राेकिएला अब निर्वाचन ?

राेकिएला अब निर्वाचन ?

आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले राष्ट्रपति कार्यालयसमेतलाई विपक्षी बनाएर सर्वोच्चमा आज मुद्दा दर्ता गरेका हुन् । 

प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक रहेको भनि सर्वोच्चमा परेको रिट किनारा नलाग्दै निर्वाचन गर्न खोज्नु गैरकानुनी भएको उनको ठहर छ । उक्त रिटको फैसला नभएसम्मका लागि उनले निर्वाचन रोक्न माग गरेका छन् । त्यसैगरी, हालसम्म भएका निर्वाचनका सम्पूर्ण कार्यक्रम रद्द गर्न भनिएको छ ।

उनले भनेका छन्,‘उपरोक्त कार्यक्रम नरोकिए विपक्षीहरुको गैरकानुनी एवं अवैधानिक कार्यले प्रश्रय पाउने भएकाले सुविधा र सन्तुलनका दृष्टिकोणले निर्वाचन आयोगबाट घोषित निर्वाचन तालिका, निर्वाचनका सूचना समेतका निर्वाचन कार्यक्रम तत्कालै रोकिपाऊँ ।’

अधिवक्ता पौडेलले प्रधानमन्त्रीमा कार्कीको नियुक्ति बदर गर्न माग गर्दै गत असोज २९ गते सर्वोच्चमा रिट दायर गरेका थिए । प्रधानन्यायाधीश भइसकेको व्यक्ति सरकारी पदमा नियुक्ति हुन नसक्ने उल्लेख गर्दै उनले कार्कीको नियुक्ति हरेक कोणबाट असंवैधानिक भएको जिकिर गरेका छन् । 

रिटको पेशी माघ ६ गते तोकिएको छ । नियुक्ति नै असंवैधानिक भएको रिट अदालतमा चलिरहँदा निर्वाचनको कार्यक्रम अगाडि बढाउनु कानुनविपरीत हुने उनको भनाइ छ ।

टिप्पणीहरू