सिंहदरबार जलेको आगोले कि बालेनको बोलीले ?
घटनाक्रमहरू यति छिटो विकसित हुँदै छन् आज ‘ए !, अहो !’ भनेर प्रश्न वा आश्चर्य मानेको घटना भोलिपल्ट त्यही अवस्थामा हुँदैन । समय परिवर्तनको नियम नै हो सामान्यतः कुनै पनि अवस्था एकनाश रहँदैनन् । तर हामी कहाँ कुनै पनि घटनाहरूको अवस्था परिवर्तन असामान्य, विषयान्तर र जटिलतातिर जाँदैछन् । कुन कति प्राथमिक घटना हो र कुन कम सहजै यकिन गर्न नसकिने भएको छ । गत भदौ २३ गतेको विरोध प्रदर्शनमा प्रहरीको गोलीले १९ जना युवा मारिए ! ‘राज्यले यसरी नरसंहार गर्न मिल्छ ?’ केही साथी र अग्रजलाई प्रश्न गरें । मानवीय क्षतिको कहालीलाग्दो घटनाको जवाफ कसैसँग थिएन । शान्तिपूर्ण विरोध गर्छौं भनेर सरकारसँग अनुमति लिएका प्रदर्शनकारीहरूले सुरक्षा घेरा तोडेर संसद भवन प्रवेश गर्न र ढुंगा–मुढा गर्न थाले । यस्तो अवस्थामा के हुनसक्थ्यो भनेर समर्थन र विरोधका स्वर सुनिने गरेका छन् । त्यसदिनको मानवीय क्षतिको औचित्य पुष्टि हुन सक्दैन ।
भोलिपल्ट बिहान सामाजिक सञ्जालमा ‘रविलक्ष्मी चित्रकारलाई घरभित्रै थुनेर आगो लगाई हत्या गरियो’ शब्द तलमाथि भए पनि यही सन्देश छरपष्ट थियो । तर १–२ दिनपछि यकिन भयो, उनको हत्या (निधन) भएको रहेनछ । प्रदर्शनकारी (?) हरूले घरमा लगाएको आगो छलेर बाहिर निस्कन नसक्दा धुँवामा निसास्सिएर बेहोस अवस्थामा उनलाई उद्धार गरेर अस्पताल लगिएछ । ‘सोसल मिडिया’को ‘अनसोसल कन्टेन्ट’ को उदाहरण यो पनि हो – पुष्टि नभएको घटनाको ‘स्याल हुइयाँ’ फैलाइयो ! सामाजिक सञ्जालमा मानिसलाई भ्रमित र उत्तेजित गर्ने असामाजिक सन्देशको अनिन्त्रित बाढी यति धेरै छ अन्य कुनै प्राकृतिक विपत्तिसँग तुलना गर्न सकिँदैन । जनकपुर, वीरगञ्ज र नेपालगञ्जका घटनाबाट पाठ सिक्न र सावधानी अपनाउन पर्दछ ।
‘जसले आजीवन युवालाई उज्ज्वल भविष्यको लागि शिक्षाको ज्योति छरिन्, तिनैले उनलाई घरभित्र जिउँदै आगो लगाए ।’
यो सन्देशले अघिल्लो दिनको हिंसाको घटनालाई कसरी हेर्ने मानसिक अन्तरद्वन्द्व यति धेरै भयो कि अझै लागिरहेको छ –‘शान्तिपूर्ण विरोधमा सहभागी निहत्था युवामाथि प्रहरीले कसरी गोली चलायो ? ती युवाले अमानवीय, आततायी र ध्वँसात्मक व्यवहार गर्न कसरी सक्छन् ?’ रविलक्ष्मी आजीवन युवाको उज्यालो भविष्यका लागि वैज्ञनिक शिक्षाको ज्योति छरेकी विदुषी अर्थात् सेवानिवृत्त रसायन शास्त्रको प्राध्यापक हुन् । आफ्ना श्रीमान् राजकीय सत्तामा रहँदा कुनै अवान्छित लाभ लिएको वा उनको भूमिकामा हस्तक्षेप गरेको भनेर विवादमा नपरेकी । यस घटनाका सन्दर्भमा सामाजिक सञ्जाल र संस्थागत सञ्चार माध्यमका अधिकांश टिप्पणीमा अहिलेसम्म रविलक्ष्मीलाई पूर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नीकारूपमा उल्लेख गरेको पाइन्छ । उनको स्वतन्त्र पहिचान र छविलाई ओझेलमा पारियो । अहिले पनि यस्तो लाग्छ, यो सूचना सही नहोस्– ‘जसले आजीवन युवालाई उज्ज्वल भविष्यको लागि शिक्षाको ज्योति छरिन्, तिनैले उनलाई घरभित्र जिउँदै आगो लगाए । ’ घटनाको ४ महिनापछि भारतमा उपचार गराएर फर्किन् तर आगजनीको पीडा र क्षति सामान्य छैन । उनको देब्रे हात काट्नुपर्यो ।
यस्ता अकल्पनीय र अमानवीय घटना किन हुन्छन्, त्यो पनि शान्तिपूर्ण भनिएका राजनीतिक परिवर्तन वा सामाजिक सुधारका कार्यक्रमको बहानामा ? यसलाई विरोध प्रदर्शन वा आन्दोलन जे भनौं जबकि हामीले हिंसा, आगजनी, तोडफोडका लागि आयोजना गरेका होइनौं । युवा पुस्ताको सामाजिक सुधार तथा सरकारलाई सुशासनका लागि दबाब दिन र अभिव्यक्ति स्वतन्त्रताका माध्यम बन्द नगरिउन् भन्ने मागका सन्दर्भमा भएका घटनाबारे मनमा गुम्सिएको यो भावना लेख्न बाँकी थियो । मानिसले भन्न थालेका छन््– पूर्वप्रधानमन्त्री प्रचण्ड अब पुष्पकमल दाहाल मात्र हुनुहुन्छ । उहाँको राजनीतिक यात्राको छलाङ् पत्रकार दीपेन्द्र रोकायले गरेको विश्लेषणकै परिणामको अप्रिय नहोस् तर छविलाल दाहालमा थन्किएर बस्नसक्छ । केही दिन पहिले कुलमान घिसिङबारे दाहालको टिप्पणी थियो ‘अहिले कुलमानले गुन बिर्सिएर जुन थालमा खाए त्यही थालमा छेद हाल्न थाले । बुद्धि फिरोस् । ’
लाग्न सक्छ, उनले के नै नराम्रो भने र ? कुलमानको बुद्धि फिरोस् भन्न किन नहुने ? तर कुलमानले दाहाललाई तिर्नुपर्ने गुन के थियो ? कुलमान विद्युत प्राधिकरणका कर्मचारी र विज्ञ थिए । मिलाएर खाए, सरकारले दिएको जिम्मेवारी पनि पुरा गरे । सबैले सराहना गरे । अब कुलमानले सधैँ उनकै पछि लागेर, उनले अह्राएको झोला बोकेर हिँड्नुपर्ने हो र ? दिएको जिम्मेवारी र गरेको सेवा नेताको ‘नुनको सोझो’का रूपमा लिएर आजीवन तिनका सामु शीर झुकाउनुपर्छ र ? यो प्रकारान्तरले कुलमानविरुद्ध आफ्ना कार्यकर्ताहरूलाई हिंसाका लागि भड्काएका हुन् भनेर बुझ्न ‘माओवाद’ पढ्न पर्दैन ।
प्रश्न अझै बाँकी छ, भदौ २४ गने किन देशभर विध्वँसात्मक घटनाहरू भए ? राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताका निजी सम्पत्ति विशेष गरी घर र संरचना किन र कसरी आगजनी वा तोडफोड भए ? पूर्व राष्ट्रपति विद्या भण्डारीको घरमा आगो झोस्ने, कांग्रेस महामन्त्री गगन थापा र एमाले नेता सुरेन्द्र पाण्डेको घरमा ढुंगा हान्ने, पूर्व प्रम केपी ओलिको महल (अब बन्ने कुटी सन्दर्भ) मा पेट्रोल छर्किनेहरू को थिए ? यी केही नमुना संकेत हुन् जसकोे अर्थ छ र शंकाको सुईले कतै संकेत गर्छ ! सिंहदरवार पहिले जलेको आगोले हो कि महानगरका महामेयर बालेनको बोलीले ? ती नेता, जसले कुलमानले गुन तिरेनन्– तिनलाई माफी मिल्ने छैन किन भने ? ती नेता जसले म तिनको नाम लिन्न, लिनै परे मुख कुल्ला गर्छु किल भने ? ती नेता जसले कसैलाई अर्बाैं रुपैयाँ घोटाला गर्ने, देशघाती सन्धि–सम्झौता गर्ने दलाल, देशी–विदेशी प्रतिक्रियावादीका एजेण्ट, साम्राज्यवादीका दलालसहित अनेक अपुष्ट, अप्रमाणित र मनगढन्ते गाली–गलौज कहिले र किन गरे ? अहिले पनि गरिरहेकै छन् । ती नेता जसले मानवअधिकार आयोगमा बयान दिंदै गर्दा पहिले नै किन यसो भने– ‘आफैँले नियुक्त गरेको पदाधिकारीबाट असहयोग हुन्छ भन्ने मलाई लागेको छैन ।’
कुलमानको बुद्धि फिरोस् भन्न किन नहुने ? तर कुलमानले दाहाललाई तिर्नुपर्ने गुन के थियो ?
पेशा–व्यवसाय सम्बन्धित जनवर्गीय संगठनहरूलाई राजनीतिक आन्दोलनहरूमा उतारेर, सरकारसँग लेन–देनका मागहरू देखाएर होस् वा जायज नाजायज मागसहित सडकमा उतारेर कसले अराजनीतिक, उत्तेजक र हिंसा भड्काउने नारा लगायो ? कसले सार्वजनिक सम्पत्तिमाथि ढुङ्गा मुढा गरायो ? ती संगठनहरू कस्का छाँया थिए ? विश्वविद्यालयमा गुरूजनहरूलाई मोसो, कुटपिट गर्ने, कक्षा कोठादेखि कार्यालयहरूमा तालाबन्दी, विभागहरूमा आगजनी कसले ग¥यो ? गुगल सर्चमा ‘ विश्वविद्यालयमा तोडफोड, आगजनी र तालाबन्दी’ खोज्दा सयौं घटना तँछाड–मछाड हुन्छन् ।
विश्वविद्यालय किन हुँदैछन् विध्वँशका पाठशाला ! केही नमुना शीर्षक हुन् यी–
– त्रिविमा स्वार्थै–स्वार्थका ताल्चा, ढोकामा ताला ठोक्दै विद्यार्थी र प्राध्यापक
– विश्वविद्यालयमा तालाबन्दी : शैक्षिक माग देखिन्छन्, कुरा लेनदेनका
– दुई महिनादेखि कृषि विश्वविद्यालयमा तालाबन्दी
– विश्वविद्यालयहरू राजनीतिक भागबण्डाले अस्तव्यस्त
– विद्यार्थी संगठनको बन्धक बन्दै विश्वविद्यालय
– सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रक कार्यालयमा तोडफोड
– विश्वविद्यालयमा ‘डन’ बनेका विद्यार्थी नेता
– संस्कृत विश्वविद्यालयमा ५ महिनापछि खुल्यो ताला
– त्रिविको रेकर्डअनुसार ४ महिनामा १८० दिन तालाबन्दी
– उपकुलपति बाँस्कोटाको पालामा २१३ दिन तालाबन्दी
– आधा दर्जन विश्वविद्यालय शिक्षक–विद्यार्थी आन्दोलनका कारण धराशायी
– विश्वविद्यालयमा तालाबन्दी खोल्न अदालतको आदेश
– तीन विश्वविद्यालयमा भागबण्डामा उपकुलपति
– सांसदहरूको प्रश्न : जेठो विश्वविद्यालयमा सधैँ तालाबन्दी किन ?
यो सालको भदौरे झरीले नेपालको राजनीतिक आकाशमा ठूलै भेल बाढी र चट्याङ् ल्यायो । सु–शासन कायम, भ्रष्टाचार नियन्त्रण, मर्यादित लोकतान्त्रिक अभ्यास र जनचेतना जगाउने उद्देश्यले गरिएको विरोध प्रदर्शन युवाकै हत्या–हिंसा र विध्वंशमा परिणत भयो ! सामाजिक सुधारका लागि सरकारको ध्यानाकर्षणमा गरिएका कुनै पनि प्रदर्शनहरूमा यसभन्दा पहिले यस्तो भएको थिएन । कुनै युद्ध वा सशस्त्र विद्रोहमा पनि नभएका वा हुननसक्ने घटना भए । यसलाई विरोध प्रदर्शन वा सामाजिक सुधारको आन्दोलन मात्र मान्न सकिन्न । यो अस्वाभाविक र अस्वीकार्य हो । तर यो अस्वीकार्य, अस्वाभाविक, अकल्पनीय अवस्थाचाहिँ किन आयो ? यसको पृष्ठभूमि कसले, कहिले र कहाँ, कसरी तयार गरेको थियो वा गरिरहेकै छ ? सिधै कसैले किटान गरेर भन्न नसके पनि प्रकारान्तरले यसको पृष्ठभूमि र ‘रिमोट’ राजनीतिक पार्टी र तिनका नेता हुन् । घटनामा संलग्न हुनेहरू तिनका फेसलेस छायाँ अर्थात् कार्यकर्ता विशेष गरी युवा र विद्यार्थी मोहरा बनाइएका हुन् । जसलाई तिनका नेताले मलजल र संरक्षण गरेका छन् र आवश्यकताअनुसार प्रयोग गर्दै आएका छन् । भदौ २३–२४ को घटनाबारे छानबिन गर्न सरकारले आयोग गठन गरेको छ । भएको के हो र तत्कालीन सरकारले बुझेको के हो ? यो खोजिनु आवश्यक छ ।
शान्तिपूर्ण प्रदर्शन सरकारले किन नियन्त्रण गर्न सकेन । सत्ता आधा घण्टा पनि किन टिक्न सकेन ? राज्यको अभिलेखमा राख्नु र आगामी दिनमा दोहोरिन नदिने उपाय अपनाउन पाठ सिक्नुपर्छ । ‘आयोगमा बयान दिन जान्न, मलाई गोली हान’ देशको प्रधानमन्त्री भएका नेताबाट यस्ता अराजनीतिक, उत्तेजक कुरा प्रकट हुनु, बहालवाला प्रधानमन्त्री र मन्त्रीहरूलाई ‘फरियावाला र कट्टुवाला’ भन्नु वा समकालीन नेतालाई गाली–गलौजका वाणी बर्साउनु शोभनीय होइन । छानबिन आयोगमा बयान दिन जान परे लाखौं कार्यकर्ताले सिंहदरवार घेर्छन् ! घेरेर गर्छन् चाहिँ के ? आखिर तिनै नेता एक्लाएक्लै घण्टौं बन्द कोठामा बसेर चाहिँ के कुरा गर्छन् ? यसरी नेताले एकातिर गाली बर्साएर कार्यकर्तालाई एक अर्काप्रति घृणा फैलाउने अनि बन्द कोठामा एक्लाएक्लै बसेर संवाद मार्फत् निकालिने प्रतिफलको ‘सेटिङ्’ र ‘सिण्डिकेट’ बन्द हुनुपर्छ । सार्वजनिक रूपमा अराजनीतिक र हिंसा दुरुत्साहनको अभिव्यक्ति दिने नेता यस्ता घटनाका दोषी हुन् । तिनलाई जवाफदेही र जिम्मेवार बनाउनुपर्छ । घटनाको परिणामका आधारमा हर कोहीलाई विना भेदभाव सजायँको भागीदार पनि बनाउनुपर्छ ।
आफ्नो सामथ्र्य परिणामले देखाउने हो । अरुलाई गाली गरेर र होचो देखाएर आफ्नो उचाइ बढ्दैन भनेर राजगुरू जगमान गुरुङ्ले नेतालाई सिकाउन बाँकी छ ! परिणामहरूमा पटक पटक असफल हुँदा पनि आफूले मात्र सबै संकट समाधान गर्न सक्छु, बाँकी सबै अक्षम छन् भनेर तिनलाई अवसरबाट कहिलेसम्म वञ्चित गर्ने ? राम र रावणबाट सिक्न सकिन्छ, सधैँ उनीहरूले लडाइँ गरे तर एक अर्कोलाई गाली र अपमान गरेनन् । रावण मृत्यु शय्यामा छटपटिएको अवस्थामा रामले केही काम लाग्ने ज्ञान पाइन्छ कि भनेर लक्ष्मणलाई पठाए । राम जन्मभूमि ठोरीमै ठोकुवा गर्नुहुने नेतालाई मर्यादा पुरुष श्री रामको यो ज्ञान किन भएन ? राजनीतिका नाममा हिंसा हुन नदिन नेताका लागि यो सन्देश जाओस् – बन्द गर कार्यकर्तालाई उत्तेजित बनाउने भ्रमपूर्ण वाणीहरू ! बन्द गर बन्द कोठाका बैठकहरू !
टिप्पणीहरू