मुहार फेर्नलाई उठ !
– सिंहराज
नेकपा (एमाले) को ११ औं महाधिवेशन सम्पन्न भयो । पुरानै अध्यक्ष केपी ओलीलाई नयाँ पारेर निर्वाचित गरियो ! धेरै कार्यकर्ताले भनिरहेका थिए, अबको चुनावमा केपीलाई बोकेर जान सकिन्न । चुनावको लागि केपीको मुहारै ठीक छैन । त्यसैले नयाँ मुहार चाहिन्छ ।
नयाँ मुहार निकालौं भनेर महाधिवेशन भएको थियो । तर पुरानै मुहार आयो । नवौंमा जुन मुहार आएको थियो, दशौंमा पनि त्यही मुहार, एघारौंमा पनि त्यही मुहार । महाधिवेशनले पुरानै मुहारलाई जितायो । तर जितको खुशियालीमा कार्यकर्ताहरू गाउँदै थिए –
...यो देशको मुहार फेर्नलाई उठ !
अस्ति सबैले देख्नुभएकै होला । माइक अगाडि ओली थिए । दायाँबायाँ झोली थिए । ओली र झोली दुबै मिलेर गाइरहेका थिए–
गाउँ गाउँबाट उठ
बस्ती बस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ !
मतदान राति भएको थियो । त्यसैले कार्यकर्ता कोही सुत्न पाएनन् । रातभरि उठेरै बसे । भोट हाल्न कार्यकर्ता उठिरहेकै थिए । राति चुनाव भएपछि नउठेर के गर्नु त ! तर, ओली भनिरहेका थिए– गाउँ गाउँबाट उठ ! तर कार्यकर्ता राति उठेको काम लागेन । किनभने महाधिवेशनले एउटा अध्यक्षको मुहारसम्म पनि फेर्न सकेन । जसले एउटा अध्यक्षको मुहार फेर्न सकेन, उनीहरूले देशको मुहार फेर्ला भनेर कसरी पत्याउने ?
टिप्पणीहरू