प्रदीप ज्ञवालीविरुद्ध यस्तरी लगाइएछ पोल
एमालेको ११ औं महाधिवेशनबाट महासचिव हुने लाइनमा थिए, उपमहासचिव प्रदीप ज्ञवाली । भदौ २३ को जेनजी आन्दोलनपछि फेरिएको राजनीतिक परिवेश र नेतृत्वमाथि उठेको प्रश्नको निराकरण गर्न पनि आफ्नो उम्मेदवारी रहने कुरा निकटहरूलाई बताउने गरेका थिए तर ओलीले महासचिवमा शंकर पोखरेललाई नै अगाडि बढाए । ज्ञवाली रुष्ट भएर उपाध्यक्षको उम्मेदवार नै भएनन् । केन्द्रीय सदस्यमा मात्र नोमिनेशन गरेर घर गई सुते ।
‘नव युवाहरूले उठाएको मुख्य सवाल राजनीतिक दलहरूमा पुनर्गठन हुनुपर्छ भन्नेबारे अध्यक्षज्यू र मवीच धेरैपटक छलफल भएको छ ।’ ज्ञवालीले निकटहरूसँग भनेका थिए, ‘मूल नेतृत्व परिवर्तन भएन भने पनि महासचिव यसपटक परिवर्तन हुन्छ, दुई कार्यकारीमध्ये एक परिवर्तन हुँदा सकारात्मक सन्देश जान्छ ।’ ओलीसँग भएको संवादका रोचक किस्सासमेत ज्ञवालीले सुनाएका थिए । ‘अध्ययनशील, समन्वयकारी र विचारको सही विश्लेषण गर्ने कविजीलाई महासचिव बनाएर जाँदा राम्रो हुन्छ भन्ने सोचेको छु ।’ ओलीले भनेको प्रसंग सुनाउँदै ज्ञवालीले थपेका थिए, ‘नेताहरू घरबाट निस्कन डराइरहेको बेला देशभरका कार्यक्रममा हिडिँरहेको छु, अध्यक्षज्यूले त्यहीअनुसार मुभ गराइरहनुभएको छ, यो सन्देश महासचिव हुने गरी तयार गरिएको वातावरण हो ।’
ज्ञवालीले भनेजस्तै ओलीले केही सन्देश पनि दिइरहेका थिए, अबको महासचिव को हुन्छ भन्ने सवालमा । मंसिर २७ गते सल्लाघारीमा उद्घाटन कार्यक्रम सञ्चालनको जिम्मा प्रदीप ज्ञवालीले पाए । महासचिव शंकर पोखरेलले स्वागत मन्तव्य राखे । भदौको विधान महाधिवेशनमा पनि ओलीको राजनीतिक प्रतिवेदन ज्ञवालीले नै वाचन गरेका थिए । त्यो प्रतिवेदन वाचन मात्र होइन, लेखनमा समेत ज्ञवाली संलग्न थिए ।
महाधिवेशन उद्घाटन सत्रलगत्तै उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्यहरू खगराज अधिकारी, भानुभक्त ढकाल र राजन भट्टराईले ओलीलाई भेटेर महासचिवमा शंकर पोखरेललाई दोहोर्याउन दवाव दिए । शंकर पोखरेलको सचिवालयमा तयार गरिएको महाधिवेशन प्रतिनिधिहरूको विश्लेषणात्मक रिपोर्ट हातमा लिएर विष्णु रिमालले ओलीसँग ‘बार्गेनिङ’ नै गरेको ओली निकट स्रोतले बताएको छ ।
सोही विश्लेषणमा खटिएका एक नेताका अनुसार चार समूहमा महाधिवेशन प्रतिनिधिहरूलाई वर्गीकरण गरिएको थियो । ईश्वर पोखरेलको प्यानलगत मत, ओली समूहको प्यानलगत मत, विष्णु पौडेल, पृथ्वीसुब्बा, पद्मा अर्याल र छविलाल बिकको समूहगत मत र प्रदीप ज्ञवालीको व्यक्तिगत मतका आधारमा रिमालहरूले लिष्ट तयार गरेका थिए । ‘त्यही लिष्ट देखाएर जसरी पनि १५ सय मत शंकर पोखरेलले ल्याउनेमा विष्णु रिमालले ओलीलाई कन्भिन्स गराएका थिए ।’ ओली निकट स्रोतकाअनुसार विष्णु रिमालले शंकर पोखरेलले जित्ने आधार राख्दा ईश्वर पोखरेल समूहसँग मत साँट्न सकिने आधारहरू देखाएका थिए । ‘विष्णु पौडेल र प्रदीप ज्ञवालीले असहयोग नै गरेको खण्डमा अर्को समूहसँग मत साँटेर भए पनि जित निकालिन्छ, शंकर पोखरेलका लागि हजुर तयार हुनुस् ।’ विष्णु पौडेललाई उपाध्यक्षमा रोक्नसमेत सकिने गरी तयार हुनुपर्ने तर्क रिमालको थियो, ‘आधिकारिक उम्मेदवारका विरुद्ध उहाँहरू प्रस्तुत हुनुभयो भने त्यहीअनुसारको रणनीति बनाएर महासचिव जिताउँछौं ।’
शंकर पोखरेललाई महासचिव दोहोर्याउन सकिए १२ औंमा आफ्नो टिम बलियो हुने तर्क यो पक्षको थियो । त्यहीअनुसार सचिवका उम्मेदवारहरू छानिएको ओली निकट स्रोतले बताएको छ । ९ जना सचिवमध्ये ७ जना शंकर पोखरेल समूहमा रहेकाहरूलाई त्यसैअन्तर्गत राखिएको हो । यता प्रदीप ज्ञवालीका नकारात्मक पोल पनि रिमालले ओलीलाई लगाएको बताइएको छ । पार्टी पुनर्गठन हुनुपर्छ भन्ने जेनजीको माग हो भनेर ओलीलाई कमजोर बनाउन खोजेको, २४ गते बिहान प्रधानमन्त्री ढिला उठेका कारण रणनीति बनाउन नपाएको, ओली र सेना प्रमुखबीच भएको नोकझोंक बाहिर ल्याएको जस्ता आरोप थोपरिएको ज्ञवाली निकट स्रोतले बताएको छ ।
‘कविजी अलि बढी उत्साहित हुनुभयो जस्तो छ,’ महासचिवको दाबी कायम रहेको बताउन गएका ज्ञवालीलाई ओलीले सुनाएका थिए, ‘टिमभित्र भएका कुरा बाहिर आएको, गोपनीयता नभएको जस्ता कुरा साथीहरूले सिरियस्ली उठाउनुभएको छ ।’ ओली यत्तिमा रोकिएनन्, किन शंकरलाई महासचिव बनाउनुपर्यो भनेर सम्झाउन पनि खोजे, ‘शंकरबाहेकलाई महासचिव बनाउँदा अध्यक्ष झन् कमजोर हुने कुरा साथीहरूले राखे र म कन्भिन्स भएँ, तपाईंलाई महासचिव बनाउँदा टिम एक रहने ग्यारेन्टी भएन, टिम एक रहन्छ त ?’ जब टिमको कुरा सुनाए तब उनी केही नबोली गुण्डुबाट हिँडे । ‘महासचिवबाहेक अरू पदाधिकारीमा नउठ्ने कुरा अध्यक्षलाई पहिला नै भनेको थिएँ, शंकरजीलाई पनि यो कुरा थाहा थियो ।’ ज्ञवालीले निकटहरूलाई भनेका छन्, ‘जुन टिममा म सधैँ रहेँ, त्यही टिम देखाएर जब अपमान गर्न खोजियो, मेरो मन टुट्यो र घरतिर लागेँ ।’
विष्णु रिमालको उक्साहटमा ओलीले गरेको अपमान खेपेका ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिए र सर्वाधिक मतका साथ विजयी भए ।
यस्तै बानीका कारण को महासचिव बन्छ भन्ने अन्तिमसम्म अन्योल थियो । शंकर पोखरेल दोहोरिँदा विष्णु पौडेल र पृथ्वी सुब्बाहरूले हराउन भूमिका खेल्ने, प्रदीप ज्ञवालीले पनि भित्रभित्रै असहयोग गर्नसक्ने आंकलन शंकर पोखरेल निकटहरूले गरेका थिए । ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डे उठ्ने चर्चासँगै यो समूह निकै आत्तिएको थियो । महाधिवेशनलाई लक्ष्यित गरी शंकर पोखरेलनिकट सरोज यादवलाई मुख्यमन्त्री बनाउन खोज्दा मधेश प्रदेशमा सभामुख र प्रदेश प्रमुखसमेत एमालेले गुमाएको छ । उनै सरोजले मधेशका प्रतिनिधिहरूको खाने, बस्ने र पकेट खर्चसमेत मिलाउने जिम्मा लिएका थिए । शंकर पोखरेललाई महासचिव जिताउन उपत्यका विशेषबाट खटिएका एक नेताका अनुसार आमनिर्वाचनमा भन्दा बढी पैसा यसपटक खर्च भएको छ ।
एमालेनिकट कर्मचारीहरूबाट पचास हजारका दरले उठाइएको थियो । एमालेको सरकार हुँदा महत्वपूर्ण मन्त्रालय, कार्यालयमा खटिएकाहरूसँग विशेषगरी रकम उठाइएको हो । ‘भगवती दिदी सामान्य प्रशासनमन्त्री भएका बेला म यो कार्यालयमा आएको हुँ, मेरो एक रूपैयाँ खर्च भएको छैन र कुनै गलत गरेर कमाइ गरेको पनि छैन तर मैसँग पचास हजार मागियो ।’
एमालेनिकट कर्मचारी संगठनमा आबद्ध एक अधिकृत भन्छन्, ‘अधिकृतको तलबभन्दा बढी पैसा कसरी दिने भनेर प्रश्न गर्दा धम्की नै आउन थाल्यो– ‘कि संगठन त्याग्नुपर्यो कि पैसा दिनुपर्यो । यसरी उठाएको पैसा महासचिव जिताउन सुजिता शाक्यलाई दिएको भन्ने सुनेँ ।’ उनले भने, ‘प्रेम पराजुलीसँग सम्पर्क नभएपछि एकजना नेताले उपत्यका विशेषका सचिव मिलन धरेललाई फोन गर्नुभएको थियो । यसरी उठाएको पैसाको प्रसंग निकाल्नासाथ महासचिवले जितेपछि सबैकुरा ठीक हुन्छ, जिताउन लागौं, अरू पछि समीक्षा गरौँला भन्नुभयो ।’
कर्मचारीबाट उठाएको रकम सुन्धारा, ठमेल, एयरपोर्टतिरका होटलमा खर्च भएको केही नेतालाई जानकारी छ । ‘महाधिवेशन प्रतिनिधिहरूलाई आवास र यातायातमा सजिलो व्यवस्था होस् भनेर सुजिता कमरेडले महासचिवको तर्फबाट दिनुभएको पैसामा हाम्रो पनि योगदान छ ।’
उपत्यका विशेषमा रहेका उद्योगी, व्यवसायीसँग पनि रकम उठाएको एक नेताले बताए ।
(जनआस्था साप्ताहिकको पुस ९ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू