सुन्नुभएको छ यस्तो मान्छेको करामत ?

सुन्नुभएको छ यस्तो मान्छेको करामत ?

खुंखार तानाशाह इदी अमिनका सनकको बयान गरी साध्य छैन । भनिन्छ, उनीजति बर्बर शासक जन्मेकै छैन । भिरिंगी रोग लागेका उनले शत्रुहरूको विनाश कसरी गर्थे, यातना दिएर कसरी मार्थे, यहाँसम्म कि शत्रुका लाशलाई टुक्राटुक्रा पारेर फ्रिजमा राखेर काँचै खाने गर्थे । त्यसैले उनलाई कतिपयले नरभक्षी शासकसम्म भन्न थाले । हाकाहाकी भन्थे– ‘मलाई मासु धेरै मन पर्छ र सबैभन्दा धेरै त मान्छेको मासु मन पर्छ किनभने यस्तो मासु नुनिलो हुने भएकाले स्वादिष्ट हुन्छ ।’

उनले आफ्नै एक जना मन्त्रीको गुप्ता¨ काट्न लगाए र आगोमा पोलेर उनैको मुखमा कोच्न लगाए । महिलामाथि बलात्कार गर्ने, प्रजनन अंगमा आगो लगाइदिने, मलद्वारमा भाला रोप्न लगाउने कुरा सामान्य भइगयो । ६ वटीसँग बिहे गरे । ४४ छोराछोरीको पिता बने । बाहिर करिब ३० जना ‘प्रेमिका’ थिए जोसित शारीरिक सम्बन्ध थियो । उनीहरूबाट करिब सयजना छोराछोरी जन्मिएको चर्चा थियो । उनले जीवनमा करिब ५ लाखको ज्यान लिएको अनुमान छ । त्यसैले उनलाई युगाण्डाको हिटलर किङ पनि भन्ने गरिन्छ भने हिटलरले जस्तै विरोधीहरूलाई मार्न यातना गृह, ग्यास च्याम्बर र विद्युतीय पोखरी बनाउन लगाएका थिए । आफ्नो सत्ता पल्टाउन खोजेको आशंकाकै भरमा दशौं हजारलाई मारेर नाइल नदीमा फ्याँक्न लगाए । हिटलरले ६० लाख यहुदीलाई मारेर ठीक ग¥यो भन्थे । उनको बर्बर शासनबारे जनआस्थाको वर्ष ९ अंक २५, मिति २०६० भदौ ३ गतेको अंकमा ‘गोराको भिरिंगीग्रस्त दुश्मन’ शीर्षकसहितको लेख प्रकाशन भइसकेको छ ।

यतिखेर फेरि उनको चर्चा हुन थालेको छ । कारण हो– बेलायती महारानी एलिजाबेथ (द्वितीया) लाई लेखेको प्रेम पत्र । उक्त पत्रमा आफू युगाण्डाको राष्ट्रपति मात्र नभई स्कटल्याण्डको राजासमेत भएको दाबी गर्दै एलिजाबेथलाई आफ्नो दोस्री पत्नी भइदिन प्रस्ताव गरिएको रहेछ । स्कटल्याण्डका राजाको हैसियत देखाउँदै बेलायतलाई सिधै निःशुल्क बिजुली उपलब्ध गराउने बचनसमेत दिइएछ । यद्यपि, पत्रको आधिकारिता  आजसम्म कसैले पुष्टि गरेका छैनन् । उनले अर्को पत्रमा लेखेका थिए– ‘प्रिय लिज, यदि तिमी असली मर्दबारे जान्न चाहन्छौ भने कम्पाला आऊ ।’ स्मरणीय छ, बेलायती महारानी एलिजाबेथ वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डलगायत अन्य १४ मुलुकको समेत राष्ट्राध्यक्ष थिइन् । त्यसो त इदी अमिन कहिल्यै गोराहरूको समर्थक थिएनन् । मौका मिल्नेबित्तिकै हुर्मत लिइहाल्थे । युगाण्डा पहिला बेलायतकै उपनिवेश थियो, त्यसैले सधैँ बेलायतीलाई घृणा गरे । यहाँसम्म कि बेलायती पासपोर्ट बोकेर युगाण्डा पसेका करिब ८० हजार भारतीय व्यापारीलाई धपाए । ती भारतीय धेरैजसो सय वर्षअघि युगाण्डा पसेका थिए । त्यति मात्र होइन, उनले उनीहरूलाई गोराको पैताला चाट्ने ‘किरा’ सम्मको उपाधि दिए । 

बेलायती राजा/महारानीले ५६ मुलुक सदस्य रहेको राष्ट्रमण्डल सम्मेलनलाई अध्यक्षता गर्ने परम्परा छ । युगाण्डा पनि सदस्यराष्ट्र हो तर सन्काहा इदी अमिनले सन् १९७५ मा राष्ट्रमण्डलको अध्यक्ष भन्ने दाबी प्रस्तुत गरे । महारानीले जब प्रस्तावलाई ठाडै अस्वीकार गरिन्, उनको रिसले आकाश छोयो । र, युगाण्डास्थित बेलायतका सैन्य तथा अन्य कूटनीतिज्ञलाई सार्वजनिकस्थलमा उपस्थित हुन आदेश दिए । अनि घुँडा टेक्न लगाए । आफूले ब्रिटिश साम्राज्यमाथि विजय प्राप्त गरेको घोषणा गरे । चार जना गोरालाई आफू बसेको डोली बोक्न लगाएर नगर परिक्रमा गरे । त्यतिखेर उक्त तस्बिर विश्वभर भाइरल बनेको थियो, न्युजविक, टाइम्सजस्ता अन्तर्राष्ट्रियस्तरका पत्रिकाले समेत महत्व दिएर छापेका थिए ।

सन् १९७१ मा लण्डन जाँदा बकिंघम दरबारमा उनको टोलीलाई दिवा भोज ख्वाइयो । पाहुनाघरमा फर्किसकेपछि पत्र लेखेर महारानीलाई धन्यवाद दिए । भने– हामीले साँच्चै धेरै खायौँ, धेरै थकित भयौँ । खाएको बेला बाहिरबाट स्वच्छ हावा आओस् भनी कोठाको सबै झ्याल खोल्दिनुभएकोमा पनि धन्यवाद दिन्छु तर लण्डनबाट हाम्रो एन्टेबे विमानस्थल फर्कनुअघि म तपाईंहरुलाई युगाण्डास्थित मेरो घरमा आउन निमन्त्रणा दिन्छु ताकि हामीले पनि बदला लिन सकौँ । हाम्रोमा गाईको मासु अघाउने गरी खान सक्नुहुन्छ । टन्न खाएपछि पक्कै हिँडडुल गर्न गाह्रो होला । राति मेरो घरको सबैभन्दा माथिल्लो भर्‍याङमाथि, ममाथि सुत्नुहोला ताकि तपाईंले पनि ताजा हावा लिन सक्नुहोस् । पत्रमा उनले महारानी एलिजाबेथलाई ‘मिस्टर क्विन सर’ भनेर संबोधन गरेका थिए । यो पत्रको जवाफ एलिजाबेथले दिइन् । अक्टोबर ९ मा (सन् १९७२) हुन गइरहेको स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमका लागि निमन्त्रणा दिएकोमा धन्यवाद दिँदै तर आफू उपस्थित हुन सक्दिन भनिन् । 

सन् १९७१ देखि १९७९ सम्म युगाण्डाको राष्ट्रपति बनेका ६ फुट ४ इञ्च अग्ला र २ सय ८० पौण्ड तौल भएका ठूलो शरीरका धनी उनी सन् १९५१ देखि १९६० सम्म पूर्वी अफ्रिकाका हेभीवेट बक्सिङ च्याम्पियन थिए । एकपटक विश्व मुक्केबाज च्याम्पियन मुहम्मद अलीलाई समेत रिंगमा लड्न चुनौती दिए । आफूलाई जित्न सके ५ लाख डलर इनाम दिने घोषणा गरे तर अलिले कूटनीतिक कारण देखाएर प्रस्ताव स्वीकारेनन् । उनमा अर्काकी राम्री स्वास्नी देखेपछि औडाहा लागिहाल्ने चरित्र हावी थियो । मुलजीभाइ माधवानी राजधानी कम्पालाका एक भारतीय व्यापारी मात्र होइन, सबैभन्दा ठूला उद्योगपति हुन् । इन्दिरा गान्धी युगाण्डा जाँदा उनकै बंगलामा बसेकी थिइन् । मुलजीभाइको निधनपश्चात्  जेठो छोरा जयन्तभाइले व्यवसाय सम्हाले । इदि अमिनले सन् १९७१ मा राष्ट्रपति मिल्टन ओबोटेलाई अपदस्थ गरी सत्ता हातमा लिएपछि माधवानी परिवारले पनि नयाँ सत्तालाई समर्थन गरे, कारण ओबोटेलाई पश्चिमाहरू कम्युनिष्ट मान्दथे । माधवानीहरू ओबोटेको शासनकाल रहुञ्जेल आफ्नो श्रीसम्पति राष्ट्रियकरण हुने डर पालेर बसेका थिए ।

इदी अमिन सत्तामा पुगेको केही महिनापश्चात नै जयन्तभाइको मृत्यु भयो । पत्नी थिइन् मीनाबेन । अत्यन्त राम्री । त्यसबखत ४२ वर्षकी । इदी अमिन पहिलादेखि नै मीनाप्रति फिदा रहेछन् । जब मीना विधवा बनेको खबर सुने, आफ्नो पत्नी बन्न प्रस्ताव राखे, जबकि त्यतिबेलै उनका ३ पत्नी थिए । माधवानी परिवार अप्ठेरोमा पर्‍यो किनभने इदी अमिन विवाहित मात्र होइन कि स्वास्नीहरूलाई पिट्नमा महसुर पनि थिए । मीनाले जब प्रस्तावलाई अस्वीकारिन् इदी अमिनको पारा चढ्यो । भनिन्छ, भारतीयलाई युगाण्डाबाट धपाउनुको एउटा कारण यो पनि बन्यो । 

माधवानी परिवारको युगाण्डाका २२ प्रतिशत सम्पत्तिमाथि कब्जा थियो । तर, उनीहरू पनि सबै सम्पत्ति त्यतै छाडेर निजी हवाईजहाजबाट बेलायत भाग्न विवश भए । लण्डन पुगेको ३ वर्षपछि मीनाका कान्छो देवर मयुरको हिन्दी चलचित्रकी नायिका मुमताजसँग बिहे भयो । सन् १९७९ मा छिमेकी मुलुक ताञ्जानियाले युगाण्डामाथि हमला गर्‍यो । इदी अमिन भागेर पहिला लिबिया र त्यसपछि साउदी अरब पुगे । साउदी राजा मित्र थिए । उनले राजनीति नगर्ने शर्तमा शरण दिए । सन् २००३ मा मृगौला रोगले थलिए र अस्पताल भर्ना भए । पत्नी मदिनाले लोग्नेले युगाण्डामै मर्ने इच्छा व्यक्त गरेको सन्देश जारी गरिन् । तर, युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले स्वदेश फर्कने हो भने आपराधिक कर्मको सजायँ भोग्न पनि तयार हुनुपर्छ भनेपछि त्यो योजना त्यागे । उनको मृत्यु ७८ वर्षको उमेरमा त्यहीं भयो । युगाण्डामा सन् १९८६ देखि अहिले पनि मुसेभेनीकै शासन छ ।

टिप्पणीहरू