रिबन काट्ने कुनचाहिँ श्रीमानले ?
धरहरा होस् कि मेलम्ची– कामै नसकी उद्घाटनमा गरिएको हतारोबारे आज पनि गतिलै चर्चा हुने गर्छ । नेपालका केही ठूला योजनामा हुने हर्कत बडो बिडम्वनापूर्ण लाग्छ तर यस्तो रिबन काट्ने होडबाजी दलीय नेतृत्व तहमा मात्रै छैन ।
देशकै न्यायपालिका हाँक्ने सर्वोच्च अदालतमा अहिले यस्तै होडबाजी जारी छ । सिंहदरबार परिसरभित्रै सर्वोच्च अदालतको नयाँ भवन बन्दैछ । महिनौँ काम गरेपछि मात्रै त्यो पूरा हुने अवस्था छ । तर, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई रिबन काट्न हतार भएपछि बनाउने कम्पनीलाई चर्को दबाब बढाइएको जानकारी जनआस्थाले प्राप्त गरेको छ ।
‘काम गरौँ, न्याय दिऊँ भन्ने होइन कि कसरी नाम राख्ने, फोटो टाँस्ने भन्ने मात्रै ध्याउन्न देखियो’ स्रोतले भन्यो । बाहिरी आवरणको काम सकिएकै छैन । भित्री सजावटको काम थालेको छैन तर चैतदेखि समय सकिन लागेका प्रधानन्यायाधीशले कामै नसकिँदै नयाँ भवनमा पाँच वटा इजलास चल्ने गरी ठाउँ बनाइदिन ठेकेदारलाई पेलेका छन् ।
‘नयाँ बिल्डिङमा पाँचवटा इजलास तुरुन्त खडा गरेर छिटो हस्तान्तरण गरे हुन्थ्यो भन्ने निर्देशन दिइएको छ । ठेकेदारलाई बोलाएर छिटो काम सक्नुस् भनिएको छ । मंसिरको तेस्रो हप्ताकै म्याद दिइएको छ,’ स्रोतले भन्यो, ‘आइटीको टोलीले पनि तीन–चार लाखको सामान अदालतले किनिदिनुपर्यो भनेर कराएको छ । ठेक्काको समय असारमा सकिने भए पनि अहिले नै इजलास बनाउन दबाब दिँदा आफैं खर्च गर्नुपर्ने स्थिति छ ।’ उद्घाटनको रहरका कारण आफैं खर्चसमेत व्यहोर्ने गरी नयाँ बिल्डिङमा इजलास चलाउन दबाब बढाइएको स्रोत बताउँछ ।
नयाँ बिल्डिङमा इन्टेरियरको निम्ति करिब एक अर्ब लाग्ने गरी सम्झौता भएको छ । भित्री सजावट फाइभ–स्टार होटलको जसरी बनाउने हिसाबमा यति धेरै लाग्न लागेको स्रोत बताउँछ । अर्थ मन्त्रालयले यो वर्षलाई ३६ करोड लैजानु, यसभित्रैबाट जे–जे सक्छौ बनाऊ भनेर अत्तो थापेको समेत बुझिएको छ ।
भदौ २४ मा उपद्रयाहाहरूले सर्वोच्च डढाएको कारण न्यायाधीश तीन, चार जना एउटै कोठामा बस्ने गरेका थिए । पुरानो बिल्डिङतिरै काम चले पनि नयाँमा इजलास थप्दा चैतअघि नै नयाँ भवन उद्घाटन गरेर हिँड्न सकिने हिसाब राखिएको बुझ्न सकिन्छ । बरु पुरानो बिल्डिङकै इजलासहरू राम्रा छन् । त्यहाँ थोरै मर्मत गरेर चलाउनुपर्छ भन्ने सपना प्रधानको राय छ ।
पुराना इजलास ठीकै छन् । पाँच वटा चलिरहेकोमा केही थपिन सक्ने स्थिति छ । अरु न्यायाधीशले प्रकाशमान दिल्ली गएको बेला पारेर सबै भवनको अवस्था हेरेका छन् । राउत फर्केपछि भने पुरानोमा बस्न नमिल्ने गरी प्राविधिकलाई लेख्न लगाएर नयाँ बिल्डिङमा इजलास उद्घाटन गर्ने तयारी भएको हो ।
‘नयाँमा सार्न खोज्ने र पुरानैबाट काम चलाउनुपर्छ भन्नेमा श्रीमानहरूबीच हानथापको स्थिति छ,’ स्रोतले भन्यो, ‘आइतबार न्यायाधीशको टोलीले अहिलेकै संरचनामा काम गर्न सकिने वा नसकिने हेरेको छ । पुरानोतिर दोस्रो र तेस्रो तलामा अरू पाँचवटा थप्यो भने दशवटा इजलास चल्नसक्ने स्थिति छ ।’
नजलेको एनेक्स बिल्डिङमा पाँचवटा इजलास छ । अरु अर्को व्यवस्था नभएसम्म चारवटा थपिन सक्छ । गोला नपर्दाखेरि पाँचवटा इजलासका १० जनाबाहेक अरु न्यायाधीशले खाली बस्नुपर्ने स्थिति छ । २१ जना न्यायाधीशमा दुई जना खाली हुँदा १९ जना छन् ।
कतिपय प्राविधिक कामले गर्दा इजलास भए पनि मुद्दा पेशी चढिहाल्ने स्थिति छैन । कामै भएन भनेर धेरै न्यायाधीशले चित्त दुखाइरहेको स्थिति पनि अर्कातिर छ । असारसम्म काम सक्ने गरी नयाँ बिल्डिङको काम भैंसेपाटीमा मन्त्री क्वार्टर बनाएको र सिंहदरबारमा संसद भवन बनाइरहेको अच्युत खरेलको समानान्तर कम्पनीले गरिरहेको छ भने विष्णु पन्थीको केज कन्सल्ट्यान्सीले इन्टेरियरको ठेक्का पाएको छ । तर काम नसकिँदै ७ अर्बको भवन उद्घाटन गर्ने भोकले न्यायाधीश पनि नेताकै बाटोमा हिँड्न खोेजेको चर्चा सर्वोच्च अदालतमै व्याप्त छ ।
(जनआस्था साप्ताहिकको मंसिर १७ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू