जसले पतिलाई विश्वविजेता बनाइन्
मंगोल लडाकु चंगेज खाँ एक क्रुर र बर्बर शासक हुन् । विश्व विजेता बन्ने सपनामा ४ करोड मान्छे मारे । विश्वको २२ प्रतिशत भूभागमा आधिपत्य जमाए । उनी मुस्लिम खाँ थिएनन् । मंगोलहरूले बुद्धधर्म मान्ने हुन् । चंगेज (चिङ्गिस) लाई यो ‘खाँ’ उपाधि उनी जन्मेको कबिलाका भारदारहरूको सभा ‘कुरिलताई’ ले प्रदान गरेको हो । यसले मंगोलहरूको सार्वभौम शासक भन्ने जनाउँछ । जन्मको नाउँ तेमुजिन यंगुसी बगातुर हो र ‘कियात’ आदिवासी थिए । कियातहरू भने ‘तेङ्ग्री’ धर्म मान्दथे । यो बौद्ध धर्मको शाखा प्रशाखाभित्र पर्दैन । इतिहासमा यसले बौद्ध धर्मसित सम्मिश्रण र सहअभ्यास गर्ने गरेको पाइन्छ । तेमुजिनका पिता येसुगेइ ‘कियात’ आदिवासीहरूका मुखिया हुन्, जसको निधन हुँदा तेमुजिन मात्र १० वर्षका थिए ।
चंगेजले विश्व बिजेता बन्ने सपना साकार तुल्याउने क्रममा विश्वका धेरै भूभागमा सैन्य आक्रमण र अत्याचार गरेको पढ्न पाइन्छ । त्यसबखत सबैतिर उनको आतंक व्याप्त थियो, उनको आगमनको खबर सुन्नेबित्तिकै सेना, सर्वसाधारण बस्ती छाडेर भाग्थे । ख्वारेजमियान साम्राज्य (अहिलेको मध्यएशिया र अफगानिस्तान) माथि आक्रमण गर्दा नेश्याबुर (अहिलेको इरानी शहर) मा मात्र ५७ लाख र हेरात (अफगानिस्तान) मा १८ लाखलाई मार्न लगाएका थिए । मारिएका पुरुष, महिला र केटाकेटीको छुट्टाछुट्टै पिरामिड बनाइएको थियो । इतिहासमा उनलाई विश्व बिजेता बन्न उक्साउने र त्यसका लागि आवश्यक सैन्य योजना बनाइदिने उनकी रानी बोर्तेबारे खास चर्चा गरिएको पाइँदैन । बोर्ते ‘खोङिराड’ आदिवासी हुन् । कियातहरू खोङिराडहरूलाई मित्र शक्ति मान्दथे । उनी पनि तेमुजिनजस्तै मुखियाकै सन्तान थिइन् । गोरी थिइन्, आँखामा चमक र अनुहारमा उज्यालो पनि थियो । त्यस समुदायका युवतीहरू आएको तुलनामा आकर्षक र सुन्दर हुन्थे ।
उता, तेमुजिन ९ वर्षमा टेक्नेबित्तिकै बुबा येसुगेइले दुलही खोज्न थाले । उनी केटी खोज्न ससुरालीतर्फ लागे, बाटोमा बोर्तेका बुबा तेइ सेचेनसँग जम्काभेट भयो । कुराकानीको क्रममा तेइले अघिल्लो रात मात्र येसुगेइ छोरोलाई लिएर आफ्नो घर आइपुगेको सपना देखेको सुनाए । साथै, खोङिराड युवतीहरू असामान्य राम्री हुने र १० वर्षकी आफ्नै छोरी बोर्ते तेमुजिनको लागि उपयुक्त दुलही हुन सक्ने बिचार पोखे । त्यो रात येसुगेइ तेइकै घरमा बसे । भोलिपल्ट बिहान बोर्तेलाई देखे । उपयुक्त पात्र ठानेर तेइसँग छोरी मागे । तेमुजिन आफ्नै वस्तीमा आएर बस्नुपर्ने शर्तमा तेइ प्रस्तावप्रति सकारात्मक बने । घर फर्कने क्रममा येसुगेइको भेट तातरहरूसँग भयो । खाना उनीहरूसँगै खाए । खानामा विष मिसाइदिएको भेउ नै पाएनन् । घर पुग्नेबित्तिकै आँगनमै लडे । मर्नुअघि तेमुजिनको मुख हेर्ने इच्छा व्यक्त गरे । त्यतिञ्जेलमा तेमुजिन बोर्तेको वस्तीमा गएर बस्न थालिसकेका थिए । येसुगेइको अन्तिम इच्छा बुझेपछि तेइले तेमुजिनलाई घर फर्कन दिए ।
सात वर्षपछि सन् ११७८ मा तेमुजिन फेरि तेइको गाउँ पुगे र बोर्तेसँग बिहे गरे । बिहेपश्चात १७ वर्षकी बोर्ते र १६ वर्षका तेमुजिन केउरेन नदी नजिकैको भिरालो ठाउँमा बनेको नयाँ घरमा बस्न थाले । लगत्तै त्यहाँ मर्किट जनजाति समूहले आक्रमण ग¥यो । तेमुजिन र परिवारका अन्य सदस्य भाग्न सफल भए तर बुर्ते त्यहीँ छुटिन् । शिविरका एक नोकरले एउटा पुरानो गोरुगाडाभित्र लुकाएर माथिल्लो नदीतर्फ भगाए । त्यसक्रममा गाडाको पाङ्ग्रा भाँचियो, नोकरले बोर्तेलाई पैदलै भगाए तर आक्रमणकारीहरूको पञ्जाबाट भने बचाउन सकेनन् । यथार्थमा आक्रमणकारीहरूको लक्ष्य नै बोर्तेलाई अपहरण गर्नु थियो किनभने तेमुजिनकी आमा होइलुन मर्किट जनजातिकै थिइन् र तेमुजिनका बुबा येसुगेइले पनि अपहरण गरी स्वास्नी बनाएका थिए । मर्किटहरू धेरै अगाडिदेखि अपहरणको बदला अपहरण गर्ने सुरमा थिए ।
तेमुजिन श्रीमतीको अपहरणबाट निकै दुखी बने । आफ्नो ओछ्यान खाली भयो र छाती चिरियो भन्दै विलाप गर्न थाले । ओङ छान बुर्तेको दाइजो थिए, उनले बुर्तेलाई छुटाउन मद्दत गर्ने आश्वासन तेमुजिनलाई दिए र दुवै मिलेर योजना बुने । साथीहरूलाई समेटेर अर्धसैनिक दस्ता तयार पारे । एकदिन साइबेरियाको बैकाल ताल नजिक अवस्थित बार्कुजिन क्षेत्रमा आक्रमण गर्न पुगे, उनीहरूको फौज देखेर मर्किटहरू सेलेङे नदीतर्फ भागे । तेमुजिनहरूले त्यहाँ लुटपाट मच्चाए । बस्तीका मानिसहरू भाग्न थाले । भाग्नेमा बुर्ते पनि थिइन् । तेमुजिन हतारहतार भागिरहेकाहरूको बीचमा पुगे र ‘बुर्ते बुर्ते’ भन्दै कराउन थाले । बुर्तेले लोग्नेको आवाज चिनिन् र तेमुजिन भएको स्थानमा पुगिन् । रातको समय, मात्र चन्द्रमाको प्रकाश थियो । तैपनि तेमुजिनलाई चिन्न बुर्ते सफल भइन् । तेमुजिन र ओङ छानले पनि बुर्तेलाई । बुर्ते रुँदै तेमुजिनसित अंगालोमा बेरिन पुगिन् । यसरी ८ महिनापछि उनीहरूको पुनर्मिलन भयो । तेमुजिनको यो नै पहिलो सैन्य आक्रमण थियो । उनले बुर्तेलाई मर्किटहरूको पञ्जाबाट मुक्त मात्र पारेनन्, अपहरणकारीहरुलाई लखेटेलखेटी मारे । मर्किटहरूको नियन्त्रणमा रहेका अन्य स्त्रीलाई पनि छुटाए । कतिपय इतिहासकार बुर्ते मर्किटहरूद्वारा पटकपटक बलात्कृत भएको बताउँछन् ।
बोर्तेले माइतबाट अकुत सम्पति दाइजोमा प्राप्त गरेकी थिइन् । चतुर र बुद्धिमान पनि थिइन् । उनले सासू होइलुनसँग मिलेर समग्र क्षेत्रमै पशुपालनको व्यवसाय थालिन्, कियात समुदायको अर्थतन्त्रमा सुधार गरिन्, सबै परिवारलाई फरकफरक जिम्मेवारी सुम्पिन् । यसबीच सन् ११७९ मा पहिलोपटक आमा बनिन् । छोरो छोजिन जन्माउँदा १८ की थिइन् । उनी कूल ९ सन्तानको आमा बनिन् – ५ छोरी र ४ छोरा । तेमुजिन शासक बनिसकेपछि राज्यलाई शक्तिशाली बनाउन पाँचैजना छोरीको बिहे शक्तिशाली ब्यक्तित्वसित गराइदिइन् भने छोराहरूलाई पनि लोग्नेलाई जसरी नै राज्य बिस्तारमा लगाइन् । एशियाभरि व्यापार फैलाउने उद्देश्यले ब्यापारमार्गहरू निर्माण गर्न लगाइन्, तेमुजिनलाई मंगोल साम्राज्य बिस्तार गर्न उक्साइन् र त्यसका लागि आवश्यक योजना तयार गरिदिइन् । लोग्नेको सैन्य सल्लाहकारकै रूपमा काम गरिन् । कोसित सैन्य गठबन्धन गर्ने र कसलाई शत्रु घोषणा गर्ने यी सबै कार्य तेमुजिनले स्वास्नीकै सल्लाहमा गर्थे । तेमुजिनले बुर्तेकै योजनाअनुरूप छरिएर रहेका मंगोल आदिवासी जनजातिलाई एकसूत्रमा बाँधे । र, सन् १२०६ मा यिनै आदिवासीहरूको संयुक्त भारदारी सभा ‘कुरुलताई’ ले उनलाई ब्रम्हाण्डको शासक (चंगेज खाँ ) को उपाधि प्रदान ग¥यो, साथै बुर्तेलाई मंगोल साम्राज्ञी घोषित गर्यो । तेमुजिन पहिलो चंगेज खाँ थिए । त्यतिञ्जेलमा उनले मंगोल साम्राज्यलाई उत्तरमा साइबेरिया र दक्षिणमा उत्तरी चीनसम्म फैलाएर ४० लाख वर्ग किलोमिटर क्षेत्रको शासक बनिसकेका थिए । पछि इरान, अफगानिस्तान कब्जा गरेपछि भारत प्रवेश गर्नेसम्म सोचेका थिए । उनले कूल १ करोड ३५ लाख वर्ग किलोमिटर क्षेत्रलाई आफ्नो अधिनमा पारे । चंगेजका धेरै पत्नी थिए । ४४ घोषित रानी र करिब ५ सय उपरानी थिए । तर बुर्ते उनको प्रिय रानी थिइन् । बुर्तेलाई मात्र साम्राज्ञीको दर्जा दिएका थिए ।
इतिहासकारहरूका अनुसार साम्राज्य बिस्तारको क्रममा पराजित राज्यका महारानी, राजकुमारी, कबिलाका सरदारकी पत्नी र छोरीहरूलाई स्वास्नी बनाउने गर्थे । पराजित राज्यका जनतामाथिको बर्बरता चरम हुने गथ्र्यो । उनी धर्म निरपेक्षताका पक्षपाती थिए, धर्मको आधारमा कहिल्यै कसैमाथि विभेद पनि गरेनन् । चंगेज प्रायः मुलुक बाहिरै हुन्थे, कतिपय रानीहरू सँगै हुन्थे तर बुर्ते त्यसरी कहिल्यै लोग्नेको पछि लागिनन्, दरबार सम्हालेर बसिन् । चंगेजका सयौं होइन हजारौं सन्तान थिए भनिन्छ । यसको बावजुद उनले बुर्तेको आग्रहमा सयौं, हजारौंलाई धर्मपुत्र, धर्मपुत्री बनाएर पाले, हुर्काए । बोर्तेले लोग्नेको मृत्युपश्चात पनि मंगोल जनताको श्रद्धा गुमाइनन्, उनी सबैको प्रशंसनीय ‘माता’ बनिरहिन् । अरु राज्य र आदिवासी समूहसित पनि कूटनीतिक सम्बन्ध कायम गरी राखिन् । उनको निधन चंगेजको मृत्युको ३ वर्षपछि ६९ वर्षको उमेरमा सन् १२३० मा भयो । चंगेजको मृत्युपश्चात् गद्दिसीन भएका उनका तेश्रो पुत्र ओगेतेइ पनि साम्राज्य बिस्तारमा लागे । चंगेजकै नाति कुब्लाइ खाँको समयमा त झन् मंगोल साम्राज्य २ करोड ३० लाख वर्ग किलोमिटरसम्म फैलिएको थियो । चीनमा युआन राजवंशको शासन शुरुवात पनि उनैले गरे । उनको मृत्युपछि भने मंगोल साम्राज्य खण्डित हुन थाल्यो ।
टिप्पणीहरू