैनिकी ध्वस्त बन्ने खतरा छ । धनी र दाताले दिएको ‘राहतको पोको’ले चार छाक पनि धान्ने अवस्था छैन् । २०७२ साल बैशाख १२ गते गएको भूकम्पका बेला बाडिएको राहतको भन्दा भद्दा र विजोकलाग्दो व्यवहार यस पटक देखिएको छ । त्यतिवेला पनि काठमाडौं र विभिन्न सहरमा घर भएकाले पाल, जस्ता र खानेकुरा थुपारेका थिए । भाइरसको पीडाबाट त्रसित भएर ‘गाउँ जान नपाई न सहर न गाउँ’को अवस्थामा सहरको कुनामा बसीरहेका मानिसहरूको नाममा केही व्यक्ति र समूह आफू धनी हुने र ‘ठूलो दाता’ देखिने अभियानमा लागेका छन् । नगरपालिका र वडाका प्रतिनिधिहरू राज्य र सरकारले दिएको राहत वितरण गर्दा आफ्नै बाउको सम्पत्ति वितरण गरेजस्तो व्यवहार गरीरहेको देखिन्छ । केही दाता र वितरक ‘चार किलो’ राहतको पोको वितरण गरी ‘भिडियो र डकुमेन्टरी’ बनाई फेसबुक र सामाजिक सञ्जालमा प्रचार (लोड) गरी रहेका छन् ।

यस्तो पीडा र महामारीको समयमा मानिसमा हुनु पर्ने मानवीयता र सहयोगी भावनालाई व्यापार र विक्रीको माध्यम बनाएर आफूलाई ‘विशिष्ट’ देखाउने तरिकाले हाम्रो समाज र मूल्यलाई कस्तो बनाउला सोचनिय छ । लकडाउनको चर्चा गर्दा पनि कतै प्रहरीको अनावश्यक र नाजायज दमन र धरपकड देखिन्छ भने कतै नागरिकको हेलचेक्राईँ देखिन्छ । लकडाउनलाई आन्दोलन वा निषेधज्ञाको समयमा जस्तै बेलुकी सहर बजार खुल्ने अघोषित नियम जस्तो बुझ्ने गरीएको देखिन्छ । उता अति जरूरी कार्य जस्तो औषधी खरिद, ग्यास बोकेर हिँडेका, दुध बोकेका, बच्चा बोकेर किनमेल गरी फर्केका तथा जरूरी प्रकारका सेवामा रहेका बटुवालाई घाममा उभ्याउने (होल्ड), कान समायर उठबस गराउने मात्र होइन भाँटैभाँटाले सेकाउने समेत गरिएका छन् ।

यसले भाइरसले त्रसित बनेको जनजीवन झन त्रस्त र संकटग्रस्त बनेको छ । विश्वव्यापी महामारीको रुप लिएको भाइरसको कारण भारतीय नाकामा गरिएको कडाइ र लकडाउनको कारण राजमार्गका होटल खुल्न ससक्दा बजारका दैनिक उपभोग्य सागम्रीको हाहाकार मच्चिने खतर देखिँदैछ । सरकारले माक्स लगायतका सामग्रीमा गरेको छापा, कडाई र जरिवानाका कारण अचाक्ली मूल्य बृद्धि र कालोबजारी भएको नभएपनि क्रेताले खोजेको सामान विक्रेताले ‘छैन’ भनिदिने सजिलो तरिका अपनाउने गरिएका छन् । सामान छैन भनेपछि मूल्य, गुणस्तर आदि केहीको बारेमा पनि कुरा हुने भएन ।

यस्तो स्थितिमा उपभोक्ता बजारबाट रित्तोहात घर फर्कनु पर्ने अवस्था बाहेक केही बाँकी हुन्न । सामान्य दाल, चामल, तेलको आपूर्ति भईरहेको भएपनि सोसँग सम्बन्धित अन्य खाद्य सामग्री र उपभोग्य वस्तुको हाहाकार हुँने स्थिति बन्दैछ । ठूलो कुरा के गर्नु बजारमा ‘पाउरोटी’ पनि पाउँन सकिन्न । संकट र महामारीको यस्तो अवस्थाको व्यवस्थापन सरकारले मात्र गर्न सक्दैन । आम नागरिक, उपभोक्ता, व्यवसायी तथा सरोकारावाला सम्बन्धित सबैले संकट र अप्ठेरोको स्थिति बुझ्नु र अनुभूति गर्नु पर्ने हुन्छ । कसैले चाहेर वा नियतवस यो अवस्था नल्याएको भएपनि यो अवस्थाबाट आफू धनी बन्ने, दानी देखिने, समाजसेवी पल्टले र आफ्नो लागि दुँनो सोझ्याउँनेहरूलाई भने परिवार, समाज र सरकार सबैले एकै पटक हमला गर्नु पर्ने हुन्छ ।

कोभिड–१९ र मानिसका दैनिकी
कोभिड–१९ नामको भाइरसको त्रासका कारण घरबाट बाहिर निस्कन नसकेका र निस्कन नमिल्ने गरी बस्न बाध्य भएका मानिसहरूको दैनिकी र आचरण बदलिएका छन् । मानिसहरू दाल चामल नभएपनि फेसबुकको लागि इन्टरनेटमा पैसा जम्मा गरी बसेका छन् र सामाजिक सञ्जालमा लिसो टाँसिएजस्तो टाँसिएका देखिन्छन् । विहान उठेदेखि राती सुतेसम्म कोरोना र भाइरस सम्बन्धी समाचार, सूचना, सामग्री, खबर, चित्र आदि पढ्दा, सुन्दा र हेर्दा वाक्क र दिक्क बनेका छन् । तरपनि त्यसैमा टाँसिएर दिन बिताईरहेका छन् वा बाध्य छन् । अन्य सिर्जनात्मक कार्य गर्ने, पढ्ने, परिवार र आफन्तलाई टेलिफोन गर्ने जस्ता कार्य गर्न मानिसहरूले रुची देखाएका छैनन् । बेतुकका र विनाआधारका समाचार र सूचनाका कारण मानिसहरू थप त्रसित बन्दै गएका छन् ।

यस्तो रे, उस्तो रे, यो भयो रे, त्यो भयो रे जस्ता वाइहात सूचनाबाट मानिस वाक्क भएका छन् । घण्टा–घण्टा र मिनेट–मिनेटमा एकअर्कामा विपरित हुने र बाझिने भाइरस सम्बन्धी सूचनाका कारण भ्रम, त्रास र अन्योल बढीरहेको छ । मान्छे पिच्छेका सूचना, अर्ति र उपदेशका कारण समाजमा कोरना सम्बन्धी बुझाई र रोकथाम सम्बन्धी कार्य थप अन्यौलग्रस्त बनेको छ । कसैले फलानो वस्तु वा तरकारी खाए कोरोना नसर्ने भन्ने, कसैले कखुराको मासु र अण्डा खानु पर्ने भन्ने, कसैले मासु नै खान नहुँने भनिदिने, कसैले रक्सी खानु पर्ने भन्ने, कसैले दुध र चिया बढी खानुपर्ने भन्ने र सुनाउने, कसैले कागती र अदुवा खानु पर्ने घोषणा गरिदिने जस्ता अनेकथरी अर्ति र खाद्य उपदेशले मानिसहरू भ्रमित बन्दै गएका छन् ।

एकथरि मासिनहरू संकटको बेलामा पनि सरकारी सूचना र सन्देशलाई भ्रमपूर्ण बनाउने र गलत हल्ला फैलाउने खेतिमा समेत लागेका छन् । फलानो अस्पतालमा यति मानिसलाई कोरोना लाग्यो र यति मानिस मरिसके रे जस्ता अपराधपूर्ण हौवा समेत फैल्याउने गरिएका छन् । सरकारले मरेका मानिसको लाश जमिनमुनी गाडिसक्यो जस्ता भ्रम समेत छर्न थालेका छन् । उता सरकारले समयमा केही राम्रा निर्णय लिएर कार्य गरी रहेको भएपनि विदेशबाट आउनेहरूको हकमा बुआनबाट ल्याइएका विद्याथीहरूलाई गरेको जस्तै व्यवहार गर्नु पर्नेमा यात्रुहरूलाई आफूखुसी घर जाने अनुमति दिने गर्दा कति मानिसलाई कोरोना सर्न पुग्यो केही पत्तो छैन् । अर्काेतर्फ महामारी र संकटमा पनि भ्रष्टाचार र लुटका समाचारले नेपाली जनता दिक्क र निराश भएका छन् । संकटपूर्ण समयमा आफूलाई दानी देखाउने र पोको देखाएर प्रचार गर्दैै ठालू बन्नेहरूका कारण गरीब र पीडामा बाँच्न बाध्य मानिसहरूलाई थप पीडा थपिएको देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*