मधेश मिल्दा फुत्त महन्थ

मधेश मिल्दा फुत्त महन्थ

जनताको हितभन्दा बढी पारिवारिक स्वार्थलाई महत्व दिएपछि जनता समाजवादी पार्टी नेपालका नेता अशोक राई एक्लिँदै गएका छन् । कुनै बेला एमालेमा प्रभावशाली नेताको छवि बनाएका राईले पार्टी फुटाउने काममा महारथ हासिल गरेपछि यस्तो अवस्था आइलागेको हो ।

स्रोतका अनुसार एमालेको बुटवल आठौं महाधिवेशनबाट एकता पक्षधरको रूपमा चिनाउँदै उपाध्यक्ष चुनिएका उनको ओरालो यात्रा जेनजी आन्दोलनसँगै शुरु भएको छ । बुटवलमा अन्तरपार्टी द्वन्द्व चर्किएको बेला मध्यस्थकर्ता जस्तै देखिएर कार्यक्रम उद्घोषकको भूमिका पाएका थिए । महाधिवेशनका प्रतिनिधिले सर्वाधिक मतसहित उपाध्यक्षमा जिताए पनि केही वर्ष नबित्दै पार्टी विभाजनतिर लागे । 

जानकारहरूका अनुसार ०५१ सालमा मनमोहन प्रधानमन्त्री हुँदाका यातायातमन्त्री उनी झलनाथ खनाल प्रधानमन्त्री भएको बेला सल्लाहकार बन्न बालुवाटारतिर बारम्बार धाउँथे । सुरेन्द्र पाण्डे र भीम रावल कन्भिन्स भई कुरा राख्दा खनालले टिममा राख्न मानेनन् । त्यसपछि पार्टी फुटाउँदै उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनाधिकार फोरम र  जनता समाजवादी पार्टीमा रहे ।

पछिल्लोपटक केपी ओली प्रधानमन्त्री हुँदा रेणु यादव र प्रदीप यादवको सहयोगमा जसपालाई पनि विभाजन गरे । यसनिम्ति केपी ओलीले राईलाई सहयोग गरेका थिए । प्रक्रियागत रूपमा विभाजनको टुङ्गो लागेपछि एमालेमा पार्टी विलय गर्ने तयारी थियो । यसैबीच, जेनजी आन्दोलनपछि एमालेसँग हुने एकता र सहकार्य टुटेको छ भने उनलाई पार्टी फुटाउन सघाउने रेणु र प्रदीपहरूले पनि छाडेका छन् । 

त्यसपछि एक्लिएका राईले रेशम चौधरीको काँध चढेर राजनीतिको वैतरणी तर्ने सुरसार गरेको स्रोतको दावी छ । यस्तो बेला पनि उनले समानुपातिक सूचीमा श्रीमती सुशीला श्रेष्ठको नाम राखेका छन् । रेशम चौधरीले राष्ट्रिय मान्यता पाएको अवस्थामा एक सिट भए पनि समानुपातिक सांसदको सिट प्राप्त गर्छ र त्यसमा श्रीमतीलाई सांसद बनाउन सकिने हिसाव निकालिएको छ । यो सूची देखेपछि कतिपय जनजाति नेताले अबचाहिँ अशोक राईलाई नेता मान्न सकिँदैन भन्ने निश्कर्षसहित सो पार्टी त्यागेको घोषणा फेसबुकबाटै गरेका छन् । 

महन्थ पक्का माननीय

लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुर र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबीच एकीकरण भएपछि महन्थ ठाकुरले माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवारी दिने तय भएको छ । कांग्रेस, लोसपा र नेपाली कम्युनिष्ट पार्टीले समर्थन गर्न तयार भएपछि उनले जित्ने अवस्था देखिएको हो । सँगै प्रमुख दलहरूले सहमति जुटाएरै चुनावमा जान घनीभूत छलफल चलाइरहेका छन् । 

मधेसवादी नेता शरद्सिंह भण्डारी र सर्वेन्द्रनाथ शुक्लाले महत्वपूर्ण भूमिका खेलेपछि ठाकुरले लोसपालाई जसपासँग मिलाएका हुन् । शुक्लाले एक्लै चुनाव हाँक्न सक्ने अवस्था नदेखेको र भण्डारी पनि जेनजी आन्दोलनपछि कमजोर बनेका थिए । यसबाट एकीकरणको प्रत्यक्ष फाइदा पाउने व्यक्ति ठाकुर हुन पुगेका छन् । यो निर्वाचनका लागि दुई हजार ४३ प्रारम्भिक मतदाता कायम भएका छन् । जसमा प्रदेश सभा सदस्यसहित ५४५ पालिकाको मेयर÷अध्यक्ष र उपाध्यक्ष गरी १४९८ जना रहेका छन् । प्रदेश सभा सदस्यका लागि ४८ मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको मतभार १९ छ । 

(जनआस्था साप्ताहिकको पुस २३ गते बुधबारको अंकमा प्रकाशित)   

टिप्पणीहरू