कमरेड भोला,राजीनामा के होला ?
एमालेको जारी ११ औैं महाधिवेशनमा बहालरत कर्मचारीले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएपछि हंगामा मच्चिएको छ । संस्थापन पक्ष भन्दै अध्यक्ष केपी शर्मा ओली निकटहरुको उम्मेदवार सूचीमा श्रमिक क्षेत्रबाट विनोद श्रेष्ठ, भोला पोखरेल र एक महिलासमेत तीन जनाको नाम छ।
रोहित पार्टी नाम भएका पोखरेलको दरबन्दी २०७६ देखि खोटाङको हलेसी तुवाचुंग नगरपालिकामा भए पनि उनी शाखा अधिकृतको रुपमा सिंहदरबारमै काजमा छन् । उनको उम्मेदवारीपछि महाधिवेशन बन्द सत्रस्थल भृकुटीमण्डपमा दिनभर ‘रामेश्वर खनालको सामान्य प्रशासन मन्त्रालय,भ्रष्टाचारविरुद्ध र जेन जीको आडमा बनेको सुशीला कार्कीको सरकार’ भन्दै खिसीट्युरीसमेत गरिएको थियो ।
तर पोखरेलले आफू कार्यरत संघीय मन्त्रालयमा राजीनामा बुझाएको दाबी गरेका छन् । उनका प्रतिस्पर्धीहरुले नगरपालिकामा रहेको दरबन्दी नगरपालिकाबाटै हुनुपर्ने,संघीय मन्त्रालयमा काजमा रहेकाको राजीनामा उतैबाट स्वीकृत हुनुपर्ने जिकीर गरेका छन् ।
अध्यक्षका उम्मेदवार तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकटहरु भन्छन्, ‘राजीनामा दिएको भनिएको छ तर उनको राजीनामा स्वीकृत भएको अवस्थामा मात्रै उम्मेदवार हुन पाइन्छ । राजीनामा स्वीकृत भएको प्रमाण देखाउनैपर्छ, राजीनामा दिएको तर स्वीकृत नभएको अवस्थामा समेत निर्वाचन आचारसंहिताले दिँदैन ।’
टिप्पणीहरू