महेशजी, अझै बाँकी छ गोकुलसँग रिस !

महेशजी, अझै बाँकी छ गोकुलसँग रिस !

एमाले सचिव महेश बस्नेतले गत मंगलबार साँझ बाग्मती प्रदेश कमिटीले आसन्न निर्वाचनका लागि सिफारिस गरेका नेताको नाम फेसबुकमा सार्वजनिक गरे । त्यो पोष्ट लेख्दै गर्दा पूर्वमन्त्री गोकुल बाँस्कोटासँगको पुरानो दुश्मनी नसकिएको प्रष्ट संकेत पनि देखाए । 

काभ्रे २ गोकुल बाँस्कोटाको क्षेत्र हो । २०७४ र २०७९ का २ वटा चुनाव गोकुलले यहीँबाट जितेका हुन् । जिल्लाबाट आएका नाममा केही थपघट गरेर बाग्मती प्रदेश कमिटीले केन्द्रमा नाम सिफारिस गर्ने निर्णय मंगलवार भएको थियो । गोकुल बाँस्कोटा उठ्ने क्षेत्र काभ्रे १ रहेको महेशले फेसबुकमा लेखे । यसप्रति धेरैले विरोध जनाए । त्यसपछि सम्पादन गरेर काभ्रे २ मा राखे । भन्नलाई सामान्य टाइप मिस्टेक भनिए पनि गोकुल र महेशबीचको लडाइँ अहिलेसम्म कायम रहेको र त्यही कुरा महेशबाट लेखिएको एमाले नेताहरूको टिप्पणी छ । 

‘केपी ओलीको असली छोरा को हो भनेर विगतमा दुई जना लड्नुभयो, अनेक खालका तिकडम गर्नुभयो ।’ दुवै जनासँग नजिक रहेका एक पोलिटब्युरो सदस्य भन्छन्, ‘झगडा साम्य भएको छैन है भनेर नेता–कार्यकर्तालाई महेशजीले भन्न खोज्नुभएजस्तो लाग्छ ।’ नेताहरूको फोन नै आउन थालेपछि महेशले गोकुलको नाम सच्याएको उनले जानकारी दिए ।

हुन पनि भक्तपुरका कार्यालय प्रमुख, कर्मचारीहरू गोकुलले सरुवा गर्न खोज्दा महेशले काँध थाप्ने, महेशले सरुवा गर्न खोज्दा गोकुलले काँध थाप्ने गरिरहेका छन् । ‘कर्मचारी सरुवा गर भनेर गोकुलजीले भन्नुभयो, त्यही कर्मचारी थमौती गर भनेर महेशजी मन्त्रालय आउनुभयो ।’ ओली मन्त्रिपरिषद्मा रहेका एक मन्त्री भन्छन्, ‘दुई जनाको लडाइँले मन्त्रीहरू पनि वाक्क हुनुपरेको थियो ।’ गोकुललाई काभ्रेमा यसपटक जसरी पनि चुनाव हराउने गरी गतिविधि महेशले सञ्चालन गरिरहेको युवासंघका एक नेताले बताए । गोकुल मात्र होइन, दोलखाका नेता पार्वत गुरुङलाई समेत सके टिकटमा रोक्ने, नभए हराउने नीतिमा महेश रहेको नेताहरूको दावी छ । 

‘महेशजी जनसंठन संयन्त्रको संयोजक, नभए राजधानी विशेषको संयोजक हुन चाहनुभएको थियो ।’ एमालेका एक पदाधिकारी भन्छन्, ‘शंकर पोखरेल बाधक भएपछि बाग्मती संयोजक हुनुपरेको बुझाइमा महेशजी हुनुहुन्छ र त्यसको प्रतिशोध पार्वत गुरुङमाथि साँध्ने योजना छ ।’ 

एमाले नेताहरूकाअनुसार शंकर पोखरेललाई शक्तिशाली बनाउन पार्वतले मिहिन तरिकाले काम गरेको, गुटको आन्तरिक छलफलमा बरु मलाई पद चाहिन्न जसरी पनि शंकर पोखरेललाई महासचिव बनाउनुपर्छ भनेर आन्तरिक दवाव सिर्जना गरेको कारण आफ्नो सचिव पद धरापमा पर्ने वातावरण गुरुङले निर्माण गरेको बुझाइ महेशको छ । महेशकै योजनाअनुसार पार्वत दोलखाबाट एकल सिफारिस हुन सकेनन् । जिल्ला कमिटीले गुरुङलाई एकल सिफारिस गरे पनि बस्नेतकै योजनामा केही नेताले गुरुङविरुद्ध पत्रकार सम्मेलन गरेको दोलखाका एक नेताले बताए । उनका अनुसार जर्मन होम्सका मालिक बालकृष्ण शिवाकोटीलाई जसरी पनि टिकट दिलाउने जिम्मा बस्नेतले लिएका छन् ।

‘महेशजीको जमघट हुने ठाउँ जर्मन होम्स हो, त्यहाँका साहुजीसँग उहाँको पुरानै सम्बन्ध हो ।’ बस्नेतनिकट एक नेता भन्छन्, ‘सके शिवाकोटीलाई टिकट दिने, नसके गुरुङलाई हराएर शिवाकोटीले लगाएको गुन तिर्ने योजनामा महेश दाइ हुनुहुन्छ ।’ ती नेताका अनुसार एक युट्युब च्यानल सञ्चालक महिलाले बस्नेत र शिवाकोटीबीच थप हार्दिकता ल्याउन भूमिका खेलेकी छन् । गोकुल र पार्वत दुवै जना पोलिटब्युरो सदस्य भइसकेका नेता हुन् । दुवै जना पूर्वमन्त्री हुन् । निर्वाचन क्षेत्रबाट पहिलो नम्बरमा दुवैको नाम सिफारिस भएको थियो । तर, महेशले दुवै जनालाई दुई नम्बरमा सिफारिस गरेका छन् । महेशसँग नजिक रहेर काम गरेका एक नेता भन्छन्, ‘जुनियर नेतालाई एक नम्बरमा राखेर उहाँहरूलाई दुई नम्बरमा सिफारिस गर्नु नियतवश नभए के हो त ?’

(जनआस्था साप्ताहिकको पुस  ३० गते बुधबारको अंकमा प्रकाशित)  

 

टिप्पणीहरू