ती युवती जसको निशाना कहिल्यै चुकेन

ती युवती जसको निशाना कहिल्यै चुकेन

सन् १९३९ देखि १९४५ सम्म चलेको दोस्रोे विश्वयुद्धमा ८ करोड हाराहारी मानिस मारिए, जसमा ४ करोड ५० लाख त सर्वसाधारण नै थिए । सबैभन्दा बढी साढे २ करोड रुसी र २ करोड चिनियाँ मारिए । रुसमाथि आक्रमण गर्ने जर्मनीतर्फ ८८ लाख र चीनमाथि आक्रमण गर्ने जापानतर्फ ३० लाखले ज्यान गुमाए । 

यसरी मारिनेमध्ये स्त्रीको तुलनामा पुरुषको संख्या बढी थियो किनभने सबै मुलुकको सेनामा महिलाको संख्या कम थियो । सेनामा महिला सहभागिता कम भए पनि मारिने गैरसैनिकमा महिलाको संख्या पुरुषसरह रह्यो । जति पनि जनधनको क्षति भयो, ती सबै मात्र एक जना तानाशाहको सनकको उपज थियो, उनी हुन्– एडोल्फ हिटलर । 

युरोपमा हिटलरले यति धेरै आतंक मच्चाएका थिए कि शक्तिशाली मुलुकका नेता, सेना र सर्वसाधारण उनको नाउँ सुन्नेबित्तिकै थरथर काँप्थे  तर एकजना त्यस्ती युवती निस्किइन् जोदेखि हिटलर पनि डराउँथे । उनी हुन्– ल्युदमिला पाभ्लिचेन्को । सन् १९४१ मा जर्मन सैनिक टुकडी रुसी क्षेत्रभित्र घुम्दै थियो । माइक र लाउडस्पिकर बोकेका उनीहरू फुक्दै थिए– ‘लेडी डेथ’, हामीसँग मिल्न आएमा सम्मान गर्छौं साथै चकलेट पनि दिन्छौं, यदि हाम्रो कुरा मानिएन भने पक्रन्छौं र उनको शरीरलाई ३ सय ९ टुक्रा पार्छौं ।’

युद्ध चर्केपछि युरोपेली बजारमा चकलेट अत्यन्त दुर्लभ खानेकुरा बन्न पुग्यो र चकलेट पाउन त्यहाँका जनता जस्तोसुकै मूल्य चुकाउन तयार हुन्थे । त्यसैले ‘लेडी डेथ’ लाई पनि चकलेट दिने लोभ देखाएर आफ्नो सेनामा तान्ने कोसिस गरियो । ‘लेडी डेथ’ रुसी लाल सेनाको स्नाइपर (लुकेर गोली हान्नमा खप्पिस युवती) थिइन् । उनले ३ सय ९ जना जर्मन सैनिकलाई मारिसकेकी थिइन् । ‘लेडी डेथ’ (घातक महिला) ल्युदमिला पाभ्लिचेन्कोको उपनाम हो । उनले एकपछि अर्को गर्दै त्यति धेरै शत्रुलाई मारेपछि जर्मन सरकारले यो नाउँ राखेको हो । उनलाई आजसम्मकै सबैभन्दा घातक र अचुक निशानेवाज मान्ने गरिन्छ ।

ल्युदमिला मिखाइलोभ्ना बेलोभा यतिखेर युद्धग्रस्त मुलुक युक्रेनकी हुन् । उनको जन्म सन् १९१६ मा मध्ययुक्रेनी शहर बिला त्सेर्कभामा भएको थियो । उनी ६ वर्षकी हुँदा युक्रेन सोभियत भूभाग बन्न पुग्यो । यद्यपि, उनका आमाबुबा दुवै रुसी जातिका थिए । पछि उनीहरू युक्रेनको हालको राजधानी किभमा बसाइँ सरे । ल्युदमिलाका बुबा मिखाइल बेलोभ तत्कालीन कम्युनिष्ट पार्टीको सदस्य र सोभियत लाल सेनाका कमिसारसमेत थिए । 

केटाकेटीमा ल्युदमिला केटो बनेर हिँड्थिन्, खेलकुदमा उनको रुचि थियो । यसैक्रममा सुटिङ क्लबमा भर्ना भइन् र अचुक निशानेबाज बनिन् । १६ वर्षकै उमेरमा पाभ्लो पाभ्लिचेन्कोसित बिहे गरीर एक छोरोको आमा पनि बनिन् । तर, दाम्पत्य जीवन सफल भएन र माइत बस्न थालिन् । सन् १९३७ मा किभ विश्वविद्यालयमा भर्ना भएर एउटा स्कूलमा पढाउन थालिन् । 

एकदिन कलेजका साथीहरूसँग सुटिङ रेञ्ज (गोली चलाउने अभ्यासको सुविधा भएको स्थान) मा घुम्न गइन् । र, गोली चलाउने अभ्यास गरिन् तर आफ्नो अचुक निशानालाई लिएर उनी आफैँ अचम्भित बनिन् किनभने जतिपटक गोली चलाइन् सबै निर्धारित निशानामा प¥यो । जब यो कुरा कलेजभरि फैलियो, यसको सूचना रुसी लालसेनासम्म पुग्यो । लालसेनाले उनलाई स्नाइपिङ तालिम लिन आग्रह गर्‍यो । यसरी उनले लालसेनाद्वारा सञ्चालित गोली चलाउने ६ महिने तालिम पनि लिइन् । यसको ठीक ४ वर्षपछि सन् १९४१ को जुनमा जर्मनीले सोभियत संघमाथि अचानक धावा बोल्यो । जर्मनीले यो आक्रमणमा एकैचोटी ४ लाख सेना परिचालन गरेको थियो । सोभियत संघले जर्मनीसित मुकाबिला गर्न स्वयंसेवक युवालाई अपिल गर्‍यो । त्यसबेला विश्वविद्यालयमा उनको चौथो वर्ष चल्दै थियो । रुसी सेनाले जर्मनीविरुद्धको युद्धमा सामेल हुन उनलाई पनि आग्रह गर्‍यो । मिखाइल आफू सेनाको कमिसार भइकन पनि छोरीलाई भने सेनामा लगाउन तयार भएनन् तर ल्युदमिलाले नै ढिपी कसिन् र लाल सेना बन्न पुगिन् । सेनाले उनलाई नर्सको काम गर्न भनेको थियो तर उनले मानिनन् र युद्धमै होमिने अठोट सुनाइन् । 

सबै जवानलाई राइफल उपलब्ध गराउन रुसी सरकार सक्षम थिएन त्यसैले शुरुमा ल्युदमिलालाई सुरुङ खन्ने काममा लगाइयो । उनीसित त्यसबखत हतियारका नाउँमा एउटा ग्रिनेड मात्र थियो । एकदिन सुरुङ खन्दै गर्दा सँगै राइफल चलाइबसेको सैनिक गोली लागेर म¥यो । ल्युदमिलाले उनैको राइफल उठाइन् र दनादन शत्रुमाथि गोली चलाउन थालिन् । उनको निशाना देखेर कमाण्डर चकित परे किनभने उनले पहिलो प्रयासमै ४ सय मीटर टाढा बसेर निशाना साधिरहेका २ जना जर्मन सैनिकलाई ढाल्न सफल भएकी थिइन् । उनी यसपछि स्नाइपर टोलीमा खटिइन् । त्यसबेला रुसी लालसेनामा जम्माजम्मी २ हजार महिला स्नाइपर थिए । 

उनले करिब १ वर्ष युद्ध लडिन् र ३ सय ९ जना नाजी सैनिकलाई मार्न सफल भइन् । उनको बहादुरीबाट सोभियत संघ र जर्मनी दुवै चकित थिए । जर्मनीले उनलाई आफ्नो सेनामा लान ठूलो मिहिनेत गर्‍यो, लोभलालच देखायो तर उनले देशप्रति गद्दारी गर्न मानिनन् । त्यसपछि पक्रने योजना बनायो र विशेष टोली खटायो । झुक्याउन लाठीको टुप्पोमा एउटा हेल्मेट राखियो र झाडीमा लुकाइयो ताकि ल्युदमिलाले फायर खोलेपछि त्यसैको आधारमा उनीसम्म पुग्न सकियोस् । ल्युदमिलाले हेल्मेट देखिन् र निशाना साँधिन् तर त्यतिञ्जेलसम्म पनि हेल्मेटमा हलचल नदेखेपछि गोली हानिनन् । बरु घिस्रँदै काँडैकाँडाले भरिएको झाडीमा लुक्न पुगिन् । काँडाले घोचेर शरीरको जताततैबाट रगत बग्न थालिसकेको थियो तर झाडीमै लुकेर बसिरहिन् । जर्मन सेना उनलाई समाउन असफल भयो । पछि पनि धेरै पटक पक्रने प्रयास भयो । त्यतिञ्जेलसम्म ‘आदर्श लडाकु’ बनिसकेकी थिइन् ।

काला सागरस्थित ओडेसा कब्जा गर्ने क्रममा मात्र उनले १ सय ८७ जना नाजी सैनिकलाई ढाल्न सफल भइसकेकी थिइन् । फलस्वरुप सेनामा भर्ती भएको अढाई महिनामै सिनियर सार्जेन्टमा बढुवा भइन् । युद्ध मैदानमा खटिरहेकै बेला अर्का स्नाइपर अलेक्सी कित्सेन्कोसित लभ पर्‍यो । अलेक्सी पनि उनैको उमेरका थिए, २५ वर्ष । दुवैले बिहे गरे तर केही दिनपछि नै अलेक्सीलाई गोली लाग्यो र अस्पतालमा दम तोडे । लेफ्टिनेन्टमा बढुवा भएपछि सेभास्टोपोलको युद्धमैदानमा खटिइन् । उक्त शहर कब्जा गर्नमा उनको पनि प्रमुख भूमिका रह्यो । आफैँ पनि घाइते भइन् । बमको छर्रा अनुहारमै पर्‍यो । यसको बाबजुद युद्धमैदानबाट हट्न मानिरहेकी थिइनन् तर हाइकमाण्डको आदेशमा उद्धार गरियो । उनी यसअघि पनि ३ पटक घाइते बनिसकेकी थिइन् ।

एक महिना अस्पताल बसिन् र पछि महिलालाई स्नाइपिङको तालिम दिन थालिन् । लालसेनाको सूचना अधिकृत भएर पनि काम गरिन् । रुसमा उनलाई सबैले ‘लेडी डेथ’ र ‘छापामार रानी’ नाउँले चिन्थे तर जर्मनले भने उनलाई ‘नर्ककी रुसी कुकुर्नी’ भनिरह्यो । युद्ध चलिराखेकै बेला रुसी सरकारले मित्रराष्ट्रहरूसित कुराकानी गर्न दुई सदस्यीय टोली अमेरिका, क्यानाडा र बेलायत पठायो । जस एक थिइन् । उनी प्रथम रुसी महिला पनि हुन्, जसलाई अमेरिकी राष्ट्रपति फ्रान्कलिन डेलानो रूजबेल्टले ह्वाइटहाउसमा स्वागत गरेका थिए । पछि रूजबेल्टकी पत्नी इलियोनोरले साथी बनाइन् । ती मुलुकको भ्रमण उनले लाल सैनिकको बर्दीमै गरेकी थिइन् र अमेरिकी पत्रकारहरूले यसको कारण सोध्दा भनिन्, ‘मलाई प्रख्यात रेड आर्मीको पोशाकमै गर्व लाग्छ ।’ 

अमेरिका भ्रमणकै क्रममा विश्वविख्यात हाँस्यकलाकार चार्ली च्याप्लिनसँग पनि भेट भयो । सोभियत सरकारका तर्फबाट दिइने उच्च सम्मान अर्डर अफ लेनिन र गोल्डस्टार हिरोलगायत थुप्रै सम्मान र अवार्ड विजेता उनको निधन ५८ वर्षको उमेरमा सन् १९७४ मा भयो । दुई वर्षपछि सोभियत सरकारले उनको सम्मानमा हुलाक टिकट पनि जारी गर्‍यो । उनको बहादुरीको बखानमा उपन्यास, गीतहरू बनेका छन् भने चलचित्र ‘ब्याटल फर सेभास्टोपोल’ समेत रिलिज भएको छ ।

टिप्पणीहरू