रवि र रास्वपाको विश्वासमा धेरैतिर संकट

रवि र रास्वपाको विश्वासमा धेरैतिर संकट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच १५ दिनमै एकता भंग हुनुको मूल कारण संगठनात्मक विवादभन्दा गहिरो विश्वासको संकट भएको देखियो । विशेषतः सभापति रवि लामिछानेको नेतृत्व शैली,निर्णय प्रक्रिया र प्रतिबद्धताप्रति बढ्दो शङ्काले उक्त सहमति टुटने प्रक्रियालाई तीव्र बनाएको विश्लेषण गरिएको छ ।

कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमति लिखितभन्दा बढी मौखिक र राजनीतिक आश्वासनमा आधारित थिए । तर व्यवहारमा निर्णयहरू सीमित घेराभित्र,रवि निकट व्यक्तिहरूको प्रभावमा पर्दै गएको उज्यालो नेपाल पक्षको आरोप छ । समानुपातिक उम्मेदवार छनोटमा पनि उनेपाका तर्फबाट अपेक्षित सहभागिता नहुँदा “एकता नामको समायोजन कि विलय ?” भन्ने प्रश्न उठेको छ।

यसले रवि लामिछानेको विश्वसनीयता मात्र होइन,रास्वपाको संस्थागत संस्कारबारे पनि आशङ्का जन्माएको विश्लेषण गरिएको छ । ‘नयाँ राजनीति’ र ‘पारदर्शिता’ को नारा दिए पनि व्यवहारमा निर्णय केन्द्रिकृत हुँदै गएको आरोप पार्टी बाहिर मात्र होइन,भित्रैबाट पनि उठ्न थालेको छ।

रास्वपा र रविप्रति विश्वासको संकटको प्रभाव काठमाडौँ महानगरका मेयर बालेन साहसँगको सहकार्यमा समेत देखिने धेरैको अनुमान छ । सार्वजनिक रूपमा रविले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरे पनि निर्णायक घडीमा अवसर नदिने संकेत कुलमान निकट र उज्यालो नेपालका पदाधिकारीहरुको छ । 

यसबाट बालेन पक्षले पनि दूरी बढाउने सम्भावना देखिन्छ । सहकार्यलाई रणनीतिक रूपमा प्रयोग गर्ने तर दीर्घकालीन प्रतिबद्धता नदेखाउने छवि रास्वपाको बन्दै गएको टिप्पणी छ।

राजनीतिक विश्लेषकहरूका अनुसार वैचारिक स्पष्टता,शक्ति बाँडफाँडको सुनिश्चितता र आपसी विश्वास बिना गरिएको कुनै पनि एकता टिकाउ हुनै सक्दैन । रास्वपा नेतृत्वले अब पनि आत्ममूल्यांकन नगरे विश्वासको संकट झन् गहिरिँदै जाने छ । यसबाट आगामी सहकार्यहरूसमेत जोखिममा पर्ने सम्भावना रहेको बालेन निकटहरुको बुझाइ छ ।

टिप्पणीहरू