पचास दिने भातको हिसाब

पचास दिने भातको हिसाब

एमालेको ११औं महाधिवेशनमा रामेछापका सुजन कार्की कसरी मनोनीत प्रतिनिधि भए होलान् ? एक जिल्लास्तरीय नेता भन्छन्, ‘सुजनलाई न हामीले सिफारिस गर्‍यौं न त ऊ अखिलको पूर्व पदाधिकारी हो ।’ जबकि उनलाई अखिलको पूर्वसचिव भनेर मनोनीत गरिएको थियो, उनी केन्द्रीय सदस्यसमेत भएका थिएनन् ।

भदौ २३–२४ को जेन्जी आन्दोलनताका पार्टी महासचिव शंकर पोखरेलको घर जलेपछि ५० दिनसम्म गाँस, बासको व्यवस्थापन गरेकै भरमा ऊ प्रतिनिधि भयो । अहिले रामेछापमा उनको अर्को नाम नै ‘५० दिने भात’ भएको छ ।  

सुजिताको जोड वाङ्छु, श्याम हेरेको हेर्‍यै !

‘युवा विद्यार्थी कमिटीमा सुजिता दिदीले भनेपछि १०० प्रतिशत हुन्छ श्यामजी, तपाइँलाई जसरी पनि मनोनित गर्ने हो, हामी सिफारिस गर्छौं, छोड्नुपर्‍यो’ भन्दै अध्यक्ष सुदर्शन शिवाकोटी र सचिवले उपाध्यक्ष श्यामकाजी खत्रीलाई पटकपटक फकाए ।  उपत्यका विशेष प्रदेश सचिव मिलन धरेलले त खत्रीलाई प्रतिनिधि नछोडे राजनीति धरापमा पारिदिने भन्न पनि बाँकी राखेनन् । 

उता इञ्चार्ज रमेश पौडेलले समेत ‘श्यामजीलाई लान हुन्न, उहाँले टिमभन्दा दायाँबायाँ गर्नुहुन्न’ भनेर अध्यक्ष/सचिवलाई निर्देशन दिए । जिल्ला अध्यक्ष र सचिवले उपाध्यक्ष श्यामकाजीलाई कन्भिन्स गर्न नसकेको रिपोर्टिङ गरेपपछि शाक्यले प्रदेश सचिव मिलन धरेल र उपसचिव उर्मिला सुनुवारलाई फोन गर्न लगाएर प्रतिनिधिको दाबी छोड्न भनियो । उता भानुभक्त ढकालले श्यामलाई जिल्लाबाटै लानुपर्छ भनेर कल गर्दा सुजिताले ‘मनोनीत गर्ने जिम्मा मेरो भयो’ भनेकी थिइन् । यो विषयमा माधव ढुङ्गेल मौन बसेपछि श्याम आगो भए । माधव २०७२ देखि २०७८ सालसम्म युवा परिषदको कार्यकारी उपाध्यक्ष हुँदा श्यामकाजी उनको स्वकीय सचिव थिए

रमेश र प्रकाश मनोनीत, तनावमा अध्यक्ष/सचिव 

सचिव नरेन्द्र न्यौपानेले रमेश भट्टराईलाई बरु म प्रतिनिधि जान्न, तपाईंलाई लान्छु भन्दै अन्तिमसम्म झुलाए । तर २०७४ मा केपी ओली प्रम हुँदा सचिवालयमा बसेको कारण गुण्डुमा एक्सेस बनाएका कारण भट्टराई मनोनीत भएर आए । उता प्रकाश भुजेल सुनिता बरालको स्वकीय सचिव थिए । कमिटीका निवर्तमान सचिव । गत वर्ष जिल्ला अधिवेशन हुँदा उनी जिल्ला कमिटीको उपाध्यक्ष बने होलान् भन्नेमा रहेछन् केपी ओली ।

केही समयअघि जनजाति नेताहरुसँग गुण्डु पुग्दा केपी ओलीले ‘जिम्मेवारी राम्रोसँग निर्वाह गरिएको होला नि’ भनी सोध्दा प्रकाशले ‘बा, मलाई उपाध्यक्ष पनि बनाएनन्, एक वर्षयता जिम्मेवारविहिन छु’ भनेर गलत रिपोर्टिङ गरेछन् । जबकि जिल्ला कमिटीको पाँचौं अधिवेशनमा श्यामकाजी खत्रीले १७१ मत ल्याउँदा प्रकाश भुजेलले ६३ मत पाएर पराजय भोगेका थिए । प्रकाश भुजेल त प्रतिनिधि बन्ने लिस्टमै थिएनन् । धेरै पापड पेलेर बल्ल मनोनीत हुन पाए ।

किन हुन सकेन निर्वाचन ?

जिल्ला अध्यक्ष सुदर्शन शिवाकोटीले श्यामकाजी खत्रीलाई फोन गरेर भने, ‘नरेफाँटको बर्गर हाउस आउनुस्, प्रतिनिधि छनोटबारे छलफल गरौं, सचिवज्यूलाई पनि बोलाएको छु ।’ श्यामकाजी हस्याङ्फुसुङ गर्दै पुगे । उनी पुग्दा अध्यक्ष र सचिव सँगै रहेछन् । सुदर्शनले अमेरिकानो सिंगलसट, नरेन्द्रले डबल सट र श्यामले क्यापुचिनोको चुस्की लिँदै महाधिवेशन प्रतिनिधिबारे छलफल थाले ।

अध्यक्षले शुरुमै अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव (महिला) विनिता काफ्ले ४ जना जाने, प्रदेश सदस्यहरु रमेश भट्टराई र वाङ्छु योञ्जनको जिम्मा सुजिता दिदीलाई दिने, इञ्चार्जको मान्छे रामजी सापकोटा लाने, यति गरेपछि सबै समेटिन्छ । बाँकी ३ जना मिलाएर लानुपर्छ भनी प्रस्ताव गरे, श्यामकाजीले खुशी हुँदै सहमति जनाए ।

निर्वाचन प्रमुख अधिकृतचाहिँ उपाध्यक्ष र सचिवको विश्वासपात्र प्रकाश श्रेष्ठलाई बनाइएको थियो । अन्य सदस्य ओखलढुंगाबाट काठमाडौं आएर वकालत गरिरहेका प्रकाश अधिकारी र सुशीला खड्कालाई बनाइएको थियो । यही सहमति गरेर बर्गर हाउसमा बैठक सकिएको थियो । सोही सल्लाहअनुसार प्रतिनिधि मनोनयन गर्दा शुरुमै श्यामकाजी र नरेन्द्रले दर्ता गरेका थिए । 

खास खेल मंसिर १२ गतेपछि शुरु 

उम्मेदवारी दर्तापछि एकल/दुईपक्षीय र सामुहिक छलफल शुरु भयो तर नेपथ्यमा अर्कै खेलो शुरु भएको कारण निर्वाचन र सहमति दुवै हुन सकेन । नेपाल कमर्स क्याम्पस मीनभवननजिकै एउटा कफीसपमा सचिवले ‘म प्रतिनिधि जान्न भनेर’ रामजी सापकोटा र प्रकाश भुजेललाई साक्षी राखेका थिए । 

अचानक धर्म गिरीको इन्ट्री !

उमेरहद लागेपछि अखिलबाट अवकास भएका पूर्व उपाध्यक्षको नाम एकाएक प्रतिनिधिमा आयो । उनी कमिटीमा कहीँ, कतै थिएनन् । यस्तो तर्क गरियो, ‘धर्मजीलाई महासचिवले जसरी पनि ल्याउनु भन्नुभएको छ, लानैपर्छ ।’ एक पदाधिकारीका अनुसार ‘सुदर्शन, धर्म, नरेन्द्र’ आदि बर्गर हाउस नरेफाँटका पार्टनर रहेछन् ।

(जनआस्था साप्ताहिकको पुस १६ गते बुधबारको अंकमा प्रकाशित)   

 

टिप्पणीहरू