सितिमिति कसैलाई भोट नहालौँ

सितिमिति कसैलाई भोट नहालौँ

भरखर बहुदल आएको थियो । चितवनतिर कांग्रेसले कम्युनिष्टका र कम्युनिष्टले कांग्रेसका घरलाई छोरी दिन मान्दैनथे भन्ने सुनिन्थ्यो । ब्रतबन्ध, पुजाआजा र अन्य समारोहमा राजनीतिक आस्थाकै कारण एकले अर्कालाई निम्तो दिँदैनथे अर्थात् राजनीतिक विचारधाराकै कारण जनतामा पानी बाराबारको अवस्था थियोे । त्यतिबेलाको त्यस्तो माहौललाई मैले ठीक थियो भन्न खोजेको होइन । मेरो आशय हो वैचारिक मतभिन्नता हुँदा सामाजिक बहिष्कारको समेत अवस्था उत्पन्न हुन सक्ने परिस्थिति हाम्रै अगाडि थियो ।

तर, अहिले त्यस्तो छैन । कुनै कालखण्डमा सत्ताधारीले अर्को दलका नेताहरूको टाउकाको मूल्य पनि तोकेकै हुन् भने अर्को पक्षले गाथगद्दीमाथि धावा बोल्ने काम गरेकै हुन् । हालको सत्ता पनि गाथगद्दीलाई निशाना बनाएरै बनेको हो । यति हुँदाहुँदै पनि जब सत्ताको कुरा आउँछ, संसदीय चुनाव जित्ने कुरा आउँछ, राजनीतिक दलहरू सबै प्रकारका कटुता बिर्सिएर चोंचोमोंचो मिलाउन तम्सिहाल्छन् । एमाले र राप्रपा मिलेर समाजवाद आउँछ कि झन् टाढा जान्छ ? कांग्रेस र नेकपा मिल्दा नवउदारवाद सफल हुन्छ कि विफल हुन्छ? राप्रपा माओवादीसित मिल्दा राजतन्त्र र हिन्दुराज्य बन्छ कि त्यो झन् असंभव बन्न जान्छ? यस्तो विरोधाभाष देखिन्छ हाम्रो राजनीतिमा । यसलाई वैचारिक स्खलनको पराकाष्ठा मान्न सकिन्छ ।

एमालेको सिद्धान्त के हो, विचारधारा र लक्ष्य के हो ? नेपाली कम्युनिष्ट पार्टीको,नेपाली कांग्रेसको, रास्वपा, मधेशवादी दल, बालेन, हर्क,कुलमान आदि आदिको सिद्धान्त र विचारधारा के हो, लक्ष्य र गन्तव्य के हो ? जब सत्तामा जाने बेला आउँछ गन्तव्य र विचारधाराले हावा खान्छ । राजनीतिक दलहरूले जे गरे पनि जनताले मान्दिनुपर्ने हो ? एमालेले राजावादीलाई बोक्ने, कांग्रेसले माओवादीलाई, माओवादीले मधेसी दललाई बोक्ने कुरा सही हो ? साँच्चै जनतालाई टेकन फर ग्रान्टेडकै रुपमा लिएको हो ? यदि हो भने जनताले पनि सोच्नुपर्छ कि हामीले किन भाउ दिने ! यदि आफ्नो स्वार्थका निम्ति विचारको काँचुली फाल्छन् भने जनतालाई पनि उनीहरूलाई साथ दिइरहनुपर्छ भन्ने नैतिक बाध्यता रहन्न । 

जनताको माग आकाशको तारा खसाइदेऊ भन्ने त छैन । सुनका गहना दिलाइदेऊ भन्ने पनि छैन । न त महल चाहिन्छ भनेका छन् । जनताको माग असाध्यै साधरण र मानवीय किसिमका छन् । मिहिनेत नै गरेर बिहान र बेलुका तातो गाँस खान सक्ने बनाइदेऊ । असमान नै सही तर हाम्रा छोराछोरीलाई पनि स्कूल गएर शिक्षा पाउन सक्ने अवस्था निर्माण गरिदेऊ । गाँस काटेरै खर्च बचाएरै भए पनि उपचार खर्च व्यहोरौंला तर राम्रो अस्पताल बनाइदेऊ । बिहान उठेर चिनी हालेको कालो चिया खान पाए खुशी हुने सिम्पल जनता पाइँदैन । 

राज्यको जात हुँदैन र दया पनि हुँदैन भनेर ठीकै भनेका रहेछन् । तराईतिर चिसोले गरिबका झोपडीमा बृद्ध र बालबालिकाहरू कठ्यांग्र्रिएर बसेका छन्, ओँठ नीलोकालो बनाएर लगलग काँप्दै छन् तर राज्यले आफ्नै जनताको त्यस्तो कठिनाइलाई न देख्छ, न त महसुस नै गर्छ । खासमा उनीहरूलाई पुसको कठ्याङ्ग्रिँदो जाडोबाट मुक्त गराउने काम दया नभएर राज्यको दायित्व हो, संवैधानिक जिम्मेवारी हो । सत्तामा बसेर शक्ति खेलाउन पल्केकाहरू यति कठोर हृदयका बनिसकेका छन् कि तिनीहरूमा मानवीय संवेदना लगभग हराइसकेको छ । 

खासमा जनता नै मालिक हुन्, जनताले नै हो देश बनाउने नेता जन्माउने र देश बिगार्ने नेता जन्माउने । हामीले गल्ती गरेर देश बिगार्ने नेता जन्माएका थिएनौं । उनीहरूको बनावटी देशभक्तिमा, नक्कली मायामा फस्न गयौं । भैैंसीले ब्वाँसोको सुम्सुम्याहटमा मख्ख परेर ज्यान गुमाएजस्तै उनीहरूको क्रान्तिकारिता, इमानदारी, देशभक्ति र मुक्तिको कुरामाथि भरविश्वास गर्दा धोका पायौं । हामीलाई चाहिएको पहिचान र आत्मसम्मान दिने व्यवस्था हो । 

चुनाव नजिकिँदै छ । हामीले जसलाई भोट हाल्नेछौं, चुनाव उसैले जित्ने हो । हामीले जस्तो अपेक्षा र उद्देश्य राखेका छौं, जे भैदिए हुन्थ्यो भन्ने चाहेका छौं, तिनै अपेक्षा, आकांक्षा र चाहाना पुरा गर्नसक्ने विचारधारा बोकेको, पूरा गर्नसक्ने भिजन बोकेको र गर्छु भन्ने हुट्हुटी बोकेको दलको मान्छेलाई जिताउने हो । त्यसकारण राजनीतिक दल र तिनका उम्मेदवारहरूलाई अगाडि उभ्याएर सोधौँ– तिमीहरूलाई हामीले/मैले किन भोट दिने र विजयी बनाउने ? तिम्रो झोले बन्नलाई जिताउने ? तिम्रो अकर्मण्यताको साक्षी र संरक्षक बन्न जिताउने ? अब यस्तो हुनै सक्दैन । तिम्रो भावी योजना के छ ? जनताले बुझ्ने भाषामा बताऊ । भन त्यो योजना कसरी लागू गर्छौ र त्यसमा हामीलाई कसरी सहभागी बनाउनेछौ ? एक एक गरेर हामीलाई बताऊ भन्नुपर्छ, प्रतिबद्धता ब्यक्त गराउनुपर्छ र समयसिमाको पावन्दी लगाउनुपर्छ । अब झुक्किनु हुँदैन, किनभने को कस्ता हुन् भनेर थाहा भैसकेको छ । अब चिनेका तर बुझेका, बेइमानी नगरेका, सिद्धान्तको काँचुली नफेरेका चाहे ती बुढा हुन् अथवा अधबैंसे अथवा जवान तिनैलाई छान्ने हो, चुन्ने हो तर यसको शर्त भने तिनले कार्ययोजना र त्यसमार्फत रुपान्तरण गर्ने तरिका हामीसमक्ष अनिवार्य रुपमा पेश गर्नै पर्छ ।

हामीले नागरिक कर्तव्यको पालना गर्ने भनेको निर्वाचनका माध्यमबाट सही र योग्य जनप्रतिनिधि चयन गर्नु पनि एक हो । हामी आफँैले चुनेको जनप्रतिनिधिले नै शासन गर्ने हो । हामीले सही मानिसलाई आफ्नो जनप्रतिनिधि चुन्न सक्दाखेरि नै चाहेका कुराहरू पुरा गराउन सकिन्छ । तर जानिबुझिकन, लोभमा परेर, स्वार्थको कारणले पनि यदि अयोग्य मानिसलाई जनप्रतिनिधि चुन्ने कमजोरी गर्नपुग्यो भने त्यसको परिणाम स्वयंले भोग्ने हो, जसरी हामीले भोगिरहेका छौं । यो कुरा नै जनप्रतिनिधि चुन्ने मन्त्र हो ।

 

टिप्पणीहरू