कम्युनिष्ट शासनमा यस्ता कुरा त कति कति
निकोलाई बुखारिन, रुसी क्रान्तिका नायक लेनिनभन्दा १८ वर्ष कान्छो । लेनिनपछि सोभियत संघको सरकार प्रमुख बनेका स्टालिनभन्दा १० वर्ष कान्छो । लेनिन स्वयंले कम्युनिष्ट पार्टीका सबैभन्दा मूल्यवान र प्रमुख सिद्धान्तकार भनी तारिफ गरेका बोल्सेभिक थिए । लेनिन, स्टालिन, बुखारिन, लियोन ट्राटस्की सबैजना रुसी सामाजिक जनवादी श्रमिक पार्टीका सदस्य हुन् । बुखारिन त अझ सन् १९१७ मा सम्पन्न अक्टोबर क्रान्तिकालमा राजधानी मस्कोका प्रमुख नेता नै थिए, जसको नेतृत्वमा कम्युनिष्ट क्रान्तिकारीहरूले राजधानीमाथि नियन्त्रण जमाएका थिए । उनैलाई पछि स्टालिनको आदेशमा गोली हानेर उडाइयो । सन् १९०६ मा १८ वर्षको उमेरमै सामाजिक जनवादी श्रमिक पार्टीका सदस्य बनेका उनको भेट लेनिन र ट्राटस्कीसित ४ वर्षपछि भएको थियो । अक्टोबर क्रान्तिपछि बोल्सेभिक पार्टीको मुखपत्र ‘प्राभ्दा’ को सम्पादक बनेका उनी सन् १९३६ मा जारी सोभियत संविधानको प्रमुख शिल्पकारसमेत थिए । उनी कवि थिए अनि लेखक पनि ! उनमा बहुमुखी प्रतिभा थियो । आकर्षक व्यक्तित्वका धनी पनि थिए ।
माक्र्सवादी दर्शनसम्बन्धी दर्जनौं पुस्तक लेखेका उनी र स्टालिनकी पत्नी नादेझ्दा आलिलुयभाबीच घनिष्ठ मित्रता थियो । स्टालिन उनीहरूको सम्बन्धलाई लिएर बेलाबखत ईष्र्या गर्थे । एकपटक बुखारिनलाई आफ्नो निवासको बगैँचामा टहलिराखेको देखे, र नजिक बोलाएर धम्क्याए । स्टालिन र नादिया ( स्टालिनले आफ्नो पत्नीलाई मायाले बोलाउने नाउँ ) अक्सर झगडा गर्थे । सन् १९३२ को नोभेम्बर ७ मा अक्टोबर क्रान्ति सम्पन्न भएको १५ औं वार्षिकोत्सव मनाउँदै थियो । स्टालिनसंगै नादिया र उनीहरूका छोराछोरी पनि रेड स्क्वायरको बरण्डामा बसेर कार्यक्रम अवलोकन गर्दै थिए । परेड सकिएलगत्तै टाउको दुख्यो भन्दै नादिया क्रेम्लिन दरबारतिर लागिन् । भोलिपल्ट साँझ दुबैजना पार्टीका अर्का नेता क्लिमेन्ट भोरोसिलोभले बोलाएको रात्रिभोजमा सामेल भए । रात्रिभोजमा सबै बोल्सेभिक नेता पत्नीसहित उपस्थित थिए । स्टालिनको ध्यान सैन्य नेता मार्शल अलेक्ज्याण्डर येगोरोभकी युवा पत्नी गालिना येगोरोभातर्फ खिंचिरहेको थियो । जब नियन्त्रणभन्दा बाहिर गई स्टालिन गालिनालाई जिस्क्याउन थाले, यो सबै क्रियाकलाप नियाली बसेकी नादिया सबैसामु स्टालिनसित झगडा गर्न थालिन् ।
एकछिनपछि जब स्टालिनले ‘राज्यका शत्रुहरूको विनाश होस्’ भनेर टोष्ट प्रस्ताव राखे र सबैले गिलास उठाएर प्रस्तावप्रति समर्थन जनाए तर नादिया चुपचाप बसिराखिन् । स्टालिनले नादियाको ध्यान आकर्षित गर्ने उद्देश्यले टेबुलमा भएको सुन्तलाको बोक्राको सानो टुक्रा उनीतर्फ फ्याँके । लोग्नेको उक्त व्यवहारबाट नादिया क्षुब्ध बनिन् र खुट्टा बजार्दै बाहिर निस्किइन् । हलमा नफर्की निवासतर्फ लागिन् । सबैले देखेको लोग्नेस्वास्नीको झगडा यति थियो तर भोलिपल्ट (९ नोभेम्बर) को बिहान नादियाले पेस्तोलले आफ्नै कञ्चटमा गोली हानेर आत्महत्या गरिन् । यो घटनाको ६ वर्षपछि स्टालिनले आफ्नै सहयोद्धा बुखारिनलाई मृत्युदण्ड दिन लगाए । उनी पत्नी नादिया र बुखारिनको मित्रतालाई मन पराउँदैनथे तर मृत्युदण्डको कारण भने यो मात्र नभएर राजनीतिक थियो ।
स्टालिन र बुखारिन एउटै पार्टीमा थिए । लेनिनको मृत्यु नहुञ्जेलसम्म मात्र होइन सन् १९२७ सम्मै मेलजोल थियो । यसबीच सन् १९२८ मा स्टालिनले किसानलाई सामूहिक खेतीमा लाग्न दबाब दिए– यसको विरोध बुखारिनले गरे ! लगत्तै स्टालिनले अख्तियार गरेको आर्थिक नीति र ‘एकदेशमा समाजवाद’ को व्याख्याको पनि विरोध गरे ! यसपछि भने स्टालिनले बुखारिनलाई विरोधी देख्न थाले ! मतभेद यति चर्किंदै गयो कि सन् १९३६ मा बुखारिन पक्राउ परे ! उनीमाथि राज्यद्रोहको आरोप लगाइयो र २ वर्षपछि सन् १९३८ मा मृत्युदण्ड नै दिइयो । बुखारिनलाई दिइएको मृत्युदण्ड स्टालिन विरोधी सबैका लागि ‘पाठ’ थियो, किनभने त्यसबेला धेरै नेता स्टालिनको विरोधमा चल्मलाउन थालेका थिए । मृत्युदण्डको सजाय सुनाइएपछि बुखारिनले स्टालिनका नाउँमा एउटा पत्र लेखे । जसमा उनको सोधाइ थियो – ‘कोबा, तिमी किन मेरो मृत्यु खोज्दै छौ ?’
‘कोबा’ स्टालिनको क्रान्तिकारी उपनाम हो । कोबा जर्जियाइ बहुचर्चित एक लोककथाका नायक थिए । स्टालिनले युवावस्थामा यो नाउँ धेरै प्रयोग गरे । बुखारिनले लेखेको उक्त पत्र स्टालिनको मृत्युपछि उनकै टेबुलको घररामा फेला परेको थियो । स्टालिनको आक्रोश यतिमै सिमित रहेन । उनले बुखारिनलाई परिवारको रक्षा गर्ने आश्वासन दिएका थिए तर बुखारिनकी युवा पत्नी अन्ना लारिनालाई श्रमशिविरमा पठाइदिए भने २ वर्षको छोरो युरीलाई अनाथालय् । बुखारिनकी पहिलो पत्नी नादेझ्दा लुकिनलाई समातेर श्रम शिविरमै पठाए, दोस्री पत्नी एस्फिर गुर्भिचलाई जेल । जबकि बुखारिनले नादेझ्दासितको सम्बन्ध सन् १९२१ मा र गुर्भिचसितको सम्बन्ध सन् १९२८ मै बिच्छेद गरिसकेका थिए ।
अन्ना सन् १९३७ मा पक्राउ पर्दा मात्र २३ वर्षकी थिइन् । २० वर्ष जेलमा बिताइन् । उनी रुसी राजनीतिज्ञ तथा अर्थशास्त्री मिखाइल लारिनकी धर्मपुत्री हुन् । मिखाइलको घरमा बुखारिन गइरहन्थे । बुखारिनलाई पहिलोपटक देखेको बेला अन्ना मात्र १४ की थिइन् । पछि मनमनै प्रेम गर्न थालिन् । आफूले मनपराएको पुरुष उमेरमा २६ वर्षले जेठो भन्ने थाहा पाउँदा पाउँदै जीवनसाथीको रूपमा देख्न थालिन् । उनी सुशील थिइन्, उत्तिकै सुन्दर पनि ! कम्युनिष्ट कार्यकर्ता थिइन् । बुखारिनलाई धेरै पटक पत्र लेखेर प्रेम भावना प्रकट गरिन् । बुखारिनको त्यसबखत दोश्री पत्नी एस्फिरसितको सम्बन्ध टुटेको मात्र थियो, त्यसैले आफूलाई एकांगी महसुस गर्दै थिए । किशोरी अन्नाको चञ्चलपन र उनले देखाउने अवोध मायाबाट बुखारिन विस्तारै मन्त्रमुग्ध हुँदै गए । बुखारिन शुरुदेखि नै अन्नाको बुद्धिमत्ता र आकर्षक शरीरबाट प्रभावित थिए । सुन्दरताको प्रशंसा बेलाबखत गर्ने गरेकै थिए । अन्नाको प्रेमपत्रलाई उनले आफ्नो शून्य जीवनलाई हराभरा बनाउने अमूल्य उपहार ठान्न थाले । उमेरको फरकपनालाई दुबैले महत्वहीन सम्झे । फुर्सदको क्षण सँगै बिताउन थाले । दुबैको प्रेम सम्बन्धबारे स्टालिन र पार्टीका अन्य नेता पनि जानकार हुँदै गए । र, सन् १९३४ मा स्टालिनकै सहमतिमा दुबैले बिहे गरे !
बुखारिनको मृत्युपश्चात् अन्नाको जीवन दुःखद बन्यो । शुरुमा निर्वासनमा पठाइयो अनि आस्त्राखान जेलमा । फेरि टोम्स्क श्रम शिविरमा । उक्त शिविरमा मात्र उनले ५ वर्ष गुज्रियो । जेल र श्रम शिविरमा गरी २० वर्ष बिताइन् । निर्वासनमा रहँदै लोग्नेलाई मृत्युदण्ड दिइसकिएको खबर पाएकी थिइन् । जेल र श्रमशिविरको बसाइमै उनको भेट फ्योदोर फादायेभसित भयो । उनलाई पनि कहिले जेल त कहिले श्रमशिविरमा पठाउने गरिएको थियो । जेलमै उनीहरूले बिहे गरे ! एउटा छोरो र एउटी छोरीको आमाबुबा बने । फ्योदोरको मृत्यु सन् १९५९ मा भयो । सोही वर्ष बल्ल अन्ना निर्वासनबाट घर फर्किन पाइन् । लामो समयसम्म कडा श्रम गर्नुपरेकोले मस्को फर्कंदा क्षयरोग लागिसकेको थियो । त्यसबेलासम्ममा सरकार फेरिएर निकिता ख्रुश्चेभ सत्तारुढ भइसकेका थिए । उनले ख्रुश्चेभलाई पत्र लेखेर लोग्ने बुखारिनलाई मृत्युपरान्त भए पनि पुनःस्थापना हुनुपर्ने माग राखिन् । तर ख्रुश्चेभ, लियोनिद ब्रेझनेभ, युरी आन्द्रोपोभ, कोस्टान्टिन चेर्नेन्को कोही पनि बुखारिनको पक्षमा उभिन चाहेनन् । बल्ल मिखाइल गोर्वाचोभको उदयपछि सन् १९८८ मा बुखारिन रुसी राजनीतिमा पुनःस्थापना भए । ‘साम्यवादको शहीद’ मा दरिए ।
बुखारिनकी पहिलो पत्नी नादेझ्दाको निधन सन् १९४० मा श्रम शिविरमै भइसकेको थियो । बुखारिनसित उनको बिहे सन् १९११ मै भएको थियो भने सन् १९२१ मा सम्बन्धविच्छेद । दोश्री पत्नी एस्फिर जसलाई स्टालिनको सरकारले ‘जनताको शत्रु’ को शत्रु भन्दै गिरफ्तार गरेको थियो उनी पनि स्टालिनको मृत्युपश्चात् मात्र सन् १९५६ मा जेलबाट रिहा भएकी हुन् । उनको निधन सन् १९८९ मा भयो । उनी र बुखारिनको दाम्पत्य जीवन सन् १९२१ देखि १९२८ सम्म चलेको थियो । तेस्री पत्नी अन्नाको निधन सन् १९९६ मा भयो । उनी यहुदी थिइन् । प्रतिभाशाली गायिका । थुप्रै भाषामा गीत गाएकी । रिहाइपछि पुनः गायन पेशा शुरु गरेकी थिइन् । उनले पुस्तक लेखेकी छन् ‘जुन म बिर्सन सक्दिन ।’
टिप्पणीहरू