किताब र कागजमा वाहवाह, चरीत्रमा स्वाहा
अलेक्ज्याण्डर ड्युमा, प्रसिद्ध फ्रान्सिसी लेखक, नाटक, यात्रा संस्मरण र उपन्यासका सर्जक हुन्, जसको पुस्तक विश्वमा धेरै पढिन्छ । उनको कृति सयभन्दा बढी भाषामा २ सय पटकभन्दा बढी अनुवाद भइसकेको छ । सन् २००२ मा फ्रान्सिसी राष्ट्रपति ज्याक्स सिराकको आदेशानुसार ड्युमाको अवशेष पुइसबाट पन्थियनमा स्थानान्तरण गरिएको थियो । यतिखेर उनका अधिकांश कृति अडियोबुकमा उपलब्ध छ । प्रसिद्ध कृतिमा दि काउन्ट अफ मोन्टे क्रिष्टो, दि थ्री मस्केटियर्स, ट्वेन्टी इयर्स आफ्टर, टेन इयर्स लेटर, दि म्यान इन दि आइरन मास्क, दि ब्ल्याक ट्युलिप आदि पर्छन् । उनका कतिपय कृतिमा टेलिशृंखला र नाटक मञ्चन भइसकेको छ । उपन्यासमा मात्र २ सय चलचित्र बनेको छ । उनी पत्रपत्रिकामा लेख्थे । उनका सबै कृति १ लाख पृष्ठ हाराहारीका छन् । फ्रान्सको बोउलभार्ड दे क्रोनेस्थित मेट्रो स्टेशन उनैका नाउँमा छ ।
ड्युमाका पिता थोमस सेन्ट डोमिनिक (हाइटी) का थिए । १४ वर्षको हुँदा पितासंगै फ्रान्स पुगे । पछि लुइ नेपोलियन बोनापार्टको सेनापति भएर काम गरे । उनी पनि लेखक थिए । लेख र नाटकहरू ड्युमा उपनामले लेख्थे । आमा मेरी केसेट अफ्रिकी दास थिइन् । थोमसको छोरा अलेक्ज्याण्डर ड्युमाको जन्म फ्रान्समै भयो, उनको पहिलो कृति सन् १८२६ मा निस्कियो । कथासंग्रह ‘समसामयिक समाचार’ प्रकाशित हुँदा उमेर थियो २४ । पहिलो चर्चित नाटक पुस्तक बन्यो ‘हेनरी तृतीय र उनको दरबार’, जुन सन् १८२९ मा प्रकाशित भएको हो । उनी भन्ने गर्थे, ‘मेरो पिता अफ्रिकी र युरोपेली मिश्रण थिए भने बाजे निग्रो, अनि जिज्यू बाजे बाँदर । हेर्नुस् त, हजुर, मेरो परिवार त्यहीँबाट शुरु हुन्छ जहाँ तपाईंको परिवारको अन्त्य हुन्छ ।’
सन् १८३२ मा इदा फेरिअरसित भेट भयो । त्यसबेला उनी ३० वर्षका थिए भने इडा २१ की । इडा ठूलो महत्वाकांक्षा तर कम प्रतिभा भएकी अभिनेत्री थिइन् । अत्यन्तै सुन्दर थिइन्, रंग गोरो र कपाल सुनौलो थियो । सम्बन्ध तब शुरु भयो जब इडाले एउटा नाटकको भूमिकालाई लिएर धन्यवाद दिइन् । इडासितको हिमचिम प्रेममा परिणत भइसकेपछि सन् १८३७ मा ड्युमाले ‘क्यालिगुला’ नाटक लेखे । उक्त नाटकको प्रमुख नायिका स्टेलाको भूमिका इडातिरै लक्षित थियो, त्यसबखत इडा प्रतिष्ठित थिएटर फ्रान्सेलिजमा अभिनय गर्न चाहन्थिन् । स्टेला त्यो पात्र हो, जसले क्यालिगुलाको नेतृत्वमा रहेको रोमन साम्राज्यमा ब्याप्त बेइमानी र अत्याचारविपरीत शुद्धता र इसाई सद्गुणको प्रतिनिधित्व गर्थिन् । ड्युमाको यो प्रयास सफल भयो र इडाले लगातार उक्त थिएटरमा काम पाइन् । आफ्नो लागि गरिएको ड्युमाको प्रयासबाट इडा निकै प्रभावित बनिन् । दुबै बिहे नगरी सँगै बस्न थाले ।
३ वर्ष यसरी बसेपछि बल्ल सन् १८४० मा बिहे गरे । हनिमुन इटलीको फ्लोरेन्समा मनाए । बिस्तारै इडाले ड्युमाको अन्य महिलासितको सम्बन्धबारे थाहा पाउन थालिन्, यहाँसम्म कि विभिन्न महिलाका तर्फबाट ड्युमा ४ सन्तानको बाबु बनिसकेको समेत जानकारी पाइन् । त्यसपछि भने कलह शुरु भयो । इडाले कहिल्यै गर्भवती बन्न पाइनन् । बिहेको ४ वर्षपछि सम्बन्धविच्छेद भयो । ड्युमाले इडासित बिहे हुनुपूर्व र पछि गरी ४० भन्दा बढी महिलासित अवैध सम्बन्ध गाँसे । उनको प्रियसीमा अमेरिकी अभिनेत्री, चित्रकार तथा कवयित्री अडाह इसाक्स मेन्केन, फ्रान्सिसी अभिनेत्री बेली क्राइसाइमर र कवयित्री मेलानी वाल्डोर, लेखिका एमिली कोर्डियर, ब्रिटिश अभिनेत्री बेट्रिक्स पार्सनलगायत थिए । भनिन्छ, ड्युमा इदासित पनि बिहे गर्न चाहँदैनथे, बिहेबिनाकै सम्बन्ध मात्र राखिराख्न खोजेका थिए तर एउटा रात्रिभोजमा फ्रान्सेली ड्युकले उनीसमक्ष इडासित सम्बन्ध राख्न चाहेको बताएपछि मात्र बाध्य भएर बिहे गरेका हुन् ।
फ्रान्सेली लेखिका एमिली त ड्युमाभन्दा ४० वर्ष कान्छी थिइन् । जीवनको पछिल्लोकालमा ड्युमा र एमिली अक्सर निजी नौका ‘एम्मा’ मा सामुद्रिक सफर गरिरहन्थे । उनीहरू एकार्कालाई वासनायुक्त प्रेमपत्र पनि लेख्थे । उनीहरूको रोमान्स जोडतोडले चलेको थियो । ड्युमाकी पहिलो प्रेमिका थिइन् – मेरी लाउरे क्याथरिन लाबे । लाबे लुगाको डिजाइन गर्थिन् । ड्युमाले त्यसबखत क्लर्कको जागिर खाइरहेका थिए । लाबेभन्दा ८ वर्षले कान्छो थिए । तरपनि उनीहरूबिच शारीरिक सम्बन्ध कायम हुन्थ्यो । नतिजा, लाबे ड्युमाको तर्फबाट एक छोरा अलेक्ज्याण्डर ड्युमा फिल्सको आमा बनिन् । पितासरह साहित्यमा नाटककार र उपन्यासकार बनी नाउँ कमाएका फिल्स जन्मँदा ड्युमा मात्र २२ का थिए तर त्यसबेलासम्म साहित्य सिर्जनामा लागेकै थिएनन् । उनका साहित्यकार पुत्र फिल्सले पनि पिताले जस्तै मेरी डुप्लेसिसलाई ‘पत्नी’ बनाए । मेरी पेरिसकी चर्चित वेश्या थिइन् ।
ड्युमाका चर्चित पत्नीमध्येकी एउटी अडाह इसाक्स मेन्केन पनि थिइन् । अमेरिकी अभिनेत्री र कवयित्री । उनी लेस पाइरेट्स डेला साभाने नाटक मञ्चन गर्न पेरिस पुगेका बेला ड्युमासित भेट भएको थियो । यो सन् १८६६ को कुरा हो । पेरिसमा रहुञ्जेल उनले ड्युमासँगै रात बिताइन् । पेरिसमा यो सम्बन्धलाई लिएर हंगामा मच्चिएको थियो । उनी करिब १ वर्ष त्यहाँ रहिन् र लण्डन गइन् । लण्डनमा फेरि अंग्रेज कवि अल्गेर्नोन स्विनबर्नसित उठबस चल्यो । उनको निधन ३३ वर्षको कलिलो उमेरमा पेरिसमा भयो । मेलानी वाल्डोर पनि ड्युमाभन्दा ६ वर्ष जेठी थिइन् । लेखिका, उपन्यासकार, नाटककार अनि गीत कम्पोजर । बेल्जियमबाट पेरिस पुगेकी । साहित्यिक कार्यक्रमको आयोजना गर्थिन् । ड्युमासित परिचय यसैक्रममा भयो सन् १८२७ मै । त्यसबखत ड्युमा भखर साहित्य लेखनमा लागेका थिए । ड्युमा मेलानीले आयोजना गरेको साहित्यिक कार्यक्रममा कथा वाचन गर्न पुगे । २५ वर्षका लक्का जवान उनीप्रति मेलानी फिदा भइन् र सम्बन्ध घनिष्ठ बन्न पुग्यो । पछि मेलानी ड्युमाकी श्रीमतीको रूपमा बदनाम हुन पुगिन् । पछि ड्युमाभन्दा कम उमेरका काउन्ट क्याभोरलाई प्रेमी बनाइन् । साहित्यमा उनका दर्जनौं उपन्यास, कविता संग्रह, नाटक प्रकाशित छन् । एमिली ड्युमाकी छोरी मिसेल कोर्डियरकी आमा हुन् ।
बेली क्राइसाइमर फ्रान्सिसी अभिनेत्री थिइन् । जतिखेर उनको भेट ड्युमासित भयो त्यसबखत ड्युमा र मेलानीबिच चक्कर चल्दै थियो तर जब ड्युमाले बेलीलाई देखे ३ वर्षदेखिको मेलानीको सम्बन्धलाई चटक्कै छाडे । पछि बेली ड्युमाको तर्फबाट एक छोरी मेरी अलेक्ज्याण्डनाको आमा बनिन् । ड्युमाको अर्को पनि छोरा थिए – हेनरी बाउयर । उनी जर्मन महिला अन्ना बाउयरतर्फका हुन् । सम्बन्धविच्छेद कानुनी तवरमा भइनसकेको कारण सन् १८५९ सम्म पनि इडा ड्युमाकै पत्नीको रूपमा रहिन् । ड्युमाले इडाको भरणपोषणको जिम्मा उठाउँदै गए । १३ वर्षीया छोरी मेरीलाई सौतेनी आमाको हेरचाहमा लगाइदिए । पछि इडा भिलाफ्रान्काका राजकुमारसित लहसिएर रोम जान ठिक्क परिन् । तर जानुअघि लोग्नेको सम्पत्तिमा हिस्सा मागिन् । अदालतले इडालाई १ लाख १२ हजार फ्रान्क दिन आदेश दियो । त्यति पैसा ड्युमासँग थिएन, त्यसैले आफू बस्दै आएको घर बेचे, र आर्थिक रूपमा टाटपल्टिसकेको घोषणा गर्न पुगे । इडाको निधन सन् १८५९ मा र ड्युमाको मृत्यु ६८ वर्षको उमेरमा सन् १८७० मा भयो ।
टिप्पणीहरू