पाइलैपिच्छे घुस खुवाउनुपर्ने भयो यहाँ

पाइलैपिच्छे घुस खुवाउनुपर्ने भयो यहाँ

जन्मिएँ, हुर्किएँ काभ्रेको नाला, उग्रचण्डीमा । पिता दीनानाथ र माता जानुकाका ६ छोरीपछिको सन्तानका रुपमा । बुवा नामझैं दिलका धनी हुनुहुन्थ्यो । बच्चादेखि नै पढाइमा कम र सामाजिक काममा बढी मन रम्थ्यो । माध्यमिक तहभन्दा माथि अध्ययन गर्न सकिएन । स्कूलबाटै औपचारिक अध्ययनलाई बीट मारेर व्यवसायमा हेलिएँ । २३ वर्षको उमेरमा भित्रिएँ काठमाडौं ।

बौद्धमा एउटा सानो रिटेल कपडा पसल थियो । चार वर्षमा त्यसबाट राम्रै मुनाफा आर्जन भयो । व्यवसाय फैलाउँदै न्यूरोडसम्म विस्तार गरें । र, थालें होलसेल पसल । व्यापारकै सिलसिलामा दुई साता वा महिना दिनमा हङकङ, चीन, थाइल्याण्ड पुगिन्थ्यो । साथीहरू माछाका अनेकन परिकार टोक्थे । म भने जिउँदा माछाहरू किनी खोला वा समुन्द्रतिर बगाइदिन्थें । सबैले खोज्ने आनन्द हो, यो प्राप्त गर्ने बाटो मात्र फरक ! विदेशी मुलुकबाट लत्ताकपडा ल्याएर बेचिन्थ्यो । नाफाको केही प्रतिशत रकम सडकका असहाय माग्ने घरवारविहीनहरूलाई खाना खुवाउन, सडकमा छोडिएका गाईगोरु, रोगी कुकुरहरूलाई उपचार गर्नमा खर्च हुन्थ्यो । भूकम्पपछि जीवनको युटर्न भयो । मभित्रको अर्काे म व्यापारमा लागिरहन दिएन । एक दिन न्यूरोडबाट फर्कंदै थिए । 

रानीपोखरीका भित्ताहरू भत्किएका थिए । बालगोपालेश्वर मन्दिर सग्लो थिएन । रानीपोखरी पुनर्निर्माणको क्रममा त्यहाँ रहेका माछाहरू ठेकेदारले धमाधम मार्दै थिए । पानी मोटरले तानेर फालेपछि पोखरीमा माछा छट्पटाइरहेको देख्नुपर्दा मनै अमिलो, तनै अमिलो भयो । भित्र गएर ठेकेदारसँग आग्रह गरें, ‘म आफ्नै खर्चमा बाहिरबाट पानी ल्याएर भर्छु । यी माछा नमारौँ ।’ ठेकेदारले मेरो कुरै सुनेनन् । केही पशुअधिकारकर्मीको साथ लागेर तत्कालै काठमाडौँं महानगरपालिका पुगें र प्रमुख प्रशासकीयलाई अनुनयविनय गरें । उनले टर्रो जवाफ फर्काए– ‘यहाँ हजारौं मान्छे भूकम्पका कारण मरेका छन्, तिनको चिन्ता गर्न छाडेर तपाइँ माछाको कुरा गर्ने ? हाम्रो समूहले महानगरपालिका घेराऊ गरेपछि उनीहरू गले ।

विद्युत् प्राधिकरणको हाकिमको आमा उसैगरी सडकबाट हाम्रो आश्रममा आइपुग्नुभयो । मिडियामा आएपछि लाज लागेर होला लिएर गए । 

सैनिक, प्रहरी र अभियानकर्ताहरूको सहभागितामा रानीपोखरीका माछा कमलपोखरीमा स्थानान्तरण गरियो । छटपटीमा परेका २८ सय माछाको जीवन सुरक्षित भयो । केही समय भूकम्पबाट प्रताडित रोजगारीविहीन नागरिकलाई निःशुल्क भोजन गराइयो । कोरोना महामारीताका रोजगारी गुमाएका सैयौँ नागरिकलाई निःशुल्क भोजनको व्यवस्था गरियो । राम्रै मुनाफा आर्जित व्यवसाय छोडेर सडकको गाईबाच्छा, माछा, चराचुरुंगीको उद्धारमा लाग्दा टोल छिमेकले दुर्गा बहुलायो पनि भने तर अरुको भनाइ सुनिन । बेवारिस गाईवस्तुको उद्धार र स्याहारसुसार गरिरहेको मेरो कामलाई नजिकबाट नियाल्नुभएको रहेछ मेघा चौधरीले । साहित्यकार वसन्त चौधरीकी एक्ली छोरी, नर्भिक अस्पतालकी निर्देशक । उहाँले एक दिन वचनबद्धता व्यक्त गर्नुभयो, सडक मानवहरूको निशुल्क उपचार गराइदिने । एक दिन दृष्टिविहिन पूर्ण श्रेष्ठले फोन गर्दै भन्नुभयो, ‘मेरो कोही आफन्त छैनन्, चार दिनदेखि केही खान पाएको छैन । उद्धार गरिदिनुहोस् ।’ 

उहाँलाई मैतीदेवीबाट उद्धार गरेर उपचारका लागि नर्भिक अस्पताल लगें । ९ दिनको उपचारकै क्रममा उहाँको प्राण गयो । थाहा लाग्यो, उनका दाजु भाइ, श्रीमती र सन्तानहरू पनि रहेछन् । अनि निहुँ खोज्न आए– ‘तपाइँले कसलाई सोधेर उपचार गराउनुभएको ? मानव अङ्ग बेचविखन गर्ने गिरोह हो तपाइँ ?’ यस्ता शव्द सुन्दा निकै कष्ट भयो । उपचारकै क्रममा उहाँको ज्यान गएपछि परिवारकै केही सदस्य अस्पतालसँग बार्गेनिङ्ग गर्न थाले तर त्यहीँ हुनुहुँदो रहेछ मेरो कर्मलाई नजिकबाट नियालिरहनुभएका एक सज्जन । उहाँले नै पूर्ण श्रेष्ठको परिवारलाई सम्झाउनुभयो । 

उहाँ पशुपक्षीको समेत सेवा गरिरहने भिन्न प्रकारको सामाजिक अभियन्ता भन्दै भिडियो नै देखाइदिनुभएपछि परिवार कन्भिन्स भयो र पूर्ण दाइको दाहसंस्कार गर्न सकियो । पूर्ण दाइ बितेपछि लाग्यो– कुनै पनि काम व्यक्तिगत तवरबाट होइन कि संस्थागत रूपमै काम गर्नुपर्ने रहेछ । परिवारलाई आफ्नो निर्णय सुनाएँ । भएको व्यापार व्यवसाय छोडेर सामाजिक काममा लाग्न खोज्दा ‘दिमाग खुस्किएको कि क्या हो ?’ भन्ने जबाफ आयो । आफ्नै अन्तरमनको आवाज सुनेर पूर्ण रूपमा हेलिएँ सामाजिक कर्ममा ।

सामाजिक कर्ममा पूर्ण रूपमा होमिएको एक दशक बित्यो । ७२ सालमा दर्ता भएको हो नवजीवन परोपकार समाज । संस्था दर्ता गर्नु र जन्माउनु ठूलो कुरा भएन । निरन्तरता ठूलो कुरा थियो । संस्था स्थापनापछि सहयोगका लागि अनेक ठाउँ धाउँदा–धाउँदा निराश भइसकेको थिएँ । कामको सिलसिलामा धेरैका तीतो बचन सुनें, धेरैले पागल भने । सहयोग जुटाउनका लागि कति नकच्चरो हुनुपर्दछ, त्यो भोग्नेलाई मात्र थाहा छ । एक दशकको अवधिमा तीन सयभन्दा बढीलाई परिवारसँग पुर्नमिलन गराइएको छ । यो अवधिमा ३०/४० जना बित्नुभयो । झण्डै एक दशक अवधिमा सात सय हाराहारीको उद्धार गरियो । 

उपचार गर्न नसकेका, थुनेर बाँधिएका कतिपय मान्छेलाई ठीक पारेर पठाइएको छ । अहिले संस्थामा १०४ वर्षकी आमा हुनुहुन्छ । उहाँका छोरा इण्डियामा रहेछन्, बुहारीले सासू पाल्न सक्दिन भने पछि हाम्रो आश्रयमा हुनुुहन्छ । बृद्ध, अपाङ्ग, लैगिक हिंसामा परेकाहरू अलि बढी छन् । केही अगाडि विद्युत् प्राधिकरणको हाकिमको आमा उसैगरी सडकबाट हाम्रो आश्रममा आइपुग्नुभयो । मिडियामा आएपछि लाज लागेर होला लिएर गए । यस्ता २० औं उदाहरण छन् । अहिले आश्रममा ३५ जना आमा बुवा, डेढ सय बढी पशुपक्षी छन् । संस्थाको खर्च मासिक चार लाख हाराहारी खर्च हुन्छ । कतिपय मनकारीहरूले सहयोग गर्नुहुन्छ । त्यही सहयोगले चलिरहेको छ, संस्था । आश्रममा रहेका जेष्ठ नागरिकलाई दाल भात खानका लागि रकम देऊ न भनेर महिला मन्त्रालयमा झण्डै डेढ सय पटक धाइयो । चोटा कोठा चहारेर हरेक कर्मचारीलाई नमस्कार गरियो । 

एउटा सामाजिक संस्थाले सहयोग माग्दा कर्मचारी र मन्त्रीको सचिवालयमा बसेकाहरू सिधै सोध्छन्, हामी सहयोग त गरौंला तर हामीलाई कति आउँछ ? उनीहरूलाई शुरुमै ४० प्रतिशत बुझाउन सके रकम पाइने रहेछ । त्यस्तो गर्न मनले मानेन । महिला मन्त्रालयबाट बर्षको अर्बाैं बजेट लैजाने सामाजिक संस्था छन् तर न त नेताहरूलाई रुझाउन सक्यौं, न कमिसन नै दिन सक्यौं । एउटैले राज्य, प्रदेश, स्थानीय संस्थासँग रकम लिइरहेका उदाहरण पनि छन् । अहिलेसम्म राज्यको तबरबाट पाएको भनेको १२ लाख रकम हो । त्यो पनि मन्त्रीको स्वकीयसँग एक जना साथीको चिनजान रहेछ र उहाँले मिलाइदिनुभएको । हामी त संस्था परनिर्भर होइन आत्मनिर्भर हुनुपर्दछ भनेर लागिरहेका छौं । तरकारी आफैं फलाउँछौं । आश्रममा रहनुभएका बुवा आमाका लागि दूध किन्नुपर्दैन । गाई पालेका छौं । हाम्रो कर्मबाट प्रभावित भएर काठमाडौँं जिल्ला, फुटुङ निवासी समाजसेवी सज्जनले नवजीवन परोपकार आश्रमलाई पाँच रोपनी जग्गा दिएका छन् । हाल उक्त जग्गा बेसहाराहरूको सहारास्थल भएको छ । रोगी मान्छे, गाई, गोरु, कुकुर, चरा आदिको अस्पताल जस्तै भएको छ, आश्रयस्थल । समाजसेवामा नै समर्पित भएपछि काभ्रेमा १० रोपनी एभोगाडो लगाइएको छ । यही तिहारमा मात्र १ लाख ८० हजार फूल बेचियो । यसरी संस्थाले आफैं कमाउने र वुवा आमाको सेवामा लगाउने गरी दुई दिनको जिन्दगीमा रमाइरहेको छु । 

– दुर्गानाथ दाहाल, अध्यक्ष, नवजीवन परोपकार समाज
 

टिप्पणीहरू