सबै सरकारी कर्मचारी जार हुन्छन् ?

सबै सरकारी कर्मचारी जार हुन्छन् ?

नीलो प्यान्ट र सेतो सर्ट लगाएर उनीहरूले सेवाग्राहीलाई सास्ती दिएको त सुनिएकै थियो । अहिले भने केही बदमासले अर्काको घरबारसमेत बिगार्न थालेको देखियो । पेशाले घरजग्गा व्यवसायी म नेपाली कांग्रेस ओखलढुंगाको जिल्ला राजनीतिमा सक्रिय छु । सिद्धिचरण नगरपालिका–१ सानिटारको स्थायी बासिन्दा हुँ । जेठी श्रीमतीबाटै तीन छोरीसहित एक छोरा छन् । छोरा कलेजको पढाइ सकाएर निजी बैंकमा कार्यरत छ । प्रौढ उमेरमा जेठी श्रीमती ओम शान्ति धर्मतिर लागिन् । यो धर्ममार्गीहरू स्वयंपाकी अर्थात् अरुले पकाएको समेत खाँदैनन् । र, यो मार्गमा लागेपछि यौनादी कार्य बर्जित छ ।

प्रौढ उमेर, साथमा श्रीमती तर उनी ओम शान्तितिर लागेपछि ममा यौनकुण्ठा बढ्दै गयो । खोजीमा थिएँ मायाँ बिसाउने ठाउँ । साथीभाइसँग यस्तै विषयमा जिस्कँदै गर्दा उनैमार्फत परिचय भएको हो यशोदा थापासँग । उनी पनि प्रौढ । परिचय हुँदा बुवा, आमा, आफन्त कोही नभएको बताउँथिन् तर समयक्रमसँगै पहिलो श्रीमानले छाडेर बसेकी, संघर्षले दुई छोरीहरूलाई हुर्काइ बढाइ, पढाइरहेको थाहा भयो । उनको कथाले मन पग्लियो । आज भेट्यो, भोलि भेट्यो । यस्तै भेटघाट बाक्लिँदै जाँदा बुढेसकालमा दुई मन एक तन भयो । र, विवाह गर्ने निर्णयमा पुग्यौँ । 

विवाहअगाडि कपडा सिलाएर जीवनयापन गर्दै थिइन् । शर्त थियो– सन्तान नजन्माउने । भेटिएको केही समयपछाडि ०७४ साल वैशाखमा विवाह भएको हो रौतहटमा । केही समयपछाडि आफ्नै गृहजिल्ला ओखलढुंगा पुगी विवाह दर्ता गराइयो । र, उनको नाममा नागरिकता लिइदिएँ । पहिलो श्रीमान्को तर्फबाट जन्मिएकी छोरी अध्ययनका लागि स्कटल्याण्ड जाने भइन् । ऋण खोजेर पैसा हालिदिएँ चार लाख । कारोबार राम्रै हुँदै गयो । पैसा कमाएँ । सोचेको थिएँ, भाग्यमानी, लक्षणकी लक्ष्मी रहिछन् । तर, जीवन नसोचेको यथार्थ हो भन्छन्, जे देखिन्छ, त्यो हुँदैन, जे देखिँदैन त्यही हुन्छ ।

त्यही घरजग्गा कारोबारबाट कमाएको आम्दानीले सोही वर्ष चन्द्रनिगाहपुरमा जग्गा किनें । जग्गा किनेसँगै दबाब शुरु भयो । भन्छन्, ‘नारी हठ, राजहठ र बालहठको अगाडि कसैको केही जोर चल्दैन ।’ उनले घर बनाउन तारन्तार पेल्न थालेपछि त्यही जग्गा धितो राखेर बैंकबाट १५ लाख निकालें । घर बनाएँ । दुःखजिलो गरेरै तीन तलाको घर ठडियो । घर हामी दुवैको नाममा (संयुक्त) रहने भयो । 

पहाडको श्रीसम्पत्ति तीन छोरा, एक छोरी र श्रीमतीको नाममा गरी म मधेस झरेको थिएँ । यता, दोश्रोे श्रीमतीसँग म नजिकिँदै जाँदा पहाड (ओखलढुंगामा) रहेका श्रीमती र छोरा टाढिँदै गए । यो स्वाभाविकै पनि थियो । यता, पहाडमा रहेको छोराले घर बनाउन लागेको खबर आयो, घर बनाउने, बेच्ने काम गर्दै आएका बाबुलाई घर बनाइदिन आग्रह गरेसँगै नकार्ने कुरा थिएन । उनीहरूको इच्छा पूरा गर्नु एउटा बाबुको दायित्व हुन आउँथ्यो । कान्छीसँग बिदावारी भएर पहाड उक्लिएँ । रौतहटको सिंगो घर श्रीमतीको जिम्मामा थियो । एउटी छोरी स्कटल्याण्ड र अर्की छोरी पोखरामा । यता, कान्छी एक्लै थिइन् । यत्तिकैमा उनले मन बहलाउने साथीका रूपमा एक जना भण्डारी थरका कर्मचारी भेटिछन् । दाजुको नाता लगाउँथिन् । पुरानो चिनजान रहेछ, ती कर्मचारीसँग । मालपोतमा कार्यरत थिए त्यतिबेला । जग्गाकै कामको सिलसिलामा भेटघाट भएको र ६ महिनादेखि मात्र चिनजान भएको बताउँथिन् । तिनै सुब्बा हावी हुँदा मेरो जीवन अहिले तहसनहस हुन पुगेको छ । म नभएका बेला श्रीमती र भण्डारी थरका यी कर्मचारी मेरै घरमा बस्न थालेछन् । एक कान दुईकान मैदान यो खबर पहाडमा रहेको मेरोे कानसम्म आइपुग्यो । हतारिँदै, आत्तिँदै चन्द्रनिगाहपुर झरेँ । म घरमा भएको बखत उनको बास सरकारी क्वार्टरतिर हुन थाल्यो । हावा नचली पात त पक्कै पनि हल्लिँदैन । 

नानीदेखि लागेको बानी, किन जान्थ्यो ? विस्तारै असली चेहरा देखा पर्न थाल्यो । जति–जति भेउ पाउँदै जान्थेँ, त्यति–त्यति गल्तीप्रति पश्चाताप महसुस गर्थें । पश्चातापको आगोले बेस्सरी पोल्थ्यो, मन । तर, के गर्नु ? आँशु झारेर मात्र समस्या समाधान हुनेवाला थिएन ।

सँगै सुत्दा मध्यरातमा समेत परपुरुषको फोन आउने क्रम बढ्दै थियो । कसैलाई ‘ठुल्दाइ’, कसैलाई सान्दाइ, उनीहरूलाई घरमै ल्याउने सिलसिला बाक्लिन थाल्यो । आफन्तका नाममा छोरीबाहेक अरू छन् भन्ने मलाई थाहा थिएन । उनले अरु आफन्त छ भनेकी पनि थिइनन् । जे भन्थिन्, त्यही पत्याइदिन्थेँ । शरीर एउटै विस्तरामा भएर के गर्नु मन कोसौँ टाढा भएपछि । दुःखजिलो गरी बैंकबाट ऋण निकालेर बनाएको घर थियो ।

त्यो घर बेच्न दबाब दिन थालिन् । सायद संयुक्त नभई उनकै नाममा भएको भए लाखापाखा लागिसक्ने थिइन् होला । त्यो घर बेच्दा म सडकमै पुग्थेँ, पहाडको सम्पत्ति जहानको नाममा गरेर हिँडेको, कान्छीको पछि लागेर । उनी घर बेच्न दबाब दिने, म कुनै हालतमा नबेच्ने पक्षमा उभिने । त्यही घर खान मालपोतका कर्मचारीले मेरी श्रीमतीलाई प्रयोग गरेका रहेछन् ।

त्यो घरको मूल्य अहिले एक करोडभन्दा बढी पर्न आउँछ । अहिले यी दुबै मिलेर मैले दुःख गरी बनाएको घरमा कब्जा जमाएका छन् । म भने यतै डेरा लिएर जीवन निर्वाह गर्दै आएको छु । कहिले ओखलढुंगा पुग्छु । कहिले चन्द्रनिगाहपुर झर्छु तर आफ्नै घरमा मलाई छिर्नसमेत दिइएको छैन । बीचमा फेरि पहाडतिर उक्लिएको थिएँ । पहाडबाट फर्किने चाला नदेखेपछि उनै भण्डारीको मिलेमतोमा ओखलढुंगा प्रहरीले तीन दिनभित्र रौतहट प्रहरी कार्यालयमा हाजिर हुनू भन्ने खबर पो ल्यायो । तिनै जिम्मेवार राष्ट्रसेवकले श्रीमतीलाई मविरुद्ध अदालतमा मुद्दा दायर गर्न उक्साएका रहेछन् । यसरी एक जना राष्ट्रसेवक कर्मचारीले अर्काकी श्रीमती लैजाँदा उसलाई जार मुद्दा लाग्ने कि नलाग्ने ? 

नापी र मालपोतका केही कर्मचारीसँग सोधखोज गर्दा भण्डारीको पहिलो श्रीमती बितेको, दोस्रो श्रीमतीले छाडेर गएपछि मेरी श्रीमतीसँग नजिकिएको कुरा अहिले म मात्र होइन सबै आफन्तलाई थाहा छ । खड्का, थापा, सुवेदी, दाहाल हुँदै पुनः खड्का नै बनेकी यशोदा कहिले भण्डारी बन्ने हो प्रतीक्षा छँदै छ । एउटा महिलाले विवाहलाई पेशा बनाउन थाल्दा समाजको अवस्था के होला ? हेर्न बाँकी छ, अर्काकी श्रीमती भगाएर लैजाने ती कर्मचारीलाई कुनै कानुनले छुन्छ वा छुँदैन ? र हेर्न अझै बाँकी छ, यी भण्डारी थरका सुब्बा सा’बसँग यशोदाको सम्बन्ध कति महिनासम्म चल्दोरहेछ ? अनि यो मुलुकमा यस्ता भ्रष्ट र पतित कर्मचारीलाई कुनै ऐन, कानुन लाग्दैन हो ? हुन त यसैगरी मालपोतमा हुँदा एक सोझो सिधा लिम्बू थरको सेवाग्राहीसँग विवाहको नाटक गरेर अहिले सडकमा पुर्‍याउने एक सहसचिवलाई अहिले ओली सरकारले महत्वपूर्ण जिम्मेवारीमा पुर्‍याएको छ, त्यो पनि एमाले निकटकै कर्मचारीलाई लखेटेर । 

(जनआस्था साप्ताहिकको असार ३२ गते बुधबारको अंकमा प्रकाशित)

टिप्पणीहरू