विनयलाई फसाएर कहाँ पुगे सपनाहरु
२२ वर्षे युवतीसँग के हुन्छ सपना ? ब्वाइफ्रेण्ड बनाउने । हाँस्ने, खेल्ने, जिस्कने र मस्ती गर्ने ! तर यस्ता रोमान्समा लागेन मेरो मन ! किशोरवयको लयमा अघि बढ्दासम्म परिचय थिएन दुःख, अभाव र तनावसँग । जति खेप्नु दुःख, कष्ट र अभावका पहाडसँग पौंठेजोरी त बुवा–आमाले खेप्नुभयो÷भोग्नुभयो । ०५५ सालमा सिन्धुपाल्चोकबाट काठमाडौं झर्नुभएका बुवाले होटलमा अरूका भाँडा चम्काएर आफ्नो र सन्तानहरूको भविष्य उज्यालो पार्ने सपना देख्नुभयो । तीन सय रूपैयाँ तलबमा काम गर्दा तीन लाखको गाली र दुर्वचनहरू सहनुभयो । आँखा खोले दुख्ने र आँखा चिम्ले पनि दुख्ने पल थिए ती । काम कुनै सानो र ठूलो हुँदैन । सानो र ठूलो हुन्छन् त लक्ष्य र गन्तव्य । पीडा र छट्पटी चुलिएर निराशाको ग्राफ बढ्दा पनि बाबाले हार्नुभएन हिम्मत । केही वर्षपछि ममी पनि काठमाडौं झर्नुभयो र ठेलामा राखेर तरकारी बेच्न थाल्नुभयो । बच्चाहरूलाई कोठाभित्र थुनेर काममा निस्कनुहुन्थ्यो । दिन रातको श्रम र पसिनाको उपज आफैंले एउटा सानो होटल खोल्ने स्थितिमा पुग्नुभयो, बुवा । नयाँ बसपार्क क्षेत्रमा एउटा होटल चलाएर बेच्नुभयो । फेरि अर्काे किन्नुभयो । त्यही क्षेत्रमा तीन वटा होटल चलाइसकेपछि ०७२ सालको भूकम्पताका बालाजुबाट जोरपाटीतिर सर्नुभएको हो । संयोग, हिजो जुन साहुले कामबाट निकालेको थियो, तिनै साहुको होटल खरिद गर्नुभयो । ममीले ठेलामा कस्मेटिक पसल चलाउनुहुन्थ्यो, अहिले थलीमा कपडा पसल छ ।
एसएलसी तहसम्मको शिक्षा थली माउण्ट एभरेष्ट, स्कुलबाट पार लगाइयो ०७९ सालमा । बुवा बनाउन चाहनुहुन्थ्यो– वकिल, आमाको चाह थियो– छोरी मेडिकल फिल्डमा लागोस् । दोसाँधमा छु, बुवाको इच्छा पूरा गरुँ कि आमाको ? ०८० सालमा साइन्स विषय लिएर पढ्न थालें– सेन्ट लरेन्स कलेजमा । बायो साइन्स रुचिको विषय रह्यो । अध्ययनमै एकाग्र बनियो । १२ कक्षा पार लगाएँ राम्रो अंक ल्याएर । एक मन त थियो यहाँ बसेर केही हुन्न । भाषा अध्ययन गरुँ र उडुँ विदेशतिर, दिदीझैं । फेरि युटर्न लिइरहेछ जिन्दगीले ।
परीक्षा सकिएर बसिरहेको बेला, फुपू पवित्रा लामाको साथ लागेर एक दिन उहाँकै कार्यालयमा गएँ । स्कूल पढ्दादेखि नै विनयजंग बस्नेत (बेवारिस लाश पोल्ने व्यक्ति) बारे सामग्रीहरू हेरिरहेको, सुनिरहेको थिएँ । फुपूले अब यही संस्थामा जोडिएर काम गर भन्नुभयो । यसअघि पशुपतितिर पुगेर कुकुरहरूलाई स्याहार, सुसार गरेको भए पनि बेवारिस लाश दागबत्ती दिएर जलाएको थिइन । शुरुका दिनमा छि ! यस्तो काम कसरी गर्न सकेको होला भन्ने लाग्थ्यो तर संस्थामा जोडिएयता आफ्नै कलिला हातले १ सयभन्दा बढी बेवारिस शवलाई दागबत्ती दिइसकें । ब्याचलर तहको शिक्षा लिनुपर्ने समय मेरो सपना मात्र होइन, अहिले गन्तव्य पनि बदलिएको छ । जीवनमा कहिले सोच्दै नसोचेको ठाउँमा आइपुगेकी छु । अपरिचितका शवमा दागबत्ती दिँदादिँदै जिन्दगीको अर्थ खोज्न थालेकी छु ।
यो क्षेत्रमा हात हाल्ने मान्छे विरलै छन्, बेवारिस र मरेकाहरूको सेवा गरेर कसले पाउँछ नै के ! तर यहाँ लाशका नाममा समेत ठग्न पछि नपर्ने रहेछन्, केही मान्छे । हालै दुर्गा प्रसाइँको घरमा पुग्यौं, विनय सर र म । उहाँले राम्रो गरिरहेका छौ भन्नुभयो । निस्कने समयमा लाश सदगद् गर्ने पैसा लैजानु भन्नुभयो । विनय सरले लिन मान्नुभएन । तपार्ईंं आफैं आर्यघाट आउनुहोस् र बिल काटेर दिनुहोस् भनेर निस्कनुभयो । हामी निस्किएको केही समयमा उहाँ आफैंले लाशको सद्गद गर्न लागेको विषय भाइरल भइसकेछ । संस्थाले हाल ७ हजारभन्दा बढी बेवारिस लाश व्यवस्थापन गरिसकेको छ । जलाउने पैसा नहुँदा सहकारीको चर्काे ब्याजको ऋण, आफैँले चढिरहेको बाइक कैयौंपटक धरौटीमा राखिएको छ । कहिलेकाँही जगदीश वैद्य, सपना रोकामगरहरु आउँछन् र आफैँले सबथोक गरिरहेको हल्ला चलाउँछन् ।
केही समयअघि पाटन अस्पतालमा रहेका ३० वटा लाशको सद्गत गर्नुपर्ने भयो । ५ वटा जलाउन पैसा पुगेन । राष्ट्रिय दलित आयोगका सदस्य देवराज विश्वकर्मालाई गुहारें । उहाँले जगदीश वैद्यसँग जोडाइदिनुभयो । वैद्य पाँच जना क्यामेराम्यान बोकेर आर्यघाट आइपुगे । लाशका अगाडि उभिएर २०/२५ वटा तस्बिर लिए । सद्गत हामीले नै ग¥यौँ । घाटबाट निस्किएपछि ‘३० वर्षदेखि बेवारिस लाशको सद्गत गरिरहनुभएका जगदीश वैद्यले आज थप पाँच वटाको गर्नुभयो’ भन्ने प्रचार भयो । यस्तो देख्दा मन कुँडिन्छ, उत्साह छियाछिया हुन्छ । यसअघि दुव्र्यसनमा डुबेकी सपना रोकामगरलाई बुवाआमाले रिह्याबमा राखेर सुधार्न विनयजंगको जिम्मा लगाएर पठाउनुभएको थियो ।
बिबिसीको प्रभावशाली १०० महिलाको सूचीमा उनै सपनाको नाम फारममा भरिदिनुभयो । जब बिबिसीमा सपनाको नाम आयो, अनि शुरु भयो विनयसँग दुस्मनी । छोरीको रूपमा राखिएकी सपनाले विनयलाई २४ दिन प्रहरी हिरासतमा पुर्याइन् । केही मान्छे चाहन्थे– विनयजंग फेरि बिग्रियोस्, पत्रु होस्, पुनः दुव्र्यसनमा लागोस् । तर नखाएको विष केही गरे पनि लाग्दैन । पिता समानको विनयलाई फसाएपछि आज सपनाहरू कहाँ छन् ? विनयजंग हुने–खानेको छोरा, काठमाडौं टिकाथलीमा जन्मनुभएको, उहाँका बुवा महालेखाको जागिरे । १५ वर्षकै उमेरमा आमा गुमाउनुभयो । २० वर्षको हुँदा इमाडोलको केटीसँग विवाह गर्नुभयो, छोरी अष्ट्रेलियामा छिन् ।
‘संसर्गजा दोषगुणाः भवन्ति’ भनेझैँ संगत गुणाको फल त मिल्ने नै भयो । कुलतमा डुबेपछि श्रीमतीले लाखौँ कोसिसका बाबजुद पनि सुधार्न सक्नु भएन र माइती गएर बस्नुभयो । बुवा आमाका लागि सबैभन्दा खुशी र आनन्द सन्तान सही बाटोमा हिँडे लाग्ने हो । छोरा बिग्रिएको, घर भाँडिएको देख्दा बुवाको मन भाँडियो सायद । एकाबिहानै इमाडोलबाट साथीको घर लाजिम्पाट जानुभएका उहाँ कहिल्यै नफर्कने गरी अस्ताउनुभयो । गाडीको ठक्करबाट ज्यान गएको उहाँको शव त्रिवि शिक्षण अस्पतालमा बेवारिस लाशको चाङमा देखेपछि विनयजंगले बेग्लै अठोट गर्नुभयो । जब उहाँ बेवारिस लाश सद्गद् गरेर घर फर्कनुहुन्थ्यो, टोलका मान्छे पागलको संज्ञा दिन्थे ।
उहाँकै प्रेरणाले म पनि बेवारिस लाश सद्गत गर्ने क्रममा जोडिएँ । काखे बच्चालाई च्यापेर सयौं लाशको सद्गत गरेँ । आजसम्म संस्थाको नाममा एउटा बैंक खाता छैन । शरीरमा एक मुठी सास र तातो रगत रहुञ्जेल बेवारिसहरूकै हितमा काम गर्ने प्रण लिनुभएको छ, विनयजंगले ।
– स्मृति चौलागाईं, बेवारिसे व्यवस्थापन केन्द्र
टिप्पणीहरू