मात्र ५ मीनेटको ढिलाइ र मदुरो दम्पती

मात्र ५ मीनेटको ढिलाइ र मदुरो दम्पती

अमेरिकी गुप्तचर संस्था सिआइए शुरुदेखि नै निकोलस मदुरोको पछि लागेको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पको एकपछि अर्को धम्कीको समेत परवाह नगरी अमेरिकासामु झुक्न नखोजेपछि अमेरिका सैन्य आक्रमण गरेर भए पनि उनलाई सत्ताच्युत गर्ने निर्णयमा पुग्यो । यसका लागि आतंकवाद प्रतिरोधी सैन्यदस्ता डेल्टालाई जिम्मेवारी सुम्पिइयो । योजनाअनुरूप सिआइएका एजेण्टहरूले मदुरो के खान्छन्, कस्तो लुगा लाउँछन्, कहाँ–कहाँ बस्छन्, को–कोसित भेट्छन् सबै कुराको एकएक निगरानी गर्न थाले । यहाँसम्म कि मदुरोको निवासमा रहेका पाल्तु जनावरसमेतको जानकारी हासिल गरे । बितेको एक महिनाभित्र मदुरोको गतिविधिका एक/एक मीनेट एक/एक सिकेण्डको रेकर्ड राखियो । मदुरोको गतिविधिबारे सानोभन्दा सानो जानकारी दिने काममा मदुरोनिकट केही व्यक्ति पनि सामेल भए । मदुरोलाई जिउँदै पक्रने योजनाअनुरूप भेनेजुयलाको राजधानी काराकासस्थित राष्ट्रपति निवासजस्तै भवन खडा गरेर डेल्टाका सैनिक जवानले अभ्यास गरे । 

अपरेशन अब्सोल्युट रिजल्भ (अपरेशन पूर्ण समाधान) नामक उक्त सैन्य कारबाहीलाई डिसेम्बरमै गर्ने निर्णय ह्वाइटहाउसबाट भयो । तर, मौसमले साथ नदिएपछि रोकियो । यो अपरेशनसम्बन्धी जानकारी संसदलाई पनि दिइएको थिएन । राष्ट्रपति ट्रम्प, उनका बफादार ह्वाइटहाउस अधिकृतहरू, अपरेशनमा संलग्न सैन्य अधिकृत र जवानहरूमा सीमित गरिएको थियो । अनुकूल मौसमको प्रतीक्षामा बसेका अपरेशन टोलीका जवानहरूले आदेशको प्रतीक्षा गर्दै परिवारसित बसेर क्रिसमस मनाए, नयाँ वर्ष पनि । आज हो कि भोलि भनी कुर्दै बसेकाहरूलाई राष्ट्रपति ट्रम्पले शुक्रबार स्थानीय समय २२ः४६ मा अपरेशन थाल्न आदेश दिए । अपरेशन मध्यरातमै सम्पन्न गर्नुपर्ने भयो । शनिबार मध्यरातमा (रातको २ बजे) एकैपटक आकाश, जल, जमिनबाट एक्कासी काराकासमा आक्रमण थालियो । राजधानीनजिक र आसपास ७ वटा क्षेत्रमा एकैपटक बमबारी भयो । अपरेशनमा १ सय ५० भन्दा बढी हेलिकप्टर र लडाकू विमान प्रयोग गर्नुका साथै शहरमा बत्ती निभाइएको थियो । बत्ती कसको इशारामा, कसले निभायो पत्ता लागेको छैन । 

उता, डेल्टाका जवान अँध्यारोमै कडा सुरक्षालाई छल्दै राष्ट्रपति निवास छिरिसकेका थिए । आक्रमण हुँदा मदुरो र श्रीमती सिलिया फ्लोरेस निदाइरहेका थिए । बमबारीको आवाजले बिउँझे । नाइट सुटमै गोप्य कोठातर्फ भागे । तर भित्र पस्न नपाउँदै डेल्टाका जवानहरूले समाते । आक्रमण शुरु भएको ३१ मीनेटमै उनीहरू अमेरिकी सेनाको कब्जामा परे । ट्रम्पकै भनाइअनुसार दम्पती बाक्लो स्टिलको ढोकायुक्त सुरक्षित कोठामा छिर्न पाएको भए मदुरोलाई समाउने योजना असफल हुने थियो, किनभने उक्त कोठाको ढोका फोर्न असम्भव थियो । अर्थात् ५ मीनेट मात्र ढिलो भएको भए मदुरो दम्पती अमेरिकी सेनाको कब्जाबाट बँच्न सक्थ्यो । 

मदुरोलाई समाउने अपरेशन शुरु भएपछि मात्र विदेशमन्त्री मार्को रुबियोले सांसदहरूलाई जानकारी दिएका थिए । उनको भनाइअनुसार यतिखेर मदुरो दम्पतीलाई अमेरिका लगेर ब्रुकलिनको मेट्रो डिटेन्सन सेन्टरमा राखिएको छ । अमेरिकाले अर्को ब्यवस्था नहुञ्जेलसम्म भेनेजुयलाको शासन आफ्नो हातमा लिएको घोषणा गरिसकेको छ । ट्रम्पले अपरेशनमा केही सैन्य घाइते भएको तर कसैको मृत्यु नभएको बताएका छन् । 

अमेरिकाले ३७ वर्षअघि यसरी नै ल्याटिन अमेरिकी मुलुक पनामामा आक्रमण गरी त्यहाँका राष्ट्रपति अन्टोनियो म्यानुयल नोरिएगालाई उठाएको थियो । सन् १९८९ को डिसेम्बर २० मा राति नै उक्त सैन्य आक्रमण गरिएको थियो । तर, सानो मुलुक पनामामाथि पूर्ण कब्जा जमाउन र नोरिएगालाई समाउन ४१ दिन लाग्यो । मदुरो त वामपन्थी थिए तर नोरिएगा एक समय उसैको कठपुतली र उसैले हुर्काएको जवान थिए, सिआइएकै तलब खान्थे, उसैको बलमा सत्तामा पुगेका थिए तर नोरिएगाले अमेरिकाविरुद्ध बोल्न थालेपछि आक्रमण भयो । जसरी अन्तिम समयसम्म मदुरोले आफ्नो देशको तेल भण्डारमाथि अमेरिकाले गिद्दे आँखा लगाएर आक्रमणको धम्की दिइरहेको छ भन्दै थिए ठीक त्यसरी नै नोरिएगाले अमेरिकी धम्कीलाई लिएर भनेका थिए, ‘पनामा चिनी होइन, एक थोपा पानी पर्नेबित्तिकै पग्लिने ।’

अमेरिकाले मदुरो र नोरिएगालाई मात्र होइन, आफूलाई हाँक दिने जो–कसैलाई यसरी नै निमिट्यान्न पार्दै आइरहेको छ । चाहे आमविनाशकारी हतियार भण्डारण गरेको झुटो आरोपमा इराकमाथि आक्रमण गरेर त्यहाँका शासक सद्दाम हुसेनलाई मृत्युदण्ड दिँदा होस् वा लिबियाका कर्नेल गद्दाफी या बिन लादेनको बहानामा अफगानिस्तानमाथिको आक्रमण नै किन नहोस् । 

यस्तो सूची तयार गर्ने हो भने लामै हुन्छ । चुनावमा धाँधली गरेर जितेको भनिएको छ मदुरोलाई तर चुनावै नगरी लामो समयसम्म सत्तामा बसेका सैन्य शासकलाई समेत समर्थन गरिएका थुप्रै उदाहरण छन् । खासगरी वामपन्थी र अमेरिकाविरोधीलाई उसले अनेक बहानामा कुल्चिँदै आएको इतिहास छ । दक्षिण र ल्याटिन अमेरिकी मुलुक क्युबा र निकारागुआको वामपन्थी सरकारलाई उसले ‘आफ्नो नाकमा बस्न आएको चकचके झिंगा’ ठान्ने गरेको थियो । यसक्रममा क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्त्रोलाई मार्न सयौं प्रयास गर्‍यो भने निकारागुआलाई बमले उडाउने कुचेष्टासमेत भयो । यसका लागि उक्त मुलुकको चारैतिर सामुद्रिक बम बिछ्याउन थालिएको थियो । राष्ट्रपति रोनाल्ड रेगनको उक्त योजना कार्यान्वयन हुनुपूर्व नै पर्दाफास भएपछि बिफल हुन पुग्यो । 

भर्खर अमेरिकी कुदृष्टिमा परेको भेनेजुयला सार्वभौमसत्तासम्पन्न दक्षिण अमेरिकी मुलुक हो । यो उक्त महादेशको उत्तरी समुद्री तटमा अवस्थित छ । पश्चिममा कोलम्बिया, दक्षिणमा ब्राजिल, पूर्वमा गायना र उत्तरपूर्वमा त्रिनिडाड एन्ड टोबागो पर्छ । यो संयुक्त राज्य अमेरिकाबाट १ हजार ७ सय २७ किमी मात्र टाढा छ । यो मुलुकले सबैभन्दा बढी कच्चा तेल उत्पादन गर्छ । तेलबाहेक यहाँ ठूलो मात्रामा कोइला, सुन, तामा, फलाम, आल्म्युनियम, ग्यालियमजस्ता बहुमूल्य खनिजको भण्डार छ । त्यसैले अमेरिका शुरुदेखि नै यहाँ  आफू समर्थित सरकार स्थापना गर्न कटिबद्ध थियो तर उसको चाहनाविपरीत ह्युगो चाभेज सत्तारुढ हुन पुगे । यसपछि उसले भेनेजुयलालाई शत्रु राष्ट्रको स्थानमा राख्न थाल्यो । चाभेजले विभिन्न वामपन्थी दललाई मिलाएर समाजवादी पार्टी गठन मात्र गरेनन् समाजवादी मुलुक रुस, चीन, उत्तर कोरियासित सम्बन्ध विस्तार गरेपछि उनलाई कम्युनिष्ट ठान्दै सत्ताबाट फाल्न अनेक चेष्टा गरियो, दुई पटक मार्ने कोसिससमेत भयो । 

यसबीच, सन् २०१३ मा चाभेजको निधन भयो । चाभेजकै शिष्य निकोलस मदुरोले सत्ता सम्हाले । मदुरो चाभेजजत्तिको लोकप्रिय र शक्तिशाली थिएनन् तर चाभेजकै मार्गमा हिँड्न थाले । यसपछि अमेरिकाले जसरी भए पनि मदुरोलाई सत्ताबाट हटाउने योजना बुन्यो । पछिल्लो चुनाव पनि मदुरोले जितेपछि धाँधली गरेको, लागुपदार्थका तस्करसित मिलेमतो गरी अमेरिकामा लागुपदार्थ र हतियार तस्करी गरेको जस्ता आरोप लगाउन थाल्यो । जति धम्क्याए पनि मदुरो टसमस नभएपछिको परिणाम हो यो ‘अपरेशन अब्सोल्युट रिजल्भ’ । मदुरोमाथि अमेरिकाले अब यस्तै आरोपमा मुद्दा चलाउने तयारी गर्दै छ । नोरिएगालाई पनि लागुपदार्थ र हतियार तस्करी गरेको आरोप लगाई ४० वर्षको कैद सजायँ सुनाइएको थियो । पछि १७ वर्षमा झारियो । उनको निधन भइसकेको छ । सम्भवतः, मदुरो दम्पतीले पनि नोरिएगाकै नियति भोग्दै छ । 

अपदस्थ मदुरो ६४ र पत्नी सिलिया ७० वर्षका भए । सिलिया संसदको पूर्वसभामुख हुन् । लोकप्रिय नेता ह्युगो चाभेजको किचेन क्याबिनेटकी सदस्यसमेत थिइन् । भेनेजुयलापछि अमेरिकाको अर्को निशाना कोलम्बिया बन्न बेर छैन किनभने कोलम्बियाले पनि खुलेरै अमेरिकाको विरोध गर्दै आएको छ । त्यसो त, अर्जेन्टिनाबाहेक त्यस भेगका सबै मुलुकले भेनेजुयला र त्यहाँका निर्वाचित राष्ट्रपतिमाथि गरिएको अमेरिकी दुर्व्यवहारको विरोध जनाएका छन् । भेनेजुयलाका जनता अमेरिकाको विरोधमा सडकमा उत्रिसकेका छन् । बोलिभारियन मिलिसियाले त अमेरिकाविरुद्ध हतियार उठाउने घोषणा नै गरिसकेको छ । यो शक्ति ४५ लाखको हाराहारीमा छ । 

टिप्पणीहरू