सर्वपक्षीय बैठकमा दल र जेनजीप्रति प्रधानमन्त्रीको गुनासो

सर्वपक्षीय बैठकमा दल र जेनजीप्रति प्रधानमन्त्रीको गुनासो

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफूहरू सबैतिरको आलोचना खेप्ने अचानो नभएको टिप्पणी गरेकी छन् ।

आज सिंहदरबारमा आयोजित सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले सरकारलाई जेन–जी र राजनीतिक दलले प्रहारको निशाना बनाएको बताइन् । विगतमा भएका गल्ती र कमजोरीको परिणामस्वरूप भदौ २३ र २४ को घटना भएको र त्यसको आवेग आफूहरूले सहनपरेको प्रधानमन्त्रीको गुनासो छ । 

मुलुकको निम्ति अहिले आइरहेका आक्षेपहरू खेप्न तयार रहेको बताउँदै उनले राजनीतिक दल देशको लागि सर्वेसर्वा नभइ सबैभन्दा पहिला जनता हुने स्पष्ट पारिन् । जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू सच्चिनपर्नेमा प्रधानमन्त्री कार्कीको जोड छ । 

'यो देशको सर्वेसर्वा भनेको जनता जनार्दन हो । हामीले कुनैपनि राजनीतिक दलभित्र आफ्नो भागबण्डा मिलेन, आफूबीचमा मन मिलेन भने त्यसको नकारात्मक असर र प्रताडना जनतालाई दिनु हुँदैन', उनले भनिन्, 'जनताको एउटा च्वाइसको कुरा हो । यहाँ सबैभन्दा ठूलो महान भनेको जनता हो । राजनीतिक दल भनेको दोस्रो कुरा हो । राजनीतिक दलहरू जनताको सेवा गर्न बसेको हो ।'

नेकपा एमाले र नेपाली कांग्रेसतर्फ संकेत गर्दै प्रधानमन्त्रीले 'मेरो गोरुको बार्है टक्का' भनेर मुलुकले निकास नपाउने बताइन् । 

'जनता के चाहन्छन् ? अहिलेको भावना के हो ? भदौ २३ र २४ मा जुन किसिमको मुभमेण्ट भयो, हत्या र हिंसा भयो । नाबालकहरु मारिए । त्यसले जनतामा प्रभाव परेको छ', उनले भनिन्, 'जेन–जीले के खोजेको, युवापुस्ताले के खोजेको ? हामीले त विचार गर्नुपर्यो । मेरो गोरुको बाह्रै टक्का भनेर न हामी सफल हुनसक्छौँ, न सफलताको मार्ग हो । जनताले परिवर्तन खोजेको छ भने पोल्टिकल पार्टीले पनि सच्चिनुपर्छ ।'

प्रधानमन्त्री कार्कीले आफूहरु जेन–जीका रगतमा ऐस-आराम गर्न नआएको पनि स्पष्ट पारेकी छन् ।

टिप्पणीहरू