सरुवा माग्दै सुदनको समूह

सरुवा माग्दै सुदनको समूह

सुशासनका लागि दलतन्त्रविरुद्ध विद्रोह गरेको भन्ने जेनजीहरू नै कर्मचारी सरुवा, बढुवामा भाग खोज्न तल्लीन रहेको खबर धेरैलाई पत्यार नलाग्न सक्छ । तर, जेनजीका नाममा सुदन गुरुङहरूको एउटा समूह कर्मचारी सरुवामा हावी हुन खोजेपछि मन्त्रीहरूसमेत दिक्क हुन थालेका छन् । 

स्रोतका अनुसार ३७ वर्षे गुरुङले प्रधानमन्त्रीदेखि प्रभावशाली मन्त्रीहरूलाई भेटेर कर्मचारी सरुवा, बढुवामा चासो राख्ने गरेका छन् । गुरुङ समूहका ओजस्वी थापा, अनिल बानियाँ र भावना राउतले दुई साताअघि मुख्यसचिवलाई भेटेर कर्मचारी सरुवाको विषय उठाएको बताइन्छ । यसरी सिंहदरबार धाउनेलाई सचिवहरूले भने नीतिगत र कानुनी अप्ठ्यारा देखाउँदै सम्झाईबुझाइ फर्काउने गरेका छन् ।

‘पुराना पार्टीले जस्तै कर्मचारीलाई राजनीतिकरण गर्ने हो भने उनीहरू र हामीबीच के फरक भयो र ?’ भनेर सम्झाएपछि फेरि आएका छैनन्’, सम्वद्ध स्रोतले सुनायो । हुन पनि भदौ २३ गते सडकमा उत्रँदा जेनजीहरूको मुख्य माग नै सुशासन थियो । आन्दोलनका क्रममा उनीहरूले संवैधानिक अंग, न्यायालय, कर्मचारीतन्त्रलगायत राज्यका निकायलाई राजनीतिक दलले कार्यकर्ता भर्ति केन्द्र बनाएको भन्दै कडा विरोध गरेका थिए । अख्तियार प्रमुख र प्रधानन्यायाधीशको राजीनामा माग्ने, सरकारी कार्यालयमा पसेर हाकिमलाई निर्देशन दिनेजस्ता गैरकानुनी गतिविधिलाई सुशासनको अभियानसँग जोडेर प्रचार गरिएको थियो । 

राजनीतिक दलनिकट कर्मचारी ट्रेड युनियन खारेज गर्नुपर्ने माग पनि उनीहरूले नै उठाएका हुन् । तर, आन्दोलनलगत्तै कर्मचारी संगठनमा जेनजी समूह गठन भयो । यिनै कुरा सम्झाउँदै मन्त्रीहरूले कानुनी र नीतिगत सुधारका मुद्दा लिएर आउन सल्लाह दिएपछि पछिल्लो समय सुदन र भावना राउतहरूले सरुवा, बढुवाको चासो राख्न छोडेको स्रोत बताउँछ । भावना यसअघि मन्त्रीको चर्चामा रहेकी पात्र हुन् । सुदनले उनलाई महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बनाउन प्रधानमन्त्री सुशीला कार्कीलाई प्रस्ताव गरेका थिए तर प्रधानमन्त्रीको रोजाइमा रक्षा बम परेपछि जेनजीबीचमै विवाद हुने स्थिति आयो र दुवैलाई मन्त्री बनाइएन । 

अन्य जेनजी प्रतिनिधिको तुलनामा रक्षा बममा राजनीतिक परिपक्वता देखिन्छ । उनका सार्वजनिक अभिव्यक्तिहरूमा पनि व्यक्तिकेन्द्रित आग्रह–पूर्वाग्रह होइन मुद्दामा आधारित तार्किक बहस गरेको पाइन्छ । बमले नेतृत्व गरेको समूह निर्धारित मितिमै चुनाव होस् भन्नेमा पनि अलमलमा नरहेको बुझिन्छ । त्यसका लागि बाहिरै रहेर सरकारलाई सक्रिय सहयोग गरिरहेको यो समूह आफैँ दल खोलेर निर्वाचनमा भाग लिन भने इच्छुक छैन । बताइएअनुसार सुदन गुरुङ समूहजस्तो कर्मचारी सरुवा र विकास बजेट माग्दै मन्त्रालय धाउने गरेको पनि छैन ।

सरकारलाई सफल बनाउन मन्त्रीहरूका दैनिक काममा हस्तक्षेप गर्न हुँदैन भन्नेमा उनीहरूको जोड रहने गरेको छ । यता, जेनजीको अनेक समूहका फरक स्वार्थ संबोधन गर्नुपर्ने दबाबले हैरान भएका मन्त्रीहरूलाई शहीद परिवार र घाइतेका कुरा पनि सुन्नुपर्ने अर्को बाध्यता छ ।

(जनआस्था साप्ताहिकको मंसिर १० गते बुधबारको अंकमा प्रकाशित) 

 

टिप्पणीहरू