तोकिएको मितिमा चुनाव नभए संसद पुनर्स्थापना हुनेमा सबै एकमत

तोकिएको मितिमा चुनाव नभए संसद पुनर्स्थापना हुनेमा सबै एकमत

फागुन २१ को घोषित मितिमा प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्नेमा सबै राजनीतिक दलहरू एकमत देखिएका छन् । आज प्रधानमन्त्री कार्यालयमा भएको सर्वपक्षीय छलफलमा नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित सबैजसो दलका नेताहरूले तोकिएकै समयमा चुनाव हुनुपर्नेमा जोड दिएका हुन् । 

सोक्रममा नेताहरूले फागुन २१ मा निर्वाचन नभए प्रतिनिधिसभा पुनर्स्थापना हुनेतर्फ पनि सरकारलाई सचेत गराए । त्यस्तै, स्वतन्त्र, निस्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले वातावरण बनाउन नसकेको भन्दै अधिकांश नेताले गुनासो गरेका थिए ।  

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता राजेन्द्र पाण्डेले निर्वाचनको विकल्प नभएको स्पष्ट पार्दै सरकारमा रहेका मन्त्रीहरुको अभिव्यक्तिका कारण चुनाव भाँडिने हो कि भन्ने चिन्ता रहेको बताए । सरकारलाई देशले ऐतिहासिक जिम्मेवारी दिइएको उल्लेख गर्दै उनले स्वच्छ, निष्पक्ष, भयरहित वातावारणमा चुनाव गराउन नसके मन्त्री भएर बसिरहन नैतिकरूपमा नमिल्ने चेतावनीसमेत दिएका थिए ।

‘निर्वाचन, निष्पक्ष, भयरहित, शान्तिपूर्ण हुनुपर्छ । त्यो वातावरण बनाउने काम सरकाको हो । तपाईंहरूका बोलीले निर्वाचन भाँडिँदै छ’, बैठकमा पाण्डेले भने, ‘किन बोल्नुपर्छ र ? मैले मन्त्रीहरुलाई भन्ने गरेको छु, म पनि मन्त्री भएर बिताएको छु । मन्त्रीहरु भनेको बलेँनी जस्तै हो । बलेनीको ढुंगा जस्तो हो मन्त्री भनको बाहिर जानेले पनि टेक्छ र भित्र जानेले पनि टेक्छ । ऐया भन्न पाइँदैन । त्यस्तै मुख बन्द गरेर काम गर्नुस् । अहिले धेरै नबोल्नुस् ।’

प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर अदालत गएको नेकपा एमालेका सचिव महेश बस्नेतले पनि सरकारकै व्यवहारले निर्वाचनको वातावरण नबनेको जिकिर गरे । चुनाव हुन्छ भन्ने विश्वसनीय आधार सरकारले दिन नसकेको बताउँदै उनले आफ्ना अध्यक्षमाथि लागेको स्थान हदको विषय उठाएका थिए । 

दलका नेतामाथि स्थानहद लगाउने कुराले तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न सकिने अवस्था नरहेको बस्नेको भनाइ थियो । ‘निर्वाचन भयरहितहुनुपर्यो । निष्पक्ष हुनुपर्यो, धाँधलीरहित हुनुपर्यो । दलका नेतामाथि अहिले पनि स्थानहद लगाइएको छ । म नै हुँ–५/७ जिल्ला जाँदा ढुंगा खाएर आएको मान्छे’, उनले भने, ‘हामीले ढुंगा खाएबापत खुशीयाली मनाएकै छ । त्यसकारण चुनाव २१ गते हुन्छ भन्ने कुरामा हामी विश्वस्त छैनौँ ।’ 

बस्नेतले 'नो भोट'को प्रावधान राख्ने सरकारको प्रस्तावप्रति पनि असन्तुष्टि जनाए । फागुन २१ मा चुनाव नभए प्रतिनिधिसभा पुनर्स्थापना हुने उनको भनाइ रह्यो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले पनि शान्ति सुरक्षाको विषयमा बढी जोड दिए । नेता, पार्टी र उम्मेदवारहरूको सुरक्षाको ग्यारेन्टीको जिम्मेवारी सरकारले लिनुपर्नेमा जोड दिँदै उनले चुनावको विकल्प नभएको बताएका थिए । 

अन्तरजिल्ला मतदान व्यवहारिक रुपमा सम्भव रहेको बताइएको र राजनीतिक दलहरूको प्रतिवद्धता मात्रै चाहिएको भए त्यसनिम्ति आफ्नो पार्टी तयार रहेको पनि खनालले बताए । ‘अन्तरजिल्ला मतदान व्यवहारिक रुपमा सम्भव छ भनेर निर्वाचन आयोगले जेनजी प्रतिनिधिलाई भन्नुभएको छ । यसमा राजनीतिक प्रतिवद्धत चाहियो भन्नेकुरा भनिएको छ । राजनीतिक प्रतिवद्धताका कारणले मात्रै असम्भव हो भने राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हामी तयार छौँ’, उनले भने ।

नेकपाका अर्का नेता वर्षमान पुनले पनि घोषित मितिमै निर्वाचन सम्पन्न गराउनुको विकल्प नभएकोमा जोड दिएका छन् । यसका लागि सरकारको प्रतिवद्धता सह्रानीय रहेको भन्दै उनले दलहरुले पनि सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने धारणा राखेका थिए । 

‘घोषित मितिमा निर्वाचन सम्पन्न गराउने विषयमा सरकारको तर्फबाट आएको कमिटमेन्ट सराहनीय छ । हाम्रो दलको तर्फबाट यसको लागि सरकारलाई आभार व्यक्त गर्न चाहान्छु’, उनले भने, ‘सरकारले पनि निर्वाचनलाई वैशाख, जेठतिर लैजान खोजेको हो कि भन्ने शुरु शुरुका दिनमा आशंका थियो । अहिले त्यो ठाउँ नभएको जस्तो देखिन्छ । प्रमुख राजनीतिक दलहरु समेत चुनावी प्रक्रियामा आइसकेको हुनाले उनीहरुलाई अझै प्रोत्साहित गर्नुपर्छ ।’ 

संविधानविपरित सरकारले निर्वाचनको मिति पर धकेल्ने प्रयास गरे आफूहरूलाई स्वीकार्य नहुने चेतावनीसमेत पुनले दिए । घोषित मितिमा निर्वाचन हुन नसके पुरानै संसद पुनःस्थापना हुनेप्रति उनले सचेत गराए ।

‘सरकार ६ महिनाभन्दा उता संविधानविपरित जान खोज्यो भने हाम्रो समर्थन हुदैन हामीले स्पष्टसँग भनेका छौँ । यदि ६ महिनाभित्र अर्को पार्लियामेन्ट आएन भने कि सडकले निर्णय गर्छ कि पुरानै संसद पुनःस्थापना हुन्छ । यी कुरामा हामी सबै क्लियर छौँ’, पुनको भनाइ थियो । 

निर्वाचनको वातावरण बनाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग संवाद अगाडि बढाउन उनले सरकारलाई सुझाव पनि दिए ।

राप्रपाका नेता राजेन्द्र गुरुङले दल र जनेजीबीच नवीन सहमति गरेर मात्रै निर्वाचन गर्नुपर्ने तर्क गरे । ‘मुलुकलाई नवीन समझदारीमार्फत् निकास दिनुपर्छ । निषेधको राजनीति त्यगौं', उनले भने, ‘राप्रपाले पेश गरेको नवीन समझदारीको प्रस्ताव राजा, राजनीतिक दल र सरकारबीचमा  सहमति गरौँ र अघि बढौँ ।'

टिप्पणीहरू