प्रधानमन्त्रीले बोलीमा हेक्का नराख्दा
चीन–जापानबीच बढ्दो कूटनीतिक तनावका कारण दुई मुलुकबीचको हवाई उडान गम्भीर रूपमा प्रभावित भएको छ । इस्वी सम्वत् २०२६ नयाँ वर्षसँगै शुरु हुने सार्वजनिक बिदामा चीन–जापानबीचका ४६ वटा हवाई मार्गको उडान रद्द गरिएका छन् ।
यसबाट बिदा मनाउन धेरै पहिलेदेखि तयारी थालेका हजारौँ यात्रु अप्ठेरोमा परेका छन् । आगामी दुई हप्तासम्म दुबै मुलुकको पर्यटकीय गन्तव्य समेटिएका ४६ हवाई रुटमा कुनै पनि उडान सञ्चालन नहुने अवस्था छ ।
यसबाट चीन र जापानका कूल ३८ वटा विमानस्थल प्रभावित भएका छन् । चीनमा जनवरी १ देखि ३ सम्म मनाइने नयाँ वर्षको सार्वजनिक छुट्टीसँगै एक हप्ता लामो बिदाको माहौल बन्छ । यो बेला करोडौं चिनियाँ विदेश भ्रमणमा निस्कन्छन् । तीमध्ये लाखौंले महिनौंअघि जापान यात्राको योजना बनाएका थिए । तर, अहिले ती सबै कार्यक्रम रद्ध गरिएको छ ।
जापानी प्रधानमन्त्री सानाए ताकाइचीले चीनको आन्तरिक मामिलामा प्याच्च टिप्पणी गरेपछि चीन–जापान तनाव एक महिनाबाट क्रमशः बढेको हो । जापानी प्रधानमन्त्री ताकाइचीले ताइवानमाथिको सम्भावित चिनियाँ आक्रमण जापानका लागि “अस्तित्वमै खतरा” हुनसक्ने र त्यस अवस्थामा जापान सैनिक रूपमा अन्तर्राष्ट्रिय समूहमा संलग्न हुनसक्ने टिप्पणी गरेपछि दुई मुलुकबीचको सम्बन्ध जटिल भएको थियोे ।
चीनले तत्काल कडा प्रतिक्रिया जनाउँदै आफ्ना नागरिक तथा विद्यार्थीलाई जापान नजान चेतावनी दियो । लगत्तै चिनियाँ एयरलाइन्सहरुले निःशुल्क रिफन्ड योजना अघि सारेपछि जापानको पर्यटन र अर्थतन्त्रमा गम्भीर धक्का लाग्ने अवस्था उत्पन्न भएको त्यतिबेलै जनाइएको थियो ।
स्रोत : चिनियाँ सञ्चार माध्यमहरु ।
टिप्पणीहरू