अध्यक्षको फोटो नराख्दा सोत्तर

अध्यक्षको फोटो नराख्दा सोत्तर

एमालेको ११औं महाधिवेशनका लागि प्रतिनिधि छनोट सकिएको छ । सर्वसम्मत नभएका जिल्लामा शनिबार निर्वाचन गरेरै प्रतिनिधि छनोट गरिएको छ । ललितपुरमा भने पैसाको खोलो बगाइएको टिप्पणी भएपछि खैलाबैला शुरु भएको छ । केही नेताले गाडीमा मान्छे ओसार्ने तथा यातायात खर्चदेखि न्यानो कपडासमेत उपहार दिएर १ नं निर्वाचन क्षेत्रमा मत प्रभावित पारेको सुनिन्छ । जिल्ला कमिटी तथा बागमती प्रदेश कमिटीका नेताहरूले नै फेसबुकमा त्यस्तो टिप्पणी गरेका हुन् ।

ललितपुरबाट १४ जना प्रतिनिधि निर्वाचित भएका छन् । १४ मा अहिलेको अवस्थाअनुसार ९ जना ओलीपक्षीय छन् भने ५ जना बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलनिकट मानिन्छन् । ओलीको टिमबाट उम्मेदवार बन्न लालायित नेताहरू टिममा नपरेको अवस्थामा भने अवस्था उल्टो हुने सम्भावना पनि छ । ललितपुरबाट उपाध्यक्षमा रघु पन्तले आकांक्षा राखेका छन् । ललितपुर–३ बाट आएका तीन जना प्रतिनिधि उनी पक्षधर छन् ।

हालका पोलिटव्युरो सदस्य सुशिला नेपाल पनि पदाधिकारी वा स्थायी कमिटी सदस्यका लागि नेतृत्वको संकेत पर्खिरहेकी छन् । विद्या भण्डारीसँग निकट भएकै कारण ओलीले यसअघि पनि खास जिम्मेवारी दिने बेला प्राथमिकतामा नराखेको र यो महाधिवेशनमा पनि ओलीको टिममा परिनन् भने अवस्था फरक बन्ने बुझिएको छ । 

ललितपुरमा ३ कार्यकाल नेतृत्व गरेका बागमती प्रदेशका मन्त्री मधुसूदन पौडेल खुला प्रतिनिधिमार्फत लोकप्रिय मत ल्याएर छानिएका छन् । उनी केन्द्रीय सदस्य बन्ने चर्चा छ । ईश्वर पोखरेल निकट मानिने पौडेललाई यो पटक ओलीतिर लाग्न चर्को दबाब आएको छ तर आफू केही समय अघिदेखि नै ओलीको पक्षमा उभिएको बताउने पौडेल ओली पक्षबाट ढुक्कले स्थान सुरक्षित नभए पोखरेलतिर लाग्न सक्ने आशंका प्रतिनिधि छनोटका क्रममा प्रतिष्पर्धीहरूले नै बताइरहेका थिए । प्रतिनिधि छनोट हुँदा ६० प्रतिशत ओलीको र ४० प्रतिशत पोखरेलको भए पनि निर्वाचन नै हुने अवस्था आएको खण्डमा प्यानल निर्माणका कारण अवस्था फरक पर्ने सम्भावना छ । 

बागमती प्रदेश कमिटी र केन्द्रीय कमिटीमा आयोजक रहेका गरी थप ६ जना ललितपुरबाट सहभागी हुन्छन् । ती नेतामा अध्यक्षनिकट र वरिष्ठ नेतानिकट तीन तीन जना हुने देखिएको छ । काठमाडौंमा पोखरेलनिकट प्रतिनिधि बढी छानिएका छन् भने ललितपुरमा ४० प्रतिशत पोखरेलनिकट परेका छन् । 

महाधिवेशन प्रतिनिधिका लागि मत माग्दै गर्दाका प्रचार सामग्रीमा ओलीको फोटो नराखेकै कारण स्थानीय तह निर्वाचनमा गाउँपालिकातर्फ जितेका एक मात्र अध्यक्ष तामाङ समुदायका लोकप्रिय नेता कृष्णमान लामालाई क्षेत्र नं १ बाट हराइएको छ । क्षेत्र नं २ र ३ मा तुलनात्मक रूपमा अलि शान्तपूर्वक निर्वाचन भए पनि ओलीको फोटो नराख्ने नेतालाई छानीछानी हराइएको नेता, कार्यकर्तामा गाइँगुइँ छ ।

- रामहरि सञ्जेल 
 

टिप्पणीहरू