गठबन्धन राेडम्याप : राष्ट्रिय सभापछि प्रतिनिधि सभा
माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टीबीच गठबन्धन हुने संकेत देखिएको छ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले तीन दलबीच छलफल अघि बढेको खुलाएका हुन् ।
पार्टीको १५औँ महाधिवेशनलाई लिएर चलिरहेको विवादबारे स्पष्ट पार्न सिटौलाले आज जमलस्थित एक होटलमा पत्रकार सम्मेलन गरेका थिए । सो क्रममा उनले राष्ट्रिय सभा निर्वाचनको लागि पार्टी उपसभापति पूर्णबहादुर खड्का र रमेश लेखकले एमाले र नेकपाका नेताहरुसँग छलफल गरिरहेको बताए । ‘एमाले र नेकपासँग तालमेल गरी जाने भन्ने विषयमा कार्यवाहक सभापतिजी र रमेश लेखकजीले कुराकानी गरिरहनुभएको छ’, उनले भने, ‘आज भोलिमा कुरा टुंगो लाग्छ होला, त्यसपछि कांग्रेसले कहाँ कहाँ उम्मेद्वारी दिने थाहा हुन्छ ।’
प्रतिनिधिसभाको निर्वाचनमा भने पार्टी एक्लै चुनाव लड्ने पक्षमा रहेको सिटौलाको भनाई छ । आज बस्ने कार्यसम्पादन समितिको बैठकले त्यसबारे पनि औपचारिक निर्णय गर्ने उनले जानकारी दिए ।
पार्टीको महाधिवेशनको सन्दर्भमा पनि सिटौलाले महामन्त्रीहरुले कार्यसम्पादन समितिको निर्णयलाई मान्नुपर्ने राय राखेका छन् । समितिले वैशाख अन्तिम साता नियमित महाधिवेशन गर्नेगरी कार्यतालिक पारित गरेको पृष्ठभूमिमा जबर्जस्ती विशेष महाधिवेशन गर्न खोज्दा कार्यकर्ता विभाजित हुने उनको भनाई छ ।
टिप्पणीहरू