विचार नयाँ, नेता पुरानै
सायद जेनजी आन्दोलनकै दबाबले हुनुपर्छ, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एकताको बाटोमा लागेका छन् । दुई पार्टी एक बन्ने बाटोमा छ भन्दा हुन्छ ।
दुई पार्टी एक भएपछि पार्टीको नाम नयाँ आउँछ, सिद्धान्त पनि नयाँ आउँछ र चुनाव चिह्न पनि नयाँ आउँछ । बाँकी रहने भनेको उही नेता मात्रै हो । अर्थात् पार्टीको नाम, सिद्धान्त र चिह्न सबै नयाँ आउँछ । नेताचाहिँ पुरानै आउँछ । नेता नयाँ आउँदैन ।
अर्थात् यो एउटा यस्तो एकता हो जसले पार्टीका सबै पुरानो कुरा फाल्छ । विचार फाल्छ, नाम फाल्छ, चिह्न पनि फाल्छ । नेताचाहिँ फाल्दैन । नेता सबै पुरानै कायम रहन्छ । जेनजी आन्दोलनकारीलाई पनि नयाँ कुरा चाहिएको थियो । सधैंभरि पुरानो मात्र हेर्दा हेर्दा वाक्क लागिसकेको रहेछ । त्यसैले उनीहरू नयाँको खोजीमा छन् ।
शायद जेनजीहरूको खोजलाई साकार पार्नकै लागि होला, अहिले नयाँ नाम, नयाँ विचार र नयाँ चिह्न आउन लागेको । यति धेरै नयाँ आइसकेपछि नेता पुरानै भए पनि के भो र !
टिप्पणीहरू