भ्युटावरभन्दा रुख अग्लो

भ्युटावरभन्दा रुख अग्लो

रुखभन्दा होचो भ्युटावर । अहिले सामाजिक सञ्जालमा चर्चा पाएको यो तस्बिर भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९, ताथलीस्थित हलालगाउँमा रहेको भ्युटावरको हो । तस्बिरमा भ्युटावरको उचाईलाई छेउछाउका रुखहरुले गिज्याइरहेको देखिन्छ । 

रुखभन्दा होचो टावरमा चढेर हेर्ने चाँहि के ? सामाजिक सञ्जालमा धेरैजसो प्रयोगकर्ताले प्रश्न उठाएका छन् । पर्यटन प्रवर्द्धनको नारामा जथाभावी खडा गरिएका यस्ता टावरले राज्यकोषको चरम दुरुपयोग भइरहेको छ । ‘जनताको पसिना चुसेर भ्युटावर,गणतन्त्रको महान् उपलब्धि,’ सामाजिक सञ्जाल फेसबुकमा दिपेन्द्र श्रेष्ठले लेखेका छन् । 

‘महिनामा दुई जना चढ्न नआउने हरेक डाँडामा करोडौंको टावर अनि ग्रामीण भेगमा सडक,बत्ती,पुल,खानेपानीका लागि चाँहि बजेट अभाव हुने ?,’ अस्टमान तामाङको प्रश्न छ । ‘वडा र नगरपालिकालाई कारबाही गर्नुपर्छ । काम न काजको टावर बनाएर लुटेराहरुले ताथलीको बेइज्जत मात्र गरे,’ अभिषेक थापाकाजीले भनेका छन् । 

‘भ्युटावर बनाउन दिएको सबै पैसा कमिशनमा सक्दा यस्तो बनेको होला,’ रामसुन्दर ग्वाच्छाको भनाइ छ । ‘डाँडाको टुप्पोमा के काम भ्युटावरको, बजेट ध्वस्त पार्ने कुख्यात नीति हो यो,’ बलदेव खड्काले लेखेका छन् । ‘लौ, पानी ट्याङ्की बनेछ,’ बिके मकाजुले व्यंग्य गरेका छन् । 

चाँगुनारायण–९, ताथलीका वडाध्यक्ष गणेश त्यातका अनुसार यो भ्युटावर काठमाडौं महानगरपालिकाले २०७९ सालमा बनाइदिएको हो । विद्यासुन्दर शाक्य मेयर रहँदा नगर–नगर साझेदार कार्यक्रमअन्तर्गत महानगरले उपत्यकाका सात वटा नगरपालिकालाई धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माणका लागि एक–एक करोड रुपैयाँ सहयोग गरेको थियो । 

त्यतिबेलै महानगरले चाँगुनारायण नगरपालिकालाई पनि एक करोड रुपैयाँ सहयोग गरेको हो । सोही रकमले ताथलीमा निर्मित भ्युटावर अहिले प्रयोगविहीन अवस्थामा छ । वडाध्यक्ष त्यातका अनुसार भ्युटावर प्रयोगमै ल्याइएको छैन । निर्माण भएदेखि नै भ्युटावरमा ताल्चा लगाइएको उनको भनाइ छ । भ्युटावर बनाउँदा वडासँग कुनै समन्वय नगरिएको पनि उनले बताए । 

‘भ्युटावर प्रयोगमै आएको छैन, निर्माण भएयता नै ताल्चा लगाइएको छ । सञ्चालनका निम्ति ठेकेदार र नगरपालिकासँग पटकपटक कुरा गरे । तर, न बनाउने बेला वडासँग समन्वय गरियो न बनाएपछि सञ्चालनमा ल्याउन कुनै चासो दिइएको छ,’ वडाध्यक्ष त्यातले भने । 

नगरपालिकाका प्रवक्ता जनक खत्री सो भ्युटावर काठमाडौं महानगरपालिकाले हालसम्म नगरपालिकालाई हस्तान्तरण नगरेको सञ्चालनमा ल्याउन नसकिएको बताउँछन् । ‘महानगरको एक करोड रुपैयाँ सहयोगमा टावर बनेको हो,’ उनले भने, ‘बनेको धेरै समय भइसक्यो तर महानगरले हामीलाई अहिलेसम्म हस्तान्तरण गरेको छैन । त्यसैले, टावरलाई प्रयोगमा ल्याउन नसकिएको हो ।’

उनका अनुसार भ्युटावर रुखभन्दा होचो देखिएपनि त्यहाँबाट टाढा टाढाका दृश्य राम्ररी देखिन्छ । ‘टावर बनेको ठाउँ वन क्षेत्र हो । त्यहाँ अग्लाअग्ला रुख छन् । रुख नकाटी टावर बनाइएकोले होचो देखिएको हो । तर, टावर चढेर हेर्दा टाढाटाढाका दृश्य पनि राम्ररी देखिन्छ,’ प्रवक्ता खत्रीले भने ।

टिप्पणीहरू