पाउनु मात्रै माया हो र जिन्दगी !

पाउनु मात्रै माया हो र जिन्दगी !

दश वर्षकै उमेरमा टुहुरो हुन पुगेँ । सिन्धुपाल्चोकको सानो गाउँ — पिस्करमा  जन्मिएँ । उमेरले तीन दशक छुनै लाग्यो । सानो झुपडी, ढुङ्गाको पर्खाल, टिनको छानो, अनि बर्खाको हिलोमा डुबेको आँगन । सानो घर तर ठूला सपना । बुबा कृषक, आमा परिश्रमी गृहिणी । बिहान खेत, बेलुकी भाँडा, अनि बीचमा मेरो भविष्य । बाल्यकाल रमाइलो होइन, जिम्मेवारीले थिचिएको थियो । साथीहरू खेल्थे, म गाई बाख्रा हेर्नमा अल्झन्थें । कहिलेकाहीँ भागेर टाढा पुगौँ भन्ने लाग्थ्यो, बुबा सिकिस्त हुँदा गाउँमा अस्पताल थिएन ।

कोसौं पर अस्पताल थिए तर डाक्टर हुँदैनथे । आमाले मलाई लिएर बुबालाई अस्पताल पुर्‍याउनुभयो । बुबा थाकेको हावाजस्तै हुनुहुन्थ्यो —शरीर कमजोर, तर आँखामा अझै आशा । गाउँको चिसो हावा र आमाको रुन लागेको स्वरले बालमन चिरियो । त्यो दिनदेखि जीवनलाई नजिकबाट चिनेँ—बाँच्नु भनेको सास मात्र फेर्नु होइन, संघर्ष गर्न सक्नु पनि हो । बुबा बितेपछि आमाले खेत, घर र म सबैलाई सम्हाल्नुभयो । बिहान खेत जोत्थें, बेलुकी पढ्थेँ । मसँग लगाउन नयाँ कपडा थिएन, तर हृदयमा ठूलो सपना थियो — ‘पढेर ठूलो मान्छे बन्ने ।’ दुःख सुख ०७० सालमा एसएलसी दिएँ । 

पीडै पीडाबीच फुल्नुपर्छ । त्यही नै जीवन हो । सरल रेखामा त कहाँ हिँड्छ र जीवन ! रेशमी धागोझैं कमजोर हुँदै गएको मनलाई फेरि बलियो बनाएँ । जीवनको खास अर्थ हारमा होइन, निरन्तरतामा हुन्छ । हार्नु तर हार नखानु नै साँचो अर्थमा जित हो । उच्च शिक्षा अध्ययन गर्ने चाहना केही वर्ष अधुरै रह्यो । ०७२ साल वैशाख १२ गतेको भूकम्पले धेरैका पक्की घरबार ढले भने हामी मात्र कसरी अछुतो हुन सक्थ्यौं र ? आमालाई जस्ताको टहरो बनाइराखेर मनभरि सपना, झोलाभरि भविष्य बोकी भित्रिएँ राजधानी । शहरको भीड, धुलो, गाडीको कर्कश आवाज र अपरिचित अनुहारले शुरुमै डर लाग्यो । तर, मनभित्र एउटा आवाज बज्थ्यो—‘रोहित, तिमीलाई थाक्ने अधिकार छैन ।’

कहाँ म गाउँमा जन्मेर हुर्किएको मान्छे, कहाँ उनी सुनमा जन्मेर हीरामा हुर्किएकी मखमली ! तिनलाई आफ्नो बनाउन खोज्नु नै मेरो गल्ती रहेछ ।

संयोगवश, एउटा कम्पनीमा काम पाएँ सेक्युरिटी गार्डको । त्यो आइटीसँग सम्बन्धित थियो । एक दिन कुर्सीमा नर्भस भएर बसिरहेको थिएँ, नजर एक स्टाफसँग ठोक्कियो । उमेरले म भन्दा एक वर्ष सानी भए पनि विषयवस्तुलाई गहिराइमा गएर बुझ्ने क्षमताले लाग्थ्यो ‘यो अर्डिनरी मान्छे होइन ।’ नाम आरबाट आउँथ्यो । विस्तारै दोस्ती बढ्न थाल्यो । उनको मुस्कान मेरो बिहान बन्थ्यो, मौनता रात । म नदेख्दा पनि त्यसै त्यसै उनीभित्रै हराउन थालेको थिएँ । एक दिन आफ्नै डायरीमा लेखेंं—‘रिता, तिमीलाई देख्दा हृदय शान्त हुन्छ, तर मुखबाट म तिमीलाई माया गर्छु भन्न डर लाग्छ ।’

पत्तो नपाई पाँच वर्ष सोही कम्पनीमा बिताइयो । ०७७ माघमा हिउँजस्तो चिसो साँझ थियो । अफिसबाट सँगै हिँड्दै गर्दा अन्ततः मैले हिम्मत गरेर भनेँ—‘रिता, मलाई तिमी मन पर्छ... धेरै ।’ केही बेर मौन रहिन्, र भनिन ‘रोहित, म अहिले यस्तो कुरामा छैन ।’ उक्त जवाफले मेरो सम्पूर्ण अस्तित्व नै हल्लाएझैं भयो । म उनलाई हेरेर मुस्कुराएँ, तर भित्रभित्रै भत्किएँ । त्यो रात कोठामा पुग्दा सिमसिम पानी परिरहेको थियो । पानी सिमसिम परेको भए पनि सडक भिजेको थियो । त्यो पानी मेरो आँशु जस्तो लाग्दथ्यो । सो दिनदेखि कार्यालयमा उनलाई देख्दा म बोल्दिनँ थिए । एक किसिमको डर भनौं वा संकोचले डेरा जमाएको थियो तर मेरो मौनतालाई तोडेर उनी मुस्कुराउँथिन् । त्यसले झनै मलाई छट्पटी बढाउन थाल्यो । केही महिनापछि अफिसमै गाँइगुँइ सुनेँ कि —रिताको अर्काे ब्वाई फ्रेण्ड छ । शुरुमा पत्यार लागेर । तर उनको मोबाइलमा ‘मायालु’ लेखिएको नोट देखेँ र म भित्रैदेखि ढलेँ । 

मायाले मान्छेलाई बलियो बनाउनुपर्ने हो तर मायाले ढाल्दो रहेछ, लडाउँदो रहेछ । म एकतर्फी मायामा थिएँ । अब म अफिस नजाने, खाना नखाने, सुत्न नसक्ने भएँ । रातभर कानमा गीत बजाएर आँशु पुछ्ने बानी पर्न थाल्यो । म एक्लो भएँ, तर बाँच्नुपर्ने जिम्मेवारीले बाँधेको थियो । जन्म दिने आमाभन्दा पनि तीन चार वर्ष देखेको केटी मेरा लागि महत्वपूर्ण भएकी थिई । प्रायः डायरी लेख्दथें । त्यसदिन पनि लेखेँ—‘रिता, तिमीले मलाई जिन्दगी बुझ्न सिकायौ । पीडा प्रेमको अन्त्य होइन, आत्माको पुनर्जन्म हो ।’ समय बित्दै थियो । रिताको सम्बन्ध उनैको अर्को साथीसँग बढ्दै गएको थियो । उनीहरूलाई सँगै देख्दा रगत तातेर आउँथ्यो । म हाँस्ने प्रयास गर्थें, तर त्यो हाँसोभित्र केवल मौनता हुन्थ्यो । 

एकतर्फी प्रेमले मान्छेलाई कतिसम्म गर्न सक्छ भने एक रात मैले जीवनको अर्थ नै नभेटी उहाँहरू शरीर फाल्न प्रयास पनि नगरेको होइन तर बुबा र आमाको अनुहार सम्झिएँ । मेरो बुवा आमाले सदैव सिकाउनुभएको थियो —‘मानिस पीडाले होइन, आत्मबलले बाँच्छ ।’ त्यसैले मलाई रोक्यो आत्महत्या गर्नबाट । मैले आफैंलाई उठाएँ । ध्यान गर्न थालेँ, काउन्सिलिङमा गएँ, आत्म–स्वीकृतिको बाटो रोजें । हरेक दिन लेख्थें—‘आज पनि म बाँचें, किनभने म भत्किएर पनि टुट्नेछैन । हुन त रिता अहिले मेरो जीवनमा छैनन् ।

उनको नाम सुन्दा पहिला आनन्द लाग्थ्यो अहिले घृणा जाग्छ । किनकि बुझिसकेको छु—मानव जीवनमा सबै कुरा हाम्रो बशमा छैनन् । कसैले माया गर्छ, कसैले धोका दिन्छ, तर अन्ततः हाम्रो जिम्मा केवल आफैंप्रति रहन्छ । आज म सफल त हुन सकेको छैन तर स्थिर छु, । कहाँको म टुहुरो केटो ! कहाँ म गाउँमा जन्मेर हुर्किएको मान्छे, कहाँ उनी सुनमा जन्मेर हीरामा हुर्किएकी मखमली ! तिनलाई आफ्नो बनाउन खोज्नु नै मेरो गल्ती रहेछ । आज लेख्दै छु—तर हरेक शब्दभित्र त्यही बालकको पीडा, बुबाको माया, र रीताको सम्झना लुकेको छ । जीवनले मलाई हजार चोट दियो तर त्यही चोटले आज यति लेख्न सक्ने शब्द दियो । जीवनमा कसैलाई पाउनु मात्र माया होइन, कसैलाई गुमाउनु पनि माया हो भन्ने बुझेको छु । मनलाई बुझाउँछु । तिनै मेरो हुन नसकेकी रिताको लागि आज यही शब्द उपहार दिँदै छु ।

– रोहित खड्का
 

टिप्पणीहरू