भोलि बिहानसम्म अरु प्रतिनिधि थपिँदै
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि साँझसम्म ६२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन्। बिहान सवा ८ बजेदेखि प्रतिनिधिहरूको दर्ता सुरु भएको थियो। साँझसम्म ६२ प्रतिशतभन्दा बढी प्रतिनिधिले नाम दर्ता गराइसकेको जानकारी आयोजकले दिएका छन्।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशनको बन्दसत्र भोलि बिहान शुरु हुँदैछ । कांग्रेसका कुल ४,७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये हालसम्म २,९०० भन्दा बढीले नाम दर्ता गरेको बताइन्छ ।
विशेष महाधिवेशनका लागि सातै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर नाम दर्ता गरिएको छ । भोलि बिहानसम्म यो संख्या अझै बढ्ने सम्भावना छ । नाम दर्ताका क्रममा परिचय खुल्ने कुनै आधिकारिक कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र १,००० रुपैयाँ दर्ता शुल्क लिइएको छ ।
कांग्रेसमा गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए। कांग्रेस विधानको धारा १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको अवस्थामा तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ।

टिप्पणीहरू