एसईईको परीक्षा केन्द्र तोक्न निर्देशन

एसईईको परीक्षा केन्द्र तोक्न निर्देशन

राष्ट्रिय परीक्षा बोर्डले ‘माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८२’ का लागि परीक्षा केन्द्र निर्धारण गर्न निर्देशन दिएको छ । बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले सबै जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गर्दै पुस मसान्तभित्र परीक्षा केन्द्र निर्धारण गरेर माघको पहिलो साताभित्र विवरण पठाउन भनेको हो । 

परीक्षा केन्द्र निर्धारण गर्दा ‘माध्यमिक शिक्षा उत्तीर्ण तथा व्यवस्थापन निर्देशिका (संशोधनसहित) २०६८’ मा भएका व्यवस्थाहरु कडाइका साथ पालना गर्न निर्देश गरिएको छ । दुर्गम–हिमाली क्षेत्रमा कम्तीमा १५०, पहाडी क्षेत्रमा कम्तीमा २५० र तराई वा उपत्यकामा तीन सयभन्दा कम र चार सयभन्दा बढी विद्यार्थी नहुनेगरी परीक्षा केन्द्र कायम गर्न भनिएको छ । 

एउटा जिल्लामा कम्तीमा एउटा परीक्षा केन्द्र अनिवार्य कायम गरिनुपर्ने कार्यालयले जनाएको छ । विद्यार्थीको संख्यामा आधारमा रकम उपलब्ध हुने उल्लेख गर्दै कार्यालयले कम विद्यार्थी रहनेगरी केन्द्र कायम भएमा त्यसको सम्पूर्ण जिम्मेवारी इकाईले लिनुपर्ने प्रष्ट पारेको छ । होम सेन्टर र पारस्परिक केन्द्र नहुनेगरी परीक्षा केन्द्र निर्धारण गर्न सचेत गराइएको छ । 

हरेक केन्द्रमा दुई वा सोभन्दा बढी विद्यालयका विद्यार्थी हुनुपर्ने र एउटै विद्यालयलाई पटकपटक एउटै केन्द्र नपर्ने गरी केन्द्र तोक्न भनिएको छ । प्राविधिक विद्यालयको हकमा अलग्गै परीक्षा केन्द्र कायम गर्नुपर्नेछ । सरकारले यस वर्ष एसईईका लागि आवेदन फाराम खुलाईसकेको छ ।

टिप्पणीहरू