गोरे र थापा हराए, हर्क फुत्त उदाए

गोरे र थापा हराए, हर्क फुत्त उदाए

जेनजी आन्दोलनपछि हर्क साम्पाङले जन्माएको श्रम संस्कृति पार्टी (माटो) विशेष गरी पूर्व क्षेत्रकेन्द्रित भएको छ । 

हिजो प्रजातन्त्रमा एकल नश्लीयवाद, नातावाद र भ्रष्टाचार भयो भन्दै राष्ट्रिय जनमुक्ति पार्टी उर्लिएजस्तै लोकतान्त्रिक गणतन्त्रमा पनि कायम सोही चरित्रविरुद्ध हर्कराज राई (हर्क साम्पाङ) कस्सिनु लोकतान्त्रिक गणतन्त्रभित्रको एउटा सुन्दर पक्ष हो । कसैलाई गालीगलौज नगरी जनतामाझ गए यो पार्टी स्थापित हुनसक्छ । 

सुन्दर शहर धरान उपमहानगरपालिकाको मेयर, जनतालाई पानीको प्यास मेटाउने हर्क आफैंमा श्रमिक हुन् । सुखसयल, सेमिनार, गोष्ठी, विदेश भ्रमण उनको प्राथमिकतामा परेन । दिनरात खोला, खोल्सीमा खट्दै गए । केही गर्छ त जनजाति नेताले नै गर्छ भन्दै राई, लिम्बूलगायत केही आदिवासीले उनको कुरा र कामप्रति सहयोग गर्न थाले । 

२०५० देखि ०५८ सम्म राष्ट्रिय जनमुक्ति पार्टीको अवस्था पनि हर्क साम्पाङको दलभन्दा कम थिएन । जहाँ गोरेबहादुरले माइक समाउँथे, त्यहाँ हजारौं रैथाने आदिवासी जनजाति भेषभूषामा गीत नृत्य लिएर आउँथे । फूलका गुच्छा चढाउँथे । साँझ आदिवासी परिकार घुँगी खुवाउन आ–आफ्नो घर लैजान तँछाडमछाड हुन्थ्यो । हङकङ, सिंगापुर, भारत र युकेका आदिवासी जनजातिले सभा सम्मेलन गर्न, झण्डा, टिसर्ट र नेतालाई खान, बस्न खर्च पठाउँथे । 

त्यो बेला जनमुक्तिले भ्रष्टाचारीको सम्पत्ति जफत गरेर राज्यको ढुकुटीमा जम्मा गर्ने, त्यस रकमले कलकारखाना सञ्चालनमार्फत् स्वदेशमा रोजगारको व्यवस्था गर्ने । संसदमा पूर्ण समानुपातिक प्रतिनिधित्व, सेना, प्रशासनदेखि निजामती क्षेत्रमा जातीय जनसंख्याका आधारमा सहभागिता, धर्मनिरपेक्षता साथै प्रान्तीय राज्यको पूर्ण व्यवस्थाजस्ता सिद्धान्त राखिएको थियो ।

उनलाई म्यानमार, भुटान र बंगलादेशलगायतबाट राजनीतिक दलहरुले शुभकामना सन्देश पठाउँथे । आज राष्ट्रिय जनमुक्ति पार्टी त छ तर लोकप्रियताबाट अलिक टाढा हुँदै पुगेको छ । आफूविरुद्ध लाग्नेलाई ठाउँका ठाउँ कारवाही हुन थालेको छ । गणतन्त्रको पक्षमा माइक समात्दा सञ्जुहाङ पालुङ्वा जस्ता नेताहरु फ्याँकिएका छन् । कुमार लिङदेनहरु अलग पारिएका छन् । फलतः पूर्वमा संगठन खिइसक्योे । 

हिजो यत्रो उभार आएको, नीति, सिद्धान्त भएको, संसदमा प्रतिनिधित्व गरेको, मन्त्रिमण्डलमा पुगेको पार्टी आज मासिँदै जानुको कारण के होला ? संगठन निर्माण गर्न नसकेर हो या नेतृत्वको एकलौटी निर्णय ? त्यही शैलीमा श्रम संस्कृति पार्टी पनि पूर्वमा मज्जाले उम्रँदैछ । जहाँ गयो त्यहीँ माटो, जहाँ गयो त्यहीँ हर्कवाद, जहाँ गयो त्यहीँ जनता ।

ताप्लेजुङ होस् या पाँचथर फिदिम, इलाम होस् या झापा नै किन नहोस् प्रदेश नम्बर १ मा हर्क साम्पाङ भनेपछि थुप्रै सज्जन सहभागी भई भाषण सुन्ने गरेका छन् । विशेषगरी जनमुक्ति, मंगोल र लिम्बूवान, केही एमाले, कांग्रेस र माओवादी पूर्व कार्यकर्ताहरु त्यस पार्टीमा भेटिन्छन् । पछिल्लो पटक रेशम चौधरीनिकट जनजातिहरुको नजर पनि त्यतै गएको पाइन्छ । सभा, सम्मेलनमा यस्तो जमघट हुँदा गोरेबहादुर र एमएस थापाको शैली स्मरण हुन्छ तर हर्कवादले नयाँ विचार, नीति, सिद्धान्त प्रतिपादन गरेको पाइँदैन । हुन त नयाँ नीति होला हर्कको– ‘श्रम गरौं र स्वाभिमानसँग बाँचौं, भ्रष्टाचारीलाई देश निकाला गरौं’ भन्ने तर आमबुद्धिजीवीको नजरमा यतिले मात्र पुग्दैन । 

छोटो समयमै जनताको नजरमा त प¥यो तर पार्टीमा एकल निर्णय हावी छ । बुटवल भेलामा हर्क पक्षले संयमता नअपनाउँदा उपाध्यक्ष डा. मित्र परियारमाथि कारवाही हुनु, राज्य पक्षबाट अर्का उपाध्यक्ष राजकुमार लामा समातिँदा उचित छानबिन नै नगरी निलम्बन गर्नु, तमाम कार्यकर्ताले सुझाव दिँदा कम सुन्नुले हर्कवादलाई भविश्यमा ठेस लाग्ने खतरा छ । 

हर्क पथले नीति, सिद्धान्त र जनतालाई समेट्न सक्ने दस्तावेज छर्न जरुरी छ । सर्वोच्च नेतामा सुन्न र सुनाउन सक्ने क्षमता हुनैपर्छ । सुनाउन मात्र खोजियो भने व्यक्ति वा दल टिक्न सक्दैन । नगर चलाउनु र मुलुक हाँक्नुमा धेरै अन्तर छ । प्रदेश नम्बर १ अत्यधिक आदिवासी जनजातिसँगै प्राज्ञिकहरु बस्ने थलो हो भने ब्राम्हण, क्षेत्रीहरुको पनि बासस्थान हो । बौद्धिक सनातनदेखि किरात सभ्यतासँगै अत्यधिक मठमन्दिर र ठुल्ठूला नदी, तलाउ यहीँ छ ।

यस्तो ठाउँमा जेनजी आन्दोलनपछि उदाएको पार्टीले फराकिलो विचार दिन सक्नुपर्छ । ब्राम्हणवादविरुद्ध धावा बोल्ने भन्दा पनि श्रम संस्कृतिवादलाई उज्यालो पार्नतर्फ केन्द्रित हुन जरुरी छ । छोटो समयमा अन्य दल पनि उदाएका छन्, तिनीहरुलाई वाण हानेर रमाउनुभन्दा श्रम संस्कृति पथभित्र कसरी अटाएर लैजान सकिन्छ भन्नेतर्फ लाग्न उचित देखिन्छ । 

ठूला दलहरुको हैकमबाट जनता आजित भइसकेका छन् । कति सुध्रिएर फेरि एकताबद्ध हुँदै जनतामाझ आइरहेका छन् त कति पुरानै ढाँचामा जेनजीविरुद्ध कराइरहेका छन् । हर्क पक्षले पनि नयाँ शैली र समान भाव, विचार दिन सकेन भने अहिले प्राप्त गरेको सांकेतिक सकरात्मक भेला भोलि जनमुक्तिभन्दा चाँडो खिइन सक्छ । चेतना होस् ।

(जनआस्था साप्ताहिकको पुस १६ गते बुधबारको अंकमा प्रकाशित)  


 

टिप्पणीहरू