जनआस्था पत्रकारको रहस्यमय मृत्युबारे छानबिन गर्न महासंघको माग

जनआस्था पत्रकारको रहस्यमय मृत्युबारे छानबिन गर्न महासंघको माग

युवा पत्रकार अजय गोर्खालीको मृत्यु रहस्यमय देखिएको भन्दै नेपाल पत्रकार महासंघले छानबिनको माग गरेको छ । महासंघले आज विज्ञप्ति जारी गर्दै घटनाबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ । 

जनआस्थामा आबद्ध रहेर लामो समयदेखि पत्रकारितामा सक्रिय गोर्खालीको गत मंसिर २० गते अल्पायुमै निधन भएको थियो । केही वर्षदेखि मानसिक तनावबाट गुज्रिँदै आएका उनी चितवनको शहिदगेटमा आफैंलाई चोट पुर्याइरहेको अवस्थामा भेटिएका थिए । 

प्रहरीका अनुसार स्थानीयले फोन गरेर जानकारी गराएपछि गोर्खालीको उद्धार गरेर भरतपुर अस्पताल पुर्याइएको थियो । तर, अस्पताल लगिएको केहीबेरमै उनलाई चिकित्सकले मृत घोषणा गरे । उनको निधन स्वाभाविक हो या लखेटेर कुटपिटबाट भएको हो ? भन्ने अहिलेसम्म खुलेको छैन । 

यस्तै, घटना बाहिरिएलगत्तै प्रहरीसँग सोधखोज गर्दा र त्यसदिनको दुई वटा भिडियो फुटेज हेर्दा गोर्खालीको मृत्यु रहस्यमय देखिन्छ । महासंघको चितवन शाखाले पनि सार्वजनिक भएका फोटो, भिडिओ र प्रत्यक्षदर्शीको भनाइले उनको मृत्यु रहस्यको घेराभित्र रहेको आशंका गर्नसकिने बताएको छ । 

महासंघका अनुसार शाखाले ‘पत्रकार अजय गोर्खालीको रहस्यमय निधनबारे अध्ययन समिति’ गठन गरेर घटनाको अध्ययन गरिरहेको छ । साथै, सम्बन्धित निकायलाई पनि घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न महासंघको माग छ । 

‘सार्वजनिक भएका फोटो, भिडियो तथा प्रत्यक्षदर्शीको भनाइले गोर्खालीको मृत्यु रहस्यको घेराभित्र रहेको आशंका गर्नसकिने महासंघ चितवन शाखाले जनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः महासंघ यो घटनाको तत्काल छानबिन गरी सत्य–तथ्य पत्ता लगाई दोषीलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।’

टिप्पणीहरू