पिए पाउन मन्त्रीलाई पेलान
फाइल फोटो
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सचिवालय सुविधा बढाउन माग गरेका छन् । अर्थमन्त्री रामेश्वर खानाल र कानुनमन्त्री अनिल सिन्हासँग गत बुधबार छुट्टाछुट्टै भेट गरेका उनले स्वकीय सचिव र प्रेस सल्लाहकारको थप दरबन्दी माग गरेको बताइएको छ ।
राष्ट्रियसभा अध्यक्षले सहसचिव र उपसचिव सरहका कर्मचारी एक–एक तथा शाखा अधिकृतसरहका दुई कर्मचारी, दुईजना ड्राइभर, कम्प्युटर अपरेटर र कार्यालय सहयोगीसहितको सुविधा पाउँदै आएका छन् । यसअघि ३ जना स्वकीय सचिव र प्रेस विज्ञ राखेका थिए । तर, सुशीला कार्कीको सरकारले खर्च कटौती भन्दै सभामुख र राष्ट्रिय सभा अध्यक्षसहित संघीय संसद सचिवालयका पदाधिकारीको सचिवालयमा दरबन्दी घटाइदियो । यसैको घानमा प्रेस विज्ञको दरबन्दी खारेज भएको छ । अध्यक्षले मन्त्रीलाई तीन जना स्वकीय सचिव र एक जना प्रेस सल्लाहकारको दरबन्दी थप्न माग गरेको बुझिएको छ । अर्थमन्त्रीले भने कानुनतिरको प्रस्तावमा सुविधा खारेज भएको स्मरण गराउँदै यथास्थितिमा दरबन्दी थप्न नसकिने जवाफ दिएको श्रोतले बतायो । आफ्नोसमेत स्वकीय सचिव नभएको उदाहरण दिँदै उनले कानुन संशोधनको विकल्प सुझाएका थिए ।
जेनजी आन्दोलनपछि बनेको सरकारले कात्तिक पहिलो साता संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूचीमा हेरफेर गर्दै उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षको स्वकीय सुविधा हटाएको थियो । यो निर्णयपछि राज्यका दुई अंग कार्यपालिका र व्यवस्थापिकाबीच सम्बन्ध चिसिएको छ । यसअघि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर स्वकीय सचिव कटौती गरिएकोमा असन्तुष्टि जनाएका थिए । निर्णय लिनुअघि आफूलाई एक बचन सोधखोजसमेत नगरिएको भन्दै उनले गुनासो गर्दै आएका छन् ।
(जनआस्था साप्ताहिकको मंसिर २४ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू