महोदय, ती पनि कसैका दिदीबहिनी हुन्
नादिया मुराद बेसे ताहाको जन्म इराकको कोच्चो गाउँमा भयो । यो गाउँ उत्तरी इराकको सिन्जार जिल्लाअन्तर्गत पर्छ । उनी यजिदी थिइन् । यो जातिका मानिस कुर्दिश भाषा बोल्छन् अनि सजातीय बिहे गर्छन् । यिनीहरू अल्पसंख्यक हुन् । त्यसो त इराकबाहेक इरान, सिरिया, टर्की, आर्मेनिया र जर्जियामा पनि छन् । न मुसलमान न इसाइ– यिनीहरूको आफ्नै धर्म छ ‘यजिदी पन्थ’ । हिन्दू परम्परासँग मिल्दोजुल्दो । विश्वमा यो धर्म मान्नेहरू १५ लाख हाराहारीमा होलान् । उत्तरी इराकमा सबैभन्दा बढि कुर्दहरू बसोवास गर्छन् । त्यसबाहेक अरेबियन र तुर्कहरू छन् । सबैको धर्म इस्लाम हो, यसकारण यहाँका बहुसंख्यक जनता यजिदीहरूलाई मन पराउँदैनन् । सन् २००३ मा जब अमेरिकाले इराकमा सैन्य आक्रमण गर्, त्यहाँको एउटा सशस्त्र समूहका नेता अबु बकर अल बग्दादी अल कायदासित मिल्न गए । र, उनैको नेतृत्वमा सन् २०१३ मा ‘इस्लामिक राज्य’ (आइएस) गठन भयो । शुरुमा इराक र सिरियामा मात्र संगठित यो समूह पछि करिब ३० वटा मुलुकसम्म फैलियो ।
इस्लामिक राज्यले यजिदीहरूलाई इस्लाम धर्मको बिरोधी ठान्छ । त्यसैले सन् २०१४ को अगस्तमा यजिदीहरूको वस्ति भएको सिन्जारमा भिषण आक्रमण भयो । हतियारविहीन यजिदीहरू यत्रतत्र भाग्न थाले । भाग्न नसकेका एउटा ठूलै समूह सिन्जार पहाडवरिपरि थुनियो । थुनिएकाहरूले अत्यधिक तापक्रम र भोकमरी सामना गर्नुपर्यो । आक्रमणकारीहरूले पुरुषहरूलाई परिवारबाट अलग्ग पार्दै र मार्दै गए । सबैलाई सामुहिक रूपमा जमिनमा गाडे । महिला र केटाकेटीलाई बन्दी बनाए । यो संख्या करिब ७ हजार थियो । महिला र ९ वर्षमाथिका बालिकामाथि सामुहिक बलात्कार भयो । बलात्कृतहरुलाई बजारमा लिलाममा राखियो । खरिदकर्ताले पनि तिनीहरूमाथि पटकपटक बलात्कार गरे र अघाएपछि पुनः बिक्रीमा राख्दै गए । ७ वर्षमाथिका केटाहरूलाई जबर्जस्ती मुस्लिम बनाउँदै बालसैनिक बनाए । यजिदीहरूको मन्दिर र सबै धार्मिकस्थल ध्वस्त पारे ।
आक्रमणकारीहरूले नादियाको गाउँ कोच्चोमा पनि आतंक मच्चाए । ६ सय जनाको आमसंहार गरे । २१ वर्षकी उनी ११ सन्तानमध्येकी कान्छी थिइन् । कसान बुबाको मृत्यु सन् २००३ मै भइसकेको थियो । अरू महिलासरह उनी पनि बन्दी बनिन् सन् २०१४ को सेप्टेम्बर १५ मा । र, मोसुल शहरमा लगेर आइएसका लडाकूहरूको सेवामा लगाइयो । उनी ब्युटीपार्लर खोलेर परिवार पाल्न चाहन्थिन् तर बन्दी बनाइयो । दिनहुँ बलात्कार गरिन्थ्यो । भाग्न खोज्दा पिटिन्थ्यो, शरीर चुरोटले जलाइन्थ्यो । उनी पनि अरू महिलासरह बेचिइन् र खरिदकर्ताद्वारा बलात्कृत बनिन् । उनले आफ्नो पुस्तक ‘दि लास्ट गर्ल : माइ स्टोरी अफ क्याप्टिभिटी एण्ड फाइट अगेन्स्ट दि इस्लामिक स्टेट’ मा लेखेकी छन्– ३ महिना आइएस छापामारहरूको कब्जामा बस्दा बलात्कृत नभएको कुनै दिन थिएन ।
एक दिन एक जना छापामारकै सहयोगमा भाग्न सफल भइन् । ती छापामार ट्युनिसियाका थिए । भागेको दिन उनलाई एउटा परिवारले लुकाएर राख्यो । उत्तरी इराकस्थित डोहोक शरणार्थी शिविरसम्म लगिदियो । आइएस नियन्त्रित क्षेत्रबाट बाहिर पुगेको दुई हप्तापछि पहिलो पटक उनले बेल्जियमको दैनिक पत्रिका ‘ला लिबरे बेल्जिक’ लाई अन्तर्वार्ता दिइन् । आइएसले गर्दै आएको मानव तस्करी र आफूले भोगेको यातनाबारे संयुक्त राष्ट्रसंघलाई लिखित जानकारी दिइन् । पछि आफूलाई मानव तस्करविरुद्ध र शरणार्थीहरूको सेवामा समर्पित गरिन् । मानवअधिकारको मुद्दा उठाउन शुरु गरिन् । यसैबीच युद्ध र सशस्त्र संघर्षको हतियारका रूपमा प्रयोग हुँदै आएको यौन हिंसा अन्त्यको लागि प्रयासरत रहेको भन्दै उनलाई सन् २०१८ मा नोबल शान्ति पुरस्कार प्रदान गरियो । पुरस्कार पाउने उनी पहिलो यजिदी हुन् । लगत्तै मानवअधिकारकर्मी आबिद समदिनसित बिहे पनि गरिन् । आबिद पनि यजिदी नै हुन् । आजभोलि उनीहरू जर्मनीमा बस्छन् ।
लैला टालु पनि कोच्चो गाउँ निवासी नै हुन् । आइएस सशस्त्र जत्थाले आक्रमण गरेपछि सिन्जार पहाडतिर लुक्न पुगिन् तर पक्राउ परेकी छिमेकीले लुकेको ठाउँ बताइदिएपछि उनी पनि पक्राउ परिन् सन् २०१४ को अगस्त ३ मा । त्यसबखत साथमा उनका लोग्ने मर्वान खलिल, ४ वर्ष र १८ महिनाका दुई सन्तान पनि थिए । पक्राउ परेलगत्तै लोग्ने र उनलाई अलग्ग पारियो । पछि छोराछोरीसहित उनलाई ताल अफार, रक्कालगायत विभिन्न स्थानमा बन्दी बनाएर राखियो । उनीहरूलाई स्कूलमा भोकै राखियो । स–साना बालबालिका पनि भनिएन, वयस्कलाई जति नै कुटियो । महिलाहरूमाथि पटकपटक यौन हिंसा र प्रताडना गरियो । लैला सम्झिन्छन्– ‘हामी सयौं यजिदी महिलालाई ठूलो बसमा खाँदेर रक्कातिर लगियो । उनीहरूले हामीमाथि भेडाबाख्रालाई जस्तै व्यवहार गरे । पेटभरि खान पनि दिएनन् । हामीलाई भुइँमै सुत्न लगाइयो । समयसमयमा आइएसका गुण्डाहरू पिट्न आउँथे । हामी त्यहाँ ४० दिन बस्यौं । पछि म र छोराछोरीलाई नजिकैको अपार्टमेन्टमा लगियो । त्यहाँ आइएसका एक जना वरिष्ठ सदस्य बस्दा रहेछन् । उनी सर्जन हुन् । ४० वर्ष जतिका र सानो कदका । हरियो आँखा, छोटो कपाल । उनले भनेको नमान्दा डोरीमा बाँधिएँ । ममाथि निर्दयी तरिकाले कोर्रा हान्दै बलात्कार गरे ।’
‘उनीद्वारा म कतिपटक बलात्कार भएँ भनेर गन्नै सकिन । केही दिनपश्चात् मलार्ई बेचे । खरिदकर्ता मोसुल शहरका थिए । ३० वर्ष जतिका, कालो वर्णका । उनले पनि धेरै पटक बलात्कार गरे अनि किनेको भन्दा बढी मूल्य पाएपछि अर्कैलाई बेचिदिए । त्यसपछि म बग्दादका पुरुषको घरमा पुगें । ती ४० वर्षका पुरुषले पनि मलाई यौन दासी नै बनाएर राखे । अस्पताल लगेर जबर्जस्ती गर्भपतन गर्न लगाए । उनी भन्थे, तिमी दासी हौ । मार्न लायक छौ ।’
लैलालाई पछि एक जना साउदीले किने । उनी झन खुंखार थिए । कोर्राले हान्दै बलात्कार गर्थे । उनको तर्फबाट पनि लैलाले गर्भ बोकिन् । लैला सानो छाप्रोजस्तो घरमा छोराछोरीसँग् बस्थिन् । उनलाई बाहिरका कोही कसैसित सम्पर्क गर्नै दिएनन्, जसको कारण लोग्ने र परिवारका अन्य सदस्यको बारेमा थाहा नै पाइनन् । साउदीपछि एक जना लेबनानीकोमा पुगिन् । ३३ वर्षका उनी डच पत्नीसँग बस्थे । लैलामाथि बलात्कार गराउन स्वयं उनकी पत्नी अघि सर्थिन् । त्यति मात्र होइन त्यहाँ बस्दा लैलाले अरू पुरुषको यौन इच्छा पनि पुरा गर्दिनु पर्ने भयो । उनी रक्कामा करिब २ वर्ष बसिन् । पछि परिवारको सम्पर्कमा पुगिन् र २० हजार डलर तिरेर उन्मुक्ति पाइन् ।
यतिखेर लैला ३८ वर्षकी भइन्, उत्तरी इराक डोहुकमा बस्छिन् । खुशी छिन् किनभने आततायीहरूले उनको परिवारलाई केही हानी नोक्सानी पुर्याएको रहेनछ । उनी आफ्नो कथाब्यथा यसकारण सुनाउँदै छिन् ताकि विश्वले थाहा पाओस् कि आइएस कति खतरनाक संगठन हो । उनका अनुसार बलात्कृत भएपछि आत्महत्या गर्ने यजिदी युवतीहरूको संख्या पनि कम छैन । सबै यजिदी महिला लैलाजति खुशी छैनन् किनभने इस्लामिक स्टेटको पराजयपछि पनि उनीहरूको तर्फबाट छोराछोरीको आमा बनेकाहरूलाई यजिदी समाजले स्वीकारेको छैन । उनीहरू गाउँमा उपेक्षित छन् । सन्तानलाई अनाथालयमा छाड्न विवश छन् ।
टिप्पणीहरू