यौन दुर्व्यवहार गर्ने गुरुलाई उन्मुक्ति

यौन दुर्व्यवहार गर्ने गुरुलाई उन्मुक्ति

अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रस्तुत गर्ने एक कोच (गुरुबा)ले किशोरी (खेलाडी) माथि यौन दुर्व्यवहार गरेको उजुरीलाई प्रहरीले मिलापत्रबाट टुंग्याइदिएको पाइएको छ । १७ वर्षीया किशोरीलाई अश्लिल सन्देश पठाएर यौन दुर्व्यवहार गर्ने खेलाडीलाई कारबाही गर्नुको साटो उन्मुक्ति दिइएको हो । 

ती गुरु हुन्, सन्तोष खत्री । उनले काठमाडौंको नक्साल र ललितपुरको थसिखेलस्थित रेज फिटनेसमा मुआथाई सिकाउँदै आएका छन् । श्रीलंका र थाइल्याण्डमा हालै सम्पन्न प्रतियोगितामा उनले नेपाललाई प्रस्तुत गरेका थिए । तर, ती खेलमा पराजित भए । अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गरिसकेका उनले एक एमएमए (मिक्स्ड मार्सल आर्टस्) खेलाडीलाई अश्लील म्यासेज पठाएर तनाव दिएको पाइएको छ । 

उनले ती किशोरीलाई ‘शरीरको फोटो खिचेर पठाउ’ लगायतका म्यासेज पठाउने गरेका थिए । घरमा त्यो कुरा भन्न नसकेपछि किशोरी प्रहरीमा गइन् । प्रहरीले त्यस्तो केस आफूहरूले नहेर्ने भन्दै साइबर ब्यूरो पठाइदियो । तर, खत्रीउपर अदालतबाट म्याद लिएर अनुसन्धान गर्नुको साटो ब्यूरोले मिलापत्र गराइदियो । ‘रक्सी खाएर लेखेको’ भनेपछि ब्यूरोले मिलापत्र गराएको स्रोत बताउँछ । 

स्रोत भन्छ, ‘ब्यूरोले दुवैलाई बोलाएछ । उनले रक्सी खाएर लेखेछु भनी माफी मागे । ब्यूरोले यस्ता केस कति आउँछ, आउँछ भनेर मिलापत्र गराइदिएको सुनिन्छ ।’ दण्डबाट उन्मुक्ति पाएपछि खत्री हाँसीहाँसी ब्यूरोबाट बाहिरिएको स्रोतको जिकिर छ । यस्तोमा मिलापत्र गर्नु गम्भीर अपराध हो ।

यौन दुर्व्यवहार गरेमा केही सार्वजनिक (अपराध र सजायँ) ऐन, २०२७, गाली र बेइज्जती ऐन, २०१६, मुलुकी अपराध संहिता, २०७४ बमोजिम कारबाही र सजाय हुन्छ । त्यस्तै, विद्युतीय माध्यमबाट ह्यारेस गरेमा ‘विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३’ बमोजिम कारबाही गर्नुपर्ने व्यवस्था छ । ब्यूरोका सूचना अधिकारी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले ब्यूरोले मिलापत्र नगराउने दावी गरे । भने, ‘पीडितले जे भन्छ हामीले त्यही गर्ने हो । पीडितले भनेअनुसार नै अनुसन्धान अधिकृतले गर्नुभयो होला ।’

(जनआस्था साप्ताहिकको मंसिर २४ गते बुधबारको अंकमा प्रकाशित) 

 

टिप्पणीहरू