पत्रकारलाई ‘घरबाटै थुतेर मार्ने’ धम्की

पत्रकारलाई ‘घरबाटै थुतेर मार्ने’ धम्की

नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशीले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पत्रकार छविलाल तिवारीलाई घरबाटै थुतेर गाला सेकेर मार्ने धम्की दिएका छन् । नागरिक दैनिकमा कार्यरत तिवारी कांग्रेसको भ्रातृ संगठन नेपाल प्रेस युनियन पर्वतका पूर्व अध्यक्ष हुन्। 

महासंघ पर्वत शाखाका पूर्व अध्यक्ष तथा प्रेस युनियनका नेता तिवारीले सभापति जोशीले गएराति फोनमार्फत घाँटी सेकेर मारिदिने धम्की दिएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

गत मंसिर २३ गते स्थानीय सारथी न्युज अनलाइनमा प्रकाशित समाचारलाई लिएर सभापति जोशीले फोन गरेर ज्यान मार्ने धम्की दिएको बताइएको छ। जोशी पूर्व सांसद तथा पर्वत कांग्रेसका नेता अर्जुन जोशीका सहोदर भाइ हुन्।

जानकारीअनुसार सभापति जोशीले सोमबार राति ८ः२७, ८ः२९, ८ः३०, ८ः३७, ८ः३८, ८ः४७ र ८ः५१ गरी सात पटकसम्म पत्रकार तिवारीलाई मोबाइल फोन गरेका थिए। अन्तिमपटक राति ८ः४७ मा फोनमा कुरा गर्दै ‘मन्दिर नजिक दुई मिनेट भेट्नुपर्यो भाइ’ भनेको बताइएको छ।

जोशीको यस्तो आग्रहपछि पत्रकार तिवारीले आफू सुतिसकेको र भोलि भेट्ने बताएका थिए। त्यसपछि जोशीले फोन काटेका थिए। तर, पुनः राति ८ः५१ बजे फोन गरी ज्यान मार्ने धम्की दिएको भन्दै पीडित पत्रकार तिवारीले प्रेस युनियनका नेता तथा स्थानीय पत्रकारहरूलाई जानकारी गराएका छन्।

जोशीले मोबाइल फोनमार्फत ‘तँ पहिल्यै मर्नुपर्ने मान्छे होस्, के समाचार लेखिस् ? घरमा आएर थुतेर गाला सेकेर मार्छु’ भन्ने धम्की दिएको कुरा युनियनका नेता समेत रहेका तिवारीले आफ्ना नजिकका पत्रकारहरूलाई बताएका छन्। जोशीले करिब दुई मिनेट ५० सेकेन्डसम्म यसरी धम्की दिएको र मंगलबार बिहानसम्म पनि पटक–पटक फोन गरी मानसिक दबाब दिएको बताइएको छ।

पीडित पत्रकार तिवारीले नेपाल प्रेस युनियन र नेपाल पत्रकार महासंघसँग मौखिक रूपमा आफ्नो ज्यानको सुरक्षाको माग गरेका छन्।

टिप्पणीहरू