विद्यार्थीको प्रवेशपत्रमा बद्मासी,बोर्डले अघि बढाउला त कारबाही ?

विद्यार्थीको प्रवेशपत्रमा बद्मासी,बोर्डले अघि बढाउला त कारबाही ?

काठमाडौंको धुम्बाराहीस्थित प्रोलिफिक माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षा दिने विद्यार्थीको प्रवेशपत्रमा गोलमाल गरेको पाइएको छ । यस वर्ष १२ को परीक्षा दिने विद्यार्थीको प्रवेशपत्रमा १२ कक्षा उत्तीर्ण भइसकेका विद्यार्थीको फोटो टाँसेर प्रिन्सिपल गोपालबहादुर महतले राष्ट्रिय परीक्षा बोर्ड पठाएको खुलेको हो । 

भोलिदेखि सञ्चालन हुन लागेको परीक्षामा आफ्नो भाइसहित अन्य धेरै विद्यार्थी अनुत्तीर्ण हुने भएपछि उनले नक्कली विद्यार्थी खडा गरेको आरोप छ । स्रोतका अनुसार उक्त विद्यालयले विगतदेखि नै यस्तो धन्दा चलाउँदै आएको थियो । शेयर होल्डरहरुबीच कुरा नमिलेपछि यो विषय बाहिर आएको स्रोतको भनाइ छ । 

‘विद्यालयले हरेक वर्ष यसरी नै पुराना विद्यार्थीको फोटो राखेर पठाउने गरेको थियो । तर,यो विषय अहिलेसम्म लुकीछिपी बसेको थियो । परीक्षा दिनुपर्ने एउटा विद्यार्थी,फोटोचाँहि अर्कैको राखिन्थ्यो । जब त्यहाँका शेयर होल्डरहरुबीच कुरा बाझियो अनि यो कुरा छताछुल्ल भएको हो’, स्रोतले भन्यो । 

यो विषय अहिलेसम्म लुकीछिपी बसेको थियो । परीक्षा दिनुपर्ने एउटा विद्यार्थी,फोटोचाँहि अर्कैको राखिन्थ्यो । जब त्यहाँका शेयर होल्डरहरुबीच कुरा बाझियो अनि यो कुरा छताछुल्ल भएको हो  ।

यता,विद्यार्थी लोकबहादुर भण्डारीले आफ्नो तस्बिरको दुरुपयोग भएको भन्दै महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा उजुरी दिएका छन् । एक वर्षअगाडि नै सो विद्यालयबाट १२ कक्षा उत्तीर्ण भएका उनले गत वैशाख ११ गते प्रहरीमा उजुरी दिएका हुन् । 

‘एक वर्षअगाडि २०७९ ब्याचको प्रोलिफिक माविको कक्षा १२ पास भई अन्यत्र क्याम्पसमा स्नातक प्रथम वर्ष अध्ययनरत विद्यार्थी म निवेदक लोकबहादुर भण्डारीको फोटो दुरुपयोग गरी प्रोलिफिक माविका प्रिन्सिपल गोपालबहादुर महतले परीक्षा २०८० मा फोटो दुरुपयोग गरी मेरो निर्दोषीको फाइदा उठाई नक्कली प्रवेश पत्र बनाएकोले आवश्यक कानुनी कारबाहीको लागि श्रीमानसमक्ष विनम्र अनुरोध गर्दछु’, उजुरीपत्रमा उल्लेख छ । 

यता, उक्त विद्यालयविरुद्ध शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पनि उजुरी परेको छ । गत वैशाख २ गते नै विद्यालयविरुद्ध उजुरी परेको मन्त्रालयका विद्यालय शाखाका प्रमुख रामप्रसाद शर्माले बताए । सो उजुरी आवश्यक कारबाहीका लागि वैशाख ३ गते बोर्ड पठाइएको उनको भनाइ छ । 

‘सो विद्यालयले एउटा विद्यार्थीको प्रवेशपत्रमा अर्कैको फोटो हालेर पठाएको भनी वैशाख २ गते उजुरी परेको रहेछ । वैशाख ३ गते हामीलाई प्राप्त भयो । हामीले त्यही दिन बोर्डलाई पठाइदियौं । बोर्डले कारबाही प्रक्रिया अघि बढाइसक्यो होला’,उनले भने । 

बोर्डको प्रवेशपत्र शाखाको प्रमुख जयन्ती सत्यालले विद्यालयको प्रवेशपत्रमा धेरै गडबडी पाएको बताइन् । सक्कली विद्यार्थीलाई मात्र परीक्षा दिन लगाउने उल्लेख गर्दै उनले भनिन्,‘भोलिदेखि परीक्षा छ । विद्यार्थीलाई परीक्षा दिनबाट अवरोध गर्ने कुरा भएन । सक्कली विद्यार्थीले मात्र परीक्षा दिन पाउनुहुन्छ । त्यसका लागि हामी भोलि सम्बन्धित केन्द्रमा जान्छौं । आवश्यक कारबाहीका लागि महानगरलाई पत्राचार गर्छौं’, उनले भनिन् । 

कक्षा १२ को परीक्षा भोलिदेखि शुरु भएर वैशाख २६ गते सकिने छ ।
 

टिप्पणीहरू