एमालेमा नाचगानमार्फत घोचपेच जारी
नयाँ नेतृत्व चयनका लागि आज राती चुनाव गराउने तयारीमा रहेको नेकपा एमालेमा उम्मेदवारका समर्थकहरू आ-आफ्नो पक्षमा माहोल तताउन व्यस्त देखिएका छन् । महाधिवेशनस्थल भृकुटीमण्डप बाहिर सडकमा बाजागाजासहित नाचगान गरेर आ-आफ्ना उम्मेदवारको समर्थनमा अबेर साँझसम्म नाराबाजी चलिरहेको छ ।
यस क्रममा वर्तमान अध्यक्ष केपी शर्मा ओली समूहले ईतर खेमाका नेता-कार्यकर्तालाई झुक्याउँदै एकलौटी रुपमा काखापाखा गरिएकोप्रति नाचगान र गीतका माध्यमले रोष व्यक्त गरेका छन् । इतर पक्षबाट महासचिव पदका उम्मेदवार सुरेन्द्र पाण्डेको प्रचारमा जुटेका युवा प्रतिनिधिले 'कति सतायो कति सतायो, बालकोट र गुण्डुले कति सतायो' को गीतमा भाका मिलाउँदै पीडा पोखेको पाइयो ।
सुरेन्द्र पाण्डेको प्रचारमा जुटेका युवा प्रतिनिधिले 'कति सतायो कति सतायो, बालकोट र गुण्डुले कति सतायो' को गीतमा भाका मिलाउँदै पीडा पोखेको पाइयो ।
उनीहरुले 'जाऊँ न च्यासल, जाऊँ न च्यासल' को भाकामा पनि सुरेन्द्रको जीतको कामना गरेका छन् । उता,नजिकै रहेका महेश बस्नेतका समर्थक केही युवाले 'केपी ओली वान्स मोर' भन्दै नारा लगाइरहेका थिए । उनीहरूले 'संकट पर्दा को आयो, महेश दाइले जोगायो' को नारा घन्काउँदा माहोल तातेको देखिन्थ्यो ।
सुदूरपश्चिम प्रदेशबाट एक केन्द्रीय सदस्यका उम्मेदवारलाई समर्थकले काँधमा बोकेर भृकुटीमण्डपमा घुमाएका थिए । त्यस्तै,केन्द्रीय सदस्यमा अर्का एक उम्मेदवारको पक्षमा तामाङ शेलोमा नाच्दै उनका समर्थक प्ले-कार्ड बोकेर प्रचार प्रसारमा जुटेका थिए ।
महेश बस्नेत समर्थक केही युवाले 'संकट पर्दा को आयो, महेश दाइले जोगायो' को नारा घन्काउँदा माहोल तातेको देखिन्थ्यो ।
योसँगै उम्मेदवारहरू विष्णुप्रसाद पौडेल,योगेशकुमार भट्टराई, राजन भट्टराई,विशाल भट्टराई, लेखराज भट्ट,कर्णबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ,शंकर पोखरेललगायतको पक्षमा जिल्ला-जिल्लाबाट आएका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । तर, माओवादीबाट आएका उपाध्यक्ष रामबहादुर थापा लगायतको पक्षमा भने प्रचारप्रसार भएको पाइएन ।
चार वर्षअघि यही भृकुटीमण्डपमै सम्पन्न नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा जस्तो चहलपहल एमाले महाधिवेशनमा अहिले देखिएन ।
टिप्पणीहरू