विशेष अदालतमा बयान फेरेपछि सर्वोच्चमा मुद्दा

विशेष अदालतमा बयान फेरेपछि सर्वोच्चमा मुद्दा

अदालतमा बयान फेर्ने सरकारी साक्षीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ । बयान फेरेको आरोपमा कैलालीको चुरे गाउँपालिका–६, का प्रेमसिंह ठगुन्ना र गोदावरी नगरपालिका–२, का किसन सिंह साउदउपर मुद्दा चलाइएको हो । 

अख्तियारको कञ्चनपुरबाट खटिएको टोलीले गत साउन ५ गते डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई सात लाख ३१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । 

उनले चुरे गाउँपालिका–६, स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरिएको काठको बिर्माका तथा छोडपूर्जीका लागि सेवाग्राहीसँग घुस बुझेको पाइएपछि भदौ २ गते अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । 

यादवलाई घुस दिनेहरु ठगुन्ना र साउदले अख्तियारसमक्ष सो कुरा स्वीकार गरेपछि मुद्दा चलाइएको थिएन । तर, विशेष अदालतमा उनीहरुले आयोगमा दिएको बयानभन्दा प्रतिकूल बकपत्र गरेको अख्तियारको ठहर छ । 

‘मुद्दाको अनुसन्धानका क्रममा दिएको उजुरी बयान र कसूर तथा सजायमा छुट सुविधा प्राप्ति भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिबन्धात्मक बाक्यांश बमोजिमको उक्त सुविधा तथा छुटको शर्त विपरीत हुने गरी फरक तथा झुट्टा व्यहोरा लेखाई प्रतिकूल बकपत्र गरेको,’ अख्तियारले भनेको छ । 

अख्तियारले सात लाख ३१ हजार रुपैयाँ बिगो कायम गर्दै उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी गरेको छ ।

टिप्पणीहरू