फेरिँदो विश्व, फेरिँदो शक्ति–व्याकरण

फेरिँदो विश्व, फेरिँदो शक्ति–व्याकरण

नेपाल विश्वको अत्यन्तै भू–संवेदनशील राजनीतिक भूगोल हो । आवेगमा विवेक अपहरण भएको ‘जेन–जी विद्रोह’ विश्वकडीको नेपाली आयामको वातावरण भ्रष्टतन्त्रले तयार गर्यो। अब स्पष्ट भइसकेको छः रवि र बालेन त्यसैका हिस्सा हुन्। कुलमानको वाम पृष्ठभूमि र जनजाति पहिचान नै उनलाई यो सिण्डिकेटको बहिष्करणको कारण बन्यो।

आजको संसार भौगोलिक रूपमा सानो छ, तर नैतिक रूपमा अझ टाढिएको छ। वैश्वीकरणले दूरी मेटाउँदा संसारको एक कुनामा भएको घटना अर्को कुनामा क्षणभरमै प्रभाव पार्न थालेको छ। युद्ध, सत्ता परिवर्तन, आर्थिक प्रतिबन्ध, महामारी, सूचना युद्ध स्थानीय घटना मात्रै रहेनन्। यी वैश्विक संरचनाभित्र नियोजित प्रक्रियाभित्रका शक्तिबीचका टसलका परिणाम हुन्।

इराक, लिबिया, भेनेजुएला, अफगानिस्तान, बंगलादेश, नेपाल—यी सबै फरक नाम, फरक भूगोल, फरक संस्कृति भए पनि एउटै प्रयोगशालाका फरक–फरक केस स्टडी हुन्। यही प्रयोगशालाको नयाँ केन्द्रमा इरान उभिएको छ। प्रश्न थाहा नपाउनु होइन; प्रश्न यो हो—थाहा हुँदाहुँदै पनि हामी किन मौन छौँ?

लामो समयसम्म आर्थिक नाकाबन्दी र अराजकतामा फसाएर एउटा सार्वभौम राष्ट्रलाई अपहरण गरियो। राज्यले युद्ध घोषणा नगरी वा प्रत्यक्ष अमेरिका विरुद्धको युद्ध नभई गरिएको युद्ध अमेरिकी संविधानको पनि विरुद्ध थियो।

इतिहासले सिकाएको पाठ स्पष्ट छः सरोकार नराख्नु भनेको घटनाले सरोकार नराख्नु होइन। आज टाढा देखिएको संकट अहिले नजिकै आइसकेको छ। वैश्वीकरणको कठोर यथार्थ यही हो ।

युद्धको पूर्वाभ्यासः ‘खलनायक’ उत्पादन गर्ने कारखाना

युद्ध अचानक सुरु हुँदैन। युद्धअघि कथा निर्माण गरिन्छ। इराकमाथि आक्रमणअघि ‘आणविक हतियार’ को आतंक फैलाइयो। आणविक–सम्पन्न एङ्ग्लो–अमेरिकन शक्तिले सद्दाम हुसैनसँग सामूहिक विनाशका हतियार छन् भनेर विश्वलाई डर देखायो। त्यो झूट सावित भए पनि झूटले आफ्नो काम गरिसकेको थियो।

अहमद चलाबी जस्ता पात्रलाई ‘लोकतन्त्रको प्रतिनिधि’ बनाएर प्रस्तुत गरियो। उनी कति भ्रष्ट थिए भन्ने कुरा त्यसबेलाका मिडियाका समाचार विवरण साक्षी छन्। एक व्यक्तिलाई हतियार बनाएर एउटा देश ध्वस्त पारियो। त्यसपछि क्रमशः लिबिया, सिरिया अनि भेनेजुएला।

भेनेजुएलामा जुआन ग्वाइदो (माचाडो) लाई अचानक ‘राष्ट्रपति’ घोषणा गरियो र नोबेल शान्ति पुरस्कार दिलाइयो। एक अस्थिर पात्रलाई नैतिक उचाइमा राखेर वैध सरकारलाई ‘खलनायक’ बनाइयो। लामो समयसम्म आर्थिक नाकाबन्दी र अराजकतामा फसाएर एउटा सार्वभौम राष्ट्रलाई अपहरण गरियो। राज्यले युद्ध घोषणा नगरी वा प्रत्यक्ष अमेरिका विरुद्धको युद्ध नभई गरिएको युद्ध अमेरिकी संविधानको पनि विरुद्ध थियो।

अब शक्ति लाज मान्दैन। अब शक्ति सभ्यताको मुखौटा लगाउन आवश्यक ठान्दैन। अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता, राष्ट्रको सम्मान—यी सबै पुराना शब्दजाल ठहरिँदैछन्। यो नै वैश्विक व्यवस्था ध्वस्त हुँदै गएको प्रमाण हो।

आज यही पुरानो स्क्रिप्ट नयाँ पात्रसहित दोहोरिँदैछ। इरानको सन्दर्भमा रेजा पहलवीका पुत्रलाई अगाडि सारेर ‘लोकतान्त्रिक विकल्प’ का रूपमा प्रस्तुत गरिँदैछ। यो इरानको मात्र आन्तरिक बहस होइन; वाह्य शक्तिले लेखिरहेको पटकथा मात्रै हो। भेनेजुएलियन तेलकै कारण हो भन्ने कुरा अब कसैबाट लुकेको छैन।

नयाँ साम्राज्यवादका अश्लील संकेतहरू

आजको विश्व व्यवस्था युद्धले मात्र होइन, भाषाले पनि ध्वस्त हुँदैछ। ग्रिनल्याण्ड लिने र किन्ने कुरा उठाउनु, क्यानाडालाई ‘५१औँ प्रान्त’ भन्नु—यी सामान्य कूटनीतिक बयान होइनन्। यी साम्राज्यवादी मानसिकताको नाङ्गो अभिव्यक्ति हुन्।

यी कथनहरूले के देखाउँछ भने—अब शक्ति लाज मान्दैन। अब शक्ति सभ्यताको मुखौटा लगाउन आवश्यक ठान्दैन। अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता, राष्ट्रको सम्मान—यी सबै पुराना शब्दजाल ठहरिँदैछन्। यो नै वैश्विक व्यवस्था ध्वस्त हुँदै गएको प्रमाण हो।

दाह्रा उखेलिएको सिंहझैँ भएको संयुक्त राष्ट्रसंघ अस्तित्वमा त छ, तर अर्थहीन भएको छ। सुरक्षा परिषद् शान्तिको रक्षक होइन, मुकदर्शक बनेको छ। दुनियाँलाई उपनिवेश बनाउने युरोपेलीहरू आफैँ शक्तिको विश्व–पहिचान संकटमा छन्। नाटो शत्रु खोज्दै हिँडिरहेको छ। अन्तर्राष्ट्रिय कानुन शक्तिशालीका लागि सिफारिस र कमजोरका लागि आदेश बनेको छ।

आज युद्धको अर्थ बन्दुक र बममा सीमित छैन। युद्ध आर्थिक प्रतिबन्ध हो, साइबर आक्रमण हो, सूचना युद्ध हो, मुद्रा अवमूल्यन हो, प्रोक्सी समूहमार्फत लडिने लडाइँ हो। युद्ध घोषणा नगरी युद्ध लडिन्छ, र जीत घोषणा नगरी हार थोपरिन्छ।

युद्ध र शान्तिको उल्टिएको अर्थ

हामीले हाम्रै शान्ति सम्झौता देख्यौँ, भोग्दैछौँ। शान्तिको अर्थ पनि विकृत भएको छ। शान्ति अब न्याय होइन; शान्ति युद्धबाट थाकेका शक्तिहरूबीचको अस्थायी सम्झौता हो। पीडितको आवाज, सत्यको स्वीकार र ऐतिहासिक जिम्मेवारी—यी सबै शान्ति प्रक्रियाबाट हराउँदैछन्।
यसरी राजनीति सामाजिक डार्विनवादमा रूपान्तरण हुँदैछ—बलियो बाँच्नेछ, कमजोर प्रयोग हुनेछ। ट्रम्पवाद यसको सबैभन्दा नाङ्गो संस्करण हो, तर यो मानसिकता केवल ट्रम्पमा सीमित छैन; यो सम्पूर्ण कर्पोरेट–सैन्य सभ्यताको चेतना हो।

हामीले बुझ्ने संसार अब उही रहेन। शक्ति अब केवल सेना वा अर्थतन्त्रमा छैन; शक्ति कथा निर्माणमा, सूचना नियन्त्रणमा, डर र आशा उत्पादन गर्ने क्षमतामा छ। आज सत्यभन्दा प्रभावकारी झूट शक्तिशाली भएको छ।

संसदीय गणितमा संख्याको अर्थ रहेन। वास्तविक शक्ति २४ गतेपछिका दृश्यले प्रष्ट्याए। लोकतन्त्र मतदानको विधिमा सीमित नभएर निर्णय शक्ति एल्गोरिदम, कर्पोरेट हित र सैन्य–औद्योगिक संरचनामा सरिसकेको छ।

इतिहासमा परिवर्तन सधैँ आएको छ। तर आजको परिवर्तन गुणात्मक छ। यसले मूल्य, सिद्धान्त र संस्थाको आत्मालाई नै प्रश्न गरिरहेको छ। प्राविधिक प्रगति तीव्र छ, तर नैतिकता कमजोर हुँदैछ। सूचना प्रशस्त छ, तर सत्य हराउँदैछ। शक्ति बढ्दैछ, तर उत्तरदायित्व हराउँदैछ। मानव अधिकार चयनात्मक भएको छ, करुणा रणनीति बनेको छ।

अन्तिम प्रश्न

यस्तो आतंक, युद्ध र नैतिक पतनको बीचमा अन्तिम प्रश्न स्वाभाविक रूपमा उठ्छ—के कुनै भगवान, नबी वा ईश्वर छन्, जसले यसबाट बचाउने? इतिहासले देखाएको कुरा के हो भने सभ्यता नै संकटमा पर्दा ईश्वरहरू मौन हुन्छन्। आफ्नै सन्तानमा राक्षसीपन जन्मिँदा, मानव नरसंहार हुँदा, सायद यही मौनता ईश्वरको अस्तित्वमाथिको प्रश्न हो।

यो संसारलाई कुनै अलौकिक शक्तिले होइन, चेतनशील नागरिकले, प्रश्न गर्ने विवेकले र मौन तोड्ने साहसले मात्र बचाउन सक्छ। बदलिँदो शक्ति–व्याकरण नबुझे हामी इतिहासका निर्माता होइन, प्रयोगशालाका वस्तु मात्र हुनेछौँ।

संसार फेरिँदैछ, शक्ति–व्याकरण फेरिँदैछ। प्रश्न अब केवल राजनीतिक होइन—यो सभ्यताको आत्मासँग जोडिएको प्रश्न हो। फेरिएको संसारले हामीसँग नयाँ राजनीतिक चेतना र नयाँ नैतिक व्याकरणको कठोर माग गरिरहेको छ।

शब्द अर्थहीन भए संस्था आत्माविहीन बन्छन्, इतिहास विवेकले होइन, शक्तिले लेखिँदा भविष्य झन् अन्धकार हुन्छ। आजको चुनौती शक्ति सन्तुलन मात्र होइन, अर्थको पुनःस्थापना हो। राजनीति शासनको नाम होइन, मूल्यको प्रश्न हो; सभ्यता विकास मात्र होइन, नैतिक उचाइ हो।

फेरिएको संसार बुझ्न पुरानो राजनीतिक व्याकरण पर्याप्त छैन। शीतयुद्धकालीन शब्दावलीले पोस्ट–आइडियोलोजिकल युग बुझ्न खोज्नु नै हाम्रो बौद्धिक संकट हो। आवश्यक छ—शब्दलाई पुनः अर्थ दिनु, संस्थालाई पुनः नैतिक बनाउनु र इतिहासलाई विवेकको आँखाबाट हेर्नु।

नत्र हामी शब्द बोलिरहनेछौँ, तर अर्थ बिना; संस्था बनाइरहनेछौँ, तर आत्मा बिना; र इतिहास लेखिरहनेछौँ, तर सत्य बिना।

यो संसारलाई बचाउने कुनै अलौकिक शक्ति होइन। बचाउने हो भने चेतनशील नागरिकले, प्रश्न गर्ने विवेकले, मौनता तोड्ने साहसले मात्र बचाउन सक्छ। यदि हामीले यो बदलिँदो शक्ति–व्याकरण बुझेनौँ भने, हामी इतिहासका निर्माता होइन, इतिहासका प्रयोगशालाका वस्तु मात्र भएर बाँच्छौँ।

संसार फेरिँदैछ। शक्ति–व्याकरण फेरिँदैछ। प्रश्न अब केवल राजनीतिक होइन—यो सभ्यताको आत्मासँग जोडिएको प्रश्न हो।

टिप्पणीहरू