पूर्व पञ्चहरुले सिकाएको पाठ

पूर्व पञ्चहरुले सिकाएको पाठ

केही समयअघिसम्म आन्तरिक विवादको चरम अवस्थामा पुगेको राप्रपा निकै शान्त छ । कारण खोजी गर्दा निकै कुशलतापूर्वक विवाद व्यवस्थापन गरिएको तथ्य फेला परेको छ । प्रमुख दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र आन्तरिक शक्ति संघर्ष उत्कर्षमा रहेका बेला विघटित संसदको पाँचौं ठूलो दल राप्रपाको विवाद व्यवस्थापन एउटा उदाहरणका रुपमा पेश गर्न लायकको छ । 

समाचार स्रोतका अनुसार, विधानतः यही मङ्सिर १६ देखि १८ सम्म महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने दबाबमा परेको राप्रपाले कानुनी रूपमा प्राप्त ६ महिना पछि महाधिवेशन गर्न पाउने अवसरलाई उपयोग गर्दै विवाद व्यवस्थापनको विधि पहिल्याएको हो ।

यस क्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले इतर पक्षका नेताहरूमाथि गरेका सम्पूर्ण कारबाहीलाई स्थगित गरिएको छ । कारबाहीमा परेकाहरूलाई कार्यसमितिको बैठकमा बोलाउनुको सट्टा महाधिवेशन आयोजक समितिमा परिणत गरेर त्यसमा सहभागी बन्ने मौका प्रदान गरिएको छ । त्यसो गर्दा चुन्ने र चुनिने अधिकारबाट कोही वञ्चित नहुने र सम्मानजनक रुपमा पार्टी गतिविधिमा सहभागी बन्न पाउने भएपछि विवाद साम्य भएको छ । परिस्थितिजन्य आवश्यकतालाई मनन गर्दै सबै पक्ष लचिलो बनेकै कारण यस्तो सहमति सम्भव भएको राप्रपाका एक उच्च नेताले बताए । 

राप्रपा निर्वाचनको तयारीमा निकै सक्रिय बनिसकेको छ । त्यसैले अहिलेको सरकारलाई राजावादीहरूको समेत सहभागिता हुनेगरी पुनर्गठनको दबाव दिइएको छ । राजाको नाममा प्राप्त हुनसक्ने मतलाई आफ्नो पक्षमा ल्याउन समेत यस्ता गतिविधि आवश्यक रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् । राप्रपाले राजावादी शक्तिहरूलाई एकीकृत गर्ने प्रक्रियालाई समेत निकै तीव्रता दिएको छ । सोही क्रममा चार वर्षअगाडि नयाँ दल खोलेका कमल थापासँग एकीकरणको छलफललाई निकै घनिभूत बनाइएको छ । गएको शनिबार कमल थापा र राजेन्द्र लिङ्देनबीच यसबारे चाँडै टुंगोमा पुग्ने सहमति भएको स्रोतले जानकारी दिएको छ । 

उता आफूलाई राजावादी भन्दै हिँडेका दुर्गा प्रसाईं भने राजावादी कित्ताबाट निकै टाढा पुगिसकेको बताइन्छ । पूर्व राजा ज्ञानेन्द्रले दुर्गासँग लगभग सम्पर्क टुटाइसकेको राप्रपा नेताहरूको दावी छ । त्यसो त केही महिना यता ज्ञानेन्द्रले राप्रपा नेताहरू धवल समशेर वा राजेन्द्र लिङ्देनलाई समेत भेटघाट वा सम्पर्कमा राखेका छैनन् ।

(जनआस्था साप्ताहिकको मंसिर १७ गते बुधबारको अंकमा प्रकाशित) 

 

टिप्पणीहरू