भेनेजुयलाको भविष्य र समयको भर
सन् २०२६ को शुरुमै (डोनाल्ड ट्रम्प) ले संसारलाई एकदम अनौठो ‘उपहार’ दिएका छन् । केही वर्षदेखि जारी युक्रेन–रसियाबीचको युद्ध रोक्ने प्रयासमा सक्रिय रहेका उनले अचानक भेनेजुएलामाथि धावा बोलेका छन् ।
अहिलेसम्म कति हताहत भए भन्ने स्पष्ट संख्या सार्वजनिक भएको छैन तर कम्तीमा ४० भन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ । विशेष तालिमप्राप्त कमाण्डो टोलीले राष्ट्रपति मदुरो र श्रीमती सिलियालाई राष्ट्रपति भवनको शयनकक्षबाटै नियन्त्रणमा लिएको थियो । राति आफ्नो दरबारमा सुतेका मदुरो बिहान ३४ सय किलोमिटर टाढा न्युयोर्कको पुलिस हिरासतमा ब्युँझन पुगेका थिए ।
उनलाई अमेरिकाले विभिन्न अभियोगमा आरोपित गर्ने तयारी भइरहेको छ । यसमा अमेरिकाविरुद्ध षड्यन्त्र, लागुऔषध तस्करी, आतंकवादसँग सम्बन्धित गतिविधिलगायत आरोप समावेश छन् । निर्वाचित राष्ट्रप्रमुखमाथि यस्तो कारबाही गर्नुलाई ऐतिहासिक र कानुनी दृष्टिले निकै असाधारण कदम मानिन्छ ।
सन् १९८९ मा अपरेसन जस्ट कजका नाममा अमेरिकाले पनामामाथि पनि यस्तै सैन्य आक्रमण गरेको थियो । जनरल म्यानुएल नोरिएगालाई पक्राउ गरी ड्रग तस्करी, मनी लाउण्डरिङ र अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाइएको थियो । राष्ट्रपति जर्ज एच. डब्लु. बुसको आदेशमा करिब २७ हजार अमेरिकी सैनिक सहभागी यस कारबाहीमा सयौँ पनामाली सर्वसाधारण मारिएका थिए । नोरिएगा निर्वाचित नभए पनि त्यहाँको अति शक्तिशाली शासक थिए । संंयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायले यसलाई अन्तर्राष्ट्रिय कानुन उल्लंघन भनेको थियो तर अमेरिकाको अगाडि कसैको केही लागेन । सन् २०१० मा उनलाई मनी लाउण्डरिङको अभियोगमा फ्रान्स पठाइयो । त्यहाँबाट एक वर्षपछाडि पानामा लगेर ४० वर्षको काराबास सुनाइयो । बिमारीका कारण २०१२ देखि हस्पिटलमा बसेका उनको सन् २०१७ मै मृत्यु भइसकेको छ ।
मदुरोमाथि ज्यादतिका विषयलाई लिएर विश्व धु्रवीकृत भएको छ । रसियाले युक्रेनमाथि हमला गर्दा संसार नै भष्म भएजसरी सामाजिक सञ्जाल रंगिएको थियो । लोकतन्त्र अन्त्य भएको घोषणा गर्नेहरू धेरै थिए । वामपन्थीहरू आफ्नो धर्म निभाउँदै सानै स्वरमा भए पनि युक्रेन नाटोको कठपुतली बन्न खोज्दाको परिणाम हो यो भनेर बचाव गर्थें । अहिले हाम्रो लाइन फेरिएको छ । हिजो युक्रेनको बचाव गर्नेहरुले ट्रंम्पले ठीकै गरेको देख्छन् भने हिजो रसियालाई आफन्त ठान्नेहरूले आज भेनेजुयलाको भजन गाउन थालेका छन् ।
भेनेजुएलामा वैकल्पिक व्यवस्था नबन्दासम्म अमेरिकाले नै शासन सम्हाल्ने भनिएको छ । ट्रम्पले पत्रकार सम्मेलनमार्फत भेनेजुएलाको तेल कम्पनीमा देखिएको अनियमिततालाई जति नै खर्च लागे पनि सुधारेर ठीक ठाउँमा ल्याइने बताएका छन् । यसबाट एउटा कुरा स्पष्ट हुन्छ—अमेरिका त्यहाँका सम्पूर्ण खनिज तथा प्राकृतिक स्रोतमाथि स्वामित्व र नियन्त्रण स्थापित गर्न चाहन्छ ।
हालै ट्रम्पले ३० भन्दा बढी देशका आफ्ना राजदूतलाई फिर्ता बोलाउनु पनि यही घटनासँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ ।
अचानक आइपरेको यो अवस्थाका कारण भेनेजुएलाका नागरिक भोलि के हुन्छ भनेर अनुमानै गर्न नसकिने स्थितिमा पुगेका छन् । उनीहरूका सामु सकेसम्म खाद्य सामग्री संकलन गरेर घरभित्रै बस्नु एक मात्र विकल्पजस्तो बनेको छ । रेडियो, टेलिभिजनमा चौबिसै घण्टा गीत र कार्टुन बजाउने, देखाउने गरिएको छ । पत्रपत्रिकामाथि प्रतिबन्ध लगाइएको छ ।
अमेरिका बस्ने भेनेजुएलियनहरु भने मदुरोको शासन ढलेकोमा खुशी मनाइरहेका छन् । उनीहरूका अनुसार लामो समयदेखि राजनीतिक दमन, आर्थिक संकट र अस्थिरताबाट पीडित रहँदै आएका उनीहरूका लागि यो घटना आशा र परिवर्तनको संकेत हो । विभिन्न शहरमा भेला भएर झण्डा फहराउने, नाराबाजी गर्ने र एक–अर्कालाई अँगालो हालेर उत्सव मनाउनेहरु पनि छन् ।
त्यहाँको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिग्जलाई कार्यवाहक राष्ट्रपतिका रूपमा देशको नेतृत्व सुम्पिएको छ । उनले मदुरो नै हाम्रा वैधानिक नेता हुन् भन्दै तुरुन्त छाड्न माग गरेकी छन् । उनले विदेशी हस्तक्षेपको डटेर मुकाबिला गर्ने अनि कसैको दासत्व नसहने भनेकी छन् भने ट्रम्पले चाहिँ आवश्यक पर्दा अर्को बलियो धमाकेदार धक्का दिने बताएका छन् ।
केही सञ्चारमाध्यमका अनुसार अमेरिकाले आफ्नै आज्ञा पालन गर्ने विपक्षी दलकी नेतृ मारिया कोरिना माचाडोलाई सत्ता सम्हाल्न दिन सक्ने अनुमान गरिएको छ । कतिपयले त यो सम्पूर्ण घटनाक्रमको योजना नै उनलाई नोबेल पुरस्कार दिलाउने उद्देश्यसँग जोडिएको दाबीसमेत गरेका छन् । तर, यसबारे ट्रम्पले केही संकेत गरिसकेका छैनन् । हालै ट्रम्पले ३० भन्दा बढी देशका आफ्ना राजदूतलाई फिर्ता बोलाउनु पनि यही घटनासँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ ।
ती देशमध्ये धेरैले अमेरिकी यस कदमको खुला विरोध गरिरहेका छन् । भोलि जनस्तरमै ठूलो विग्रहको आकलन गर्दै यस्तो निर्णय लिइएको हुन सक्ने विश्लेषण पनि गरिएको छ । चीनले यसलाई ‘स्वतन्त्र राष्ट्रमाथि बल प्रयोग’ भन्दै तीव्र निन्दा गरेको छ र अन्तर्राष्ट्रिय कानुनको घोर उल्लंघन भनेको छ । रुसले पनि अमेरिकालाई यस स्थितिबारे पुनर्विचार गर्न र मदुरो तथा उनकी पत्नीलाई रिहाइको माग गरेको छ । इरानले सशस्त्र आक्रमण र राष्ट्रिय सार्वभौमिकता उल्लंघनको आरोप लगाएको छ । मेक्सिको, कोलम्बिया र ब्राजिलले क्षेत्रीय स्थिरता र सार्वभौमिकताका लागि खतरा भएको बताएका छन् ।
क्युबाले भने यसलाई ‘राज्य आतंकवाद’ भन्दै निन्दा गरेको छ । चिलीले पनि अन्तर्राष्ट्रिय कानुन पालनाको आवश्यकता औँल्याउँदै संयमित भएर समस्या समाधान गर्नुपर्ने भनेको छ । फ्रान्सले यसलाई बल प्रयोगको नियम उल्लङ्घन भनी आलोचना गरेको छ । स्पेन, युरोपेली संघ र बेलायती प्रधानमन्त्रीले कानुन पालन र तनाव कम गर्न अपिल भनेका छन् । बेलायती प्रधानमन्त्रीले एक अन्तर्वार्तामार्फत यस घटनामा बेदनाको आँशु नबगाउने भनेकोले आफ्नै पार्टीभित्र पनि बिरोधका स्वरहरू सुनिन थालेको छ । अर्जेन्टिनाका राष्ट्रपति ज्याभियर मिलेइले भने यसलाई स्वतन्त्रताको प्रगति भनिरहेका छन् ।
ट्रम्पसँग चुनाव लड्ने पूर्व उपराष्ट्रपति कमला ह्यारिसले भेनेजुएलामा भएको अमेरिकी कदमप्रति आलोचनात्मक दृष्टिकोण राखेकी छन् । उनले यस प्रकारको सैन्य हस्तक्षेप र राष्ट्रप्रमुखको कब्जा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हो र यसले क्षेत्रीय स्थिरता र शान्तिलाई संकटमा पार्न सक्ने चेतावनी दिएकी छन् । उनले नागरिकका अधिकार र लोकतान्त्रिक प्रक्रिया कायम राख्न कूटनीतिक उपाय र संवादमार्फत समस्या समाधान गर्नुपर्ने र यस्तो व्यवहारले अमेरिकी नागरिक सुरक्षित हुन नसक्ने भन्दै चिन्तासमेत व्यक्त गरेकी छन् ।
केही समयदेखि हामी नेपालीहरूले भन्ने गरेका छौँ– अमेरिकाले आफ्नो स्वार्थ पूरा गर्न जेलेन्स्की जन्माएका हुन् । उसले निहँु नखोजेको भए रसियासँग लडाइँ हुने नै थिएन । अब नेपालमा पनि नयाँ जेलेन्स्कीहरूको गर्भाधारण भइसकेको छ । हाम्रो हालत पनि युक्रेन हुने हो । हिजो जेलेन्स्कीलाई ठूलो राष्ट्रवादी ठानेर रसियामाथि धारेहात लगाउनेहरू नै नेपालमा जेलेन्स्की जन्मिने भयो भनिरहेका छन् । हिजो एमसिसी पारित गर्दा हामी अमेरिकाबाट सुरक्षित हुने छैनौं भन्ने जिकिर थियो तर भेनेजुएलाले अमेरिकासँग एमसिसी सम्झौता गरेको छैन । अमेरिकाले चाह्यो भने जहिले र जहाँसुकै छिर्न सक्छ भन्ने प्रमाणित गरेको छ । हाम्रो अनुमान गलत सावित भएको छ ।
संयुक्त राष्ट्रसंघ चार्टरको धारा २ (४) मा सबै राज्यलाई अरू स्वतन्त्र देशमाथि बल प्रयोग गर्न छुट छैन भनेर स्पष्ट लेखिएको छ । यसले सैन्य आक्रमण मात्र नभई बल प्रयोगको धम्की वा दबाबको प्रयोगलाई समेत समेट्छ । यस प्रावधानको उद्देश्य अन्तर्राष्ट्रिय शान्ति कायम राख्नु र देशको सार्वभौमिकता र राजनीतिक स्वतन्त्रताको रक्षा गर्नु हो । यस्तो कदम संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अनुमति वा आत्म–रक्षाको लागि मात्र न्यायोचित ठहरिन सक्छ । अमेरिकाले लागुऔषधको तस्करीबाट सुरक्षित हुन यस्तो गर्नुपरेको तर्क राखेको छ तर यो आधारलाई अन्तर्राष्ट्रिय कानुनले स्वीकार गर्दैन । बरु अमेरिकामा भेनेजुयलाभन्दा वरिपरिका देशबाट धेरै परिणाममा लागुऔषध जाने गरेको छ ।
अन्तर्राष्ट्रिय फौजदारी कानुनअनुसार यस्तो घटना ‘आक्रमण अपराध’को श्रेणीमा पर्छ । यसलाई अन्तर्राष्ट्रिय फौजदारी न्यायालयको क्षेत्राधिकारभित्र लान सकिन्छ । अमेरिका यस न्यायालयको सदस्य नभए पनि भेनेजुयला सदस्य राष्ट्र भएको कारण सो गर्न सकिने अन्तर्राष्ट्रिय कानुनका ज्ञाता जेफ्री रोबट्र्सन केसीले बताएका छन् । उनी सिएरा लियोनको अन्तर्राष्ट्रिय फौजदारी अदालतको अध्यक्ष अथवा मुख्य न्यायाधीशसमेत थिए । अब भेनेजुयलाको भविष्य कस्तो होला भन्ने कुराको भर समयकै हातमा छाड्नुको विकल्प छैन । जसको शक्ति, उसको भक्तिको पुरानै उक्ति बजारमा बिक्ने खतरा छ ।
टिप्पणीहरू