घ्यू बेचुवा, तरबार बेचुवा र पानी बेचुवा !
चर्चित नेपाली लोककथाअनुसार हाट बजारमा नक्कली घ्यू, नक्कली तरवार र नक्कली जल बेच्ने ब्यापारीहरूको भेट हुन्छ । घ्यू बेच्नेलाई तरवार मन पर्छ र तरवार बेच्नेलाई घ्यूले तान्छ अनि यी दुबैको ठगीको कमाइलाई पानी बेच्नेले सर्लक्कै कुम्ल्याउँछ । घ्यू र तरवार बेच्नेले सिंगमांगको बिर्को खोल्दैमा हरर घ्यू मगमगाउँछदेखि तरवार यति चमकदार छ कि आँखा नै तिरीमिरी पारिदिन्छ भन्दै दिनभर ठगेर कमाएको आम्दानीलाई शुद्ध, पवित्र र चिताएको इच्छापूर्ति गर्नसक्ने तामाको गाग्रीको जल जेमा छम्कियो त्यो सुनको हुन्छ भनेर दुई ठगलाई विश्वस्त गराउँछ । जलको विशेषता बताउन आकाश जमीनलाई जोड्न कुनै कञ्जुस्याइँ गर्दैन ।
उनीहरू पवित्र जलको महिमागान सुनेर यति लट्ठिन्छन् कि दिनभर ठगेर कमाएको पैसाले सकेसम्म बढी पवित्र जल किन्छन् । अनि आलिसान घरवार, धनसम्पत्ति र इच्छाएको कुरा माग्न हतारिएर आ आफ्नो बाटो लाग्छन् । पानी बेचुवा पनि ठगीको पैसाले सुनका असर्फी किन्छ र घर पुग्छ । श्रीमतीलाई दिनभरको बेलिविस्तार लगाउँछ । सल्लाहबमोजिम मझेरीमा अंगेनु भएको ठाउँमा निकै तलसम्म खनेर असर्फीसहित तामाको गाग्री नै गाड्छ । अंगेनु रहेको ठाउँँमा नयाँ अंगेनु बनाउँछ । यो कुरा कसैलाई पनि नबताउने शर्तमा किरिया खाएर दुवै जना सुत्छन् । आफ्नै सन्तानलाई समेत यो रहस्य नखोली कालान्तरमा बूढाबूढी नै बित्छन् । असर्फी गाडिएको गाडियै घर खण्डहर बन्छ । भत्किन्छ र, त्यो अंगेनो रहेको ठाउँ कालान्तरमा बिरानो बन्छ ।कतै नेपालमा पनि ठगहरूले कमाएको आम्दानी गाडधनमा परिणत भएजस्तो नहोस् ! भयो भने त्यसलाई विधिको विधान नै मान्न बाध्य हुनुको विकल्प यतिखेर अरु देखिँदैन ।
खण्ड ख !
नेपालमा यतिखेर बहुचर्चित बालेन साह र कुलमान घिसिङ–रवि लामिछानेको पार्टीमा समाहित हुन पुगेका छन् । यो पटाक्षेपलाई देशमा नभूतो न भविष्यतिको रूपमा चित्रण गर्न थालिएको छ । मानौं अब देशका यावत् समस्या छुमन्तर हुनेछन् । कायापलट हुनेछ । के देशका समस्या जादुगरका फुमन्तरले समाधान हुने खालका छन् अथवा तिनले देशवासीबाट नैतिकता, इमान्दारिता र लगनशीलताको अपेक्षा गरेका छन् ? जादुगरको चमत्कारको प्रतिक्षामा देश जडभरतको अवस्थामा रहिरहेको थियो र अब यी तीनले जादुको छडी घुमाउन थालेपछि देश एकाएक गतिमान हुनेछ ? समस्या एकपछि अर्को गरी समाधान हुँदै गए भने मुलुककै लागि एउटा नयाँ मोड हुन सक्छ । तर भएन भने ? भएन भने देश जहाँको तहीं रहिरहन्छ कि कतातिर लाग्छ ? अधोगति कि उन्नति ?
खण्ड ग !
अधोगति होस् वा उन्नति ! एकातर्फ लाग्न अग्रसर त हुनैपर्छ । अग्रसरताको लागि कि पश्चगामी गियर लगाउनु पर्छ अथवा अग्रगामी । देश यथास्थितिमा रहिरहँदैन । देशलाई गतिशील बनाउन शक्तिको आवश्यकता पर्छ । त्यो शक्ति भनेका रवि लामिछाने, बालेन साह र कुलमान घिसिङ नै हुन् ? उनीहरूले यस्तो ल्याकत राख्छन् ? उनीहरू वास्तवमा कस्तो पृष्ठभूमिबाट आएका हुन् ? यसलाई नपर्घेलीकन न उनीहरूका विशेषतालाई पहिल्याउन सकिन्छ न त कमजोरीहरूलाई नै औंल्याउन सकिन्छ !
रवि लामिछाने– टिभीको एंकरिङ पेशाबाट राजनीतिमा फाल हानेका रवि त्यसअघि अमेरिकामा बसोवास गर्दथे । उनले त्यहाँ नेपाली नागरिकता परित्याग गरेर अमेरिकी नागरिकता लिए । अमेरिकी पासपोर्ट प्रयोग गर्थे । नेपाल फर्किएपछि ती दुवै लुकाएर यतैको राहदानी र नागरिकताको परिचयपत्र देखाउँदै नेपाली बने । उनको यो अवैध र गैरकानुनी हर्कत दण्डनीय थियो । तर उनी नेपाली टेलिभीजन पत्रकार बनेर यति आक्रामक कार्यक्रम बनाइरहेका थिए कि कसैले पनि उनको यो दोहोरो चलाखीवारे चुइँक्कसम्म बोल्ने आँट गर्दैनथ्यो । जसले सवाल उठाउँथ्यो त्यो उनको आक्रमणको घानमा परिहाल्थ्यो । हुर्मत लिइन्थ्यो । कतिपय उद्यमी व्यापारीहरूको उत्पादन प्रवद्र्धन गर्ने कुरो मिलेन भने नारायणहरि बनाइदिनेसम्मका हर्कत हुन्थे ।
सहयोगी शालिग्राम पुडासैनीले अलिकति मुख खोल्न के खोजेको थियो, उसलाई नारायणहरि बनाइयो । के, किन, कहाँ, कहिले, कसले र कसरी भन्ने फाइभ डब्लु एच् रविलाई थाहा नहुने कुरै भएन । त्यसपछि सहकारी ठगी काण्ड उजागर भयो । लहरो तान्दा पहरो गर्जिन थाल्यो । उनीसहितले तामझामसाथ खोलेको ग्यालेक्सी फोर के टेलिभिजन सहकारी ठगीको हेडक्वार्टर नै बनेको आरोप छताछुल्ल भयो । उनी राजनीतिमा हाम फाले । रास्वपा बनाए र त्यसको अध्यक्ष बने । आमनिर्वाचनमा चितवनबाट सांसद बने । उपप्रधान तथा गृहमन्त्री पड्काए । पद गुम्यो । पुनः निर्वाचन लडे । चुनाव जिते । फेरि गृहमन्त्री बने । तर विगतले पछ्याउन छोडेन । गिरफ्तार भए । फेरि मन्त्री पद उछिट्टियो । धरौटी, राखे छुटे, फेरि गिरफ्तार भए । जेल तोड्ने महाअपराधको नेतृत्व गरे । चारैतिरबाट आलोचना भएपछि जेल फर्किने नाटक रचे । जबकि चौध हजार अपराधीलाई जेलबाट निकाल्ने योजनाको नेतृत्व गरेको अभियोग उनीमाथि छ । तिनीहरूले लुटेका हजारौं स्वचालित हतियार अहिलेसम्म सरकारले जफत गर्न सकेको छैन । भर्खरै लगभग तीन करोड धरौटी राखेर रवि फेरि अर्को सहकारी ठगी मुद्दामा छुटेका छन् ।
तारेखमा छुटे पनि निमित्त सभापति डिपी अर्यालबाट सभापतित्व फिर्ता लिएर पहिले बालेन र त्यसको चौबिस घण्टापछाडि आफूअन्तर्गत कुलमान घिसिङलाई उपाध्यक्ष बनाई पार्टीलाई घ्यू बेचुवा, तरवार बेचुवा र पानी बेचुवाको केन्द्र बनाउन सफल भए ।
बालेन साह–
र्याप ब्याटलमा यमबुद्ध (अनिल अधिकारी) ले सञ्चालन गरेको दोहोरी ‘र–बार्ज’ मा भिडेर चर्चामा आएका बालेन्द्र अर्थात बालेन साह त्यसपछि काठमाण्डौ महानगरपालिकाको मेयरमा विजयी बने । उनी कस्तोसम्म ¥याप हान्न सक्थे भने, युट्युबमा भाइरल रहेको ¥यापका झड्का सुन्ने वा हेर्नेले मात्र बालेनको उदाउँदो विशेषता थाहा पाउन सक्छ । जेनजी आन्दोलनपछि लुसिफर नामाकरण गरिएका बालेनको ¥याप सुन्नेले मात्रै बालेनलाई ठम्याउन सक्छ । यमबुद्ध नेपालका ‘किंग अफ नेपहप’ (नेपाली हिप–अप) बेलायतमा बस्थे । उनले त्यहीं सन् २०१७मा २९ वर्षको उमेरमा आत्महत्या गरे । यमले सञ्चालन गरेको ‘र–बार्ज’ मा आफ्नो प्रतिद्वन्द्वी ‘लिटल ग्रीजल’ लाई लक्ष्य गर्दै बालेनले र्याप हानेका थिए,
तेरो सर्ट सेतो, जुत्ता कालो
पाइन्ट नीलो रै’छ !
मर्द हेर यस्तो हुन्छ (भटाभट आफ्नो छाती पिट्दै)
यसको त गिलो रै’छ !
बाबुले त छोरै जन्माएको थियो,
बाँदर बढी बाठो भएर दुइटै फुटाइस् !
सुन्, तेरो नाम अगाडि लेडी लेख्न छुटाइस्
बूढीसँग फोन सेक्स गर्छस् रे अमेरिकामा,
शरीरको कुनचाहिँ अंग उठाइस् ?
बालेनले ‘र–बार्ज’मा हानेको र्याप निकै लामो छ । युट्युब हेर्दा वरिपरि जेनजीहरूको ठूलो जमात होमा हो जनाउँदै र्यापर बालेनलाई उक्साइरहेको देखिन्छ । छेउमा यमबुद्ध उभिएर उनलाई सुनिरहेछन् । पालो आएपछि बालेनसँग दोहोरीमा नेपाली कम अंग्रेजी ज्यादामा बालेनलाई तथानाम हान्न ‘लिटल ग्रीजल’ पछि परेनन् तर बालेनको शब्द चयन र जेनजीहरूलाई उत्तेजित पार्न सक्ने सामथ्र्य भने अचाक्ली आक्रामक र द्विअर्थी सुनिन्छ । नभन्दै यो र्याप ब्याटल नै जेनजीहरूमाझ बालेनको जवर्जस्त प्रवेश बनेको रहेछ ! हुन पनि बालेन र–बार्जमा सेक्सिस्ट भएका मात्र होइनन् ।
उनले दावीका साथ ‘लिटल ग्रीजल’लाई भनेका छन्, म यसको प्रोफेसर हुँ र तैँले मेरो गीतको कुरै गर्न सुहाउँदैन । अनि यहींनेर थपेका पनि छन्, गीत भनेको कर्णप्रिय हुनुपर्छ । म्युजिक त जिंगल पनि हुन्छ । उनले आफ्नै प्रशंसा गर्दै भनेका छन्, र्यापर भनेको बालेन जस्तो भब्य हुनुपर्छ !
जुनसुकै बेला र्यापमै झ्याप हुने भएकोले पनि हुनुपर्छ बालेनका प्रत्येक बाक्य ‘र्याप ब्याटल’कै भाषामा प्रस्फुटित हुनेरहेछ । उनको ब्रेकफाष्ट लञ्च र डिनर नै यही रहेछ । उनले यसमा आफैंलाई न नियन्त्रण, न निगरानी केही गर्ने क्षमता राख्दा रहेनछन् । छ्यांग रक्सी गाँजाको चर्चाले र्यापलाई झ्याप पारिरहने रहेछ । त्यसैले उनी बोल्यो कि गोली ओकलिहाल्दा रहेछन् । वास्तवमा बालेन बालेन होइन, र्याप ब्याटलको पर्याय रहेछन् । लेखक सौरभले लुसिफरको रूपमा उनको चित्रण उप्रान्त जोसुकैले बालेनलाई आक्रामक रूपमा लुसिफर भन्न थालेपछि उनले ‘फ...क अमेरिका , इण्डिया, चाइना, युएमएल, कंग्रेस, आरएसपी, आरपीपी, माओवादी ! यु गाइज अल कम्बाइन क्यान डु नथिंग’ भनेर मध्यरात र्याप ब्याटल गर्दै फेसबुकमा पोष्टै गरे । यो पोष्टको उनकै विरादरीले यति आलोचना र तुच्छ गाली गरे कि बालेन केही क्षणमै गले, पोष्ट गरेको विचार आफैंले हटाए । उनका अभिन्नहरू भन्दा रहेछन्, यो नै बालेन पछाडि हटेको दोस्रो पतन हो ।
पहिलो पतन, उनकै साथीहरूको नजरमा सिंहदरवारमा आगो लगाउने धम्की थियो । जो बालेन बाँचुञ्जेलसम्मका लागि कलंक बनेर रहने मात्र होइन कि सिंहदरवार जलेपछि त नेपालको धरोहरमा आगो लगाउने पात्रको रूपमा उनीविरुद्ध सबै नेपालीले सधैंका लागि सराप्ने विषय बनेको छ । सय वर्षमा पनि नमेटिने धब्बा लागेको छ । विरोधीहरू बालेनलाई सिंहदरवारमा आगो लगाउने योजनाकारको रूपमा आरोप लगाउँदै सख्त कारवाही गर्ने माग गरिरहेका छन् । बालेनले भदौ २०८०मा उनको गाडी कोटेश्वरमा ट्राफिक पुलिसले रोक्दा सरकारसंग र्याप ब्याटलमा उत्रिएर पोष्ट गरेका थिए, आजको लागि केही भएन, भोलिबाट कामनपाको कुनै गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु ! याद राख चोर सरकार ! यो आलेख प्रकाशित हुनु दुई दिन अघिको समाचार हो, बालेनले रास्वपासंग एकता गरिएको कागजमा हस्ताक्षर गरे । रास्वपाका सभापति रविले भने, आउँदो निर्वाचनमा बालेन हाम्रो तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार हुन् !
कुलमान –
सोमवार बेलुका सुत्न लागेको थिएँ, एउटा पत्रकार साथीले फोनमा भन्यो, रवि र बालेनसँग कुलमान घिसिङ पनि मिसिए । रवि लामिछाने पार्टी अध्यक्ष, कुलमान उपाध्यक्ष र बालेन प्रधानमन्त्रीको उम्मेदवार ! मनमा आयो तर साथीलाई भनिन, घ्यू बेचुवा, तरवार बेचुवा र पानी बेचुवा मिलेछन् । ठगिने को ? अब लोककथामा जस्तै तीनै जना ठगिन्छन् कि नेपाली जनता ठगिन्छन् ?
टिप्पणीहरू