धार्मिकस्थलमा आक्रमण, कारबाही जरूरी
धनुषाको मिथिला नगरपालिका–३ बेलचापीस्थित सतलोक आश्रममा लफडा भएको छ । आश्रम निर्माण भएको जग्गा नापजाँचको विषयमा विवाद हुँदा ११ जना घाइते भएका हुन् । हिजो बिहान ११ बजे केही व्यक्तिहरुले आश्रममा हिंसात्मक आक्रमण गरेका थिए ।
घाइते भएकाहरुलाई अस्पताल लैजाने क्रममा महेन्द्रनगरस्थित औरही पुलमा सोही समूहले पुनः आक्रमण गर्नुको साथै एम्बुलेन्स तोडफोड गरेका हुन् । ढुंगा लागेर एम्बुलेन्स चालकसमेत घाइते भएका छन् । पूर्णब्रह्म कबीर उपासुफ समाज, नेपालले विज्ञप्ति जारी गर्दै घटनामाथि घोर भर्त्सना जनाएको छ ।
आफ्ना असन्तुष्टि पोख्ने वैधानिक बाटो हुँदाहुँदै अराजकता फैलाउनेमाथि कारबाही गर्न समाजले जोडदार माग गरेको छ । ‘कानुनी राज्यमा आफ्ना असन्तुष्टि राख्ने वैधानिक माध्यम हुँदाहुँदै कानुन आफ्नै हातमा लिई अराजकता फैलाउने तत्वहरुमाथि सम्बन्धित निकायबाट कडाभन्दा कडा कारबाही गरियोस् भनि हामी जोडदार माग गर्दछौं’,विज्ञप्तिमा लेखिएको छ ।
त्यसैगरी, समाजले सो जग्गा वडा नम्बर–२ नक्टाझिझका लक्ष्मण महतो र जयलाल महतोले आध्यात्मिक कार्यका लागि दानमा दिएको प्रष्ट पारेको छ ।
‘हाल मिथिला नगरपालिका–२, बेलचापीमा पर्ने कित्ता नम्बर ३२, ३३ र ३५ को जम्मा २–५–१३ क्षेत्रफलको जग्गा साथै, सोही जग्गासँग जोडिएको उहाँहरुको स्वबासी भोगचलनमा रहेको केही जग्गासमेत धर्मार्थ प्रयोजनका लागि संस्थालाई आश्रम सञ्चालन गर्न दानस्वरुप प्रदान गर्नुभएको थियो’,विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू