वामको मुख्य काम
आठ वटा कम्युनिष्ट घटकहरू बीच फेरि एकता हुने भएछ । यो संसारकै लागि एकताको एउटा ठूलो उदाहरण हो । आठ–आठवटा पार्टी एक ठाउँमा आउनु सानो कुरा होइन । नेपालका कम्युनिष्ट पार्टीहरूले बेलाबखत यस्तो उदाहरणीय एकता गरिरहेकै हुन्छन् । अझ भनौं भने विश्वमा सबैभन्दा बढी एकता गर्ने पार्टी भनेकै नेपालका कम्युनिष्ट पार्टी हुनुपर्छ ।
यी पार्टीहरू एकता बढी गर्छन्, किनभने फुट पनि उनीहरू नै बढी गर्छन् । फुट भएपछि एकता चाहियो, एकता भएपछि फुट चाहियो । नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास भनेकै फुट र एकताको इतिहास हो भन्छन् । अहिले पनि हेर्नोस्, एकताको कुरा चल्नासाथ एकताभन्दा पहिले फुट शुरु भइसक्यो । माधव नेपालबाट झलनाथ फुटे, झलनाथबाट घनश्याम छुटे । अब हेर्दै जानुस्, घनश्यामबाट पनि ‘घन’ र ‘श्याम’ फुट्न बेर छैन । उता प्रचण्डबाट जनार्दन टुटे ।
पार्टीको फुटपछि फुटेर मात्र पुग्दैन । फुटपछि त्यसको गतिलो व्यवस्थापन गर्नुप¥यो । नेता, पद विभाजन, कार्यालय, कार्यकर्ता भेला आदि आदि । जब पार्टीले फुटपछि एउटा गति समाउँछ, त्यसपछि फेरि एकता शुरु हुन्छ । एकतापछि फेरि त्यही व्यवस्थापन । यसरी फुट र एकताको व्यवस्थापन गर्दा गर्दा कम्युनिष्ट पार्टीले अरु केही काम गर्न पाउँदैनन् । मुख्य काम भनेकै त्यही– फुट्ने, एकता गर्ने । एकता गर्ने, फुट्ने । कहिलेकाहीँ चुनाव आउँदा भाग लिने त छँदैछ । नभए त त्यही हो । अहिले पनि त्यही त भएको होला नि, होइन र ?
टिप्पणीहरू