नयाँ नेतृत्व चयनपछि मात्रै घर फर्किने गगनकाे उद्घाेष
नेपाली कांग्रेसको विशेष महाधिवेशनले नेता द्वय गगन थापा र विश्वप्रकाश शर्माको राजनीतिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । जारी बन्दसत्रको हलमा महाधिवेशन प्रतिनिधिहरुले ताली बजाएर दुई प्रतिवेदन पारित गरेका हुन् ।
नेता थापाले भोलि बिहान समयमै मतदानमा सहभागी हुन प्रतिनिधिहरुलाई आग्रह समेत गरे । ‘अहिले हल्ला फैलाइएको छ कि गगन र विश्वप्रकाशले टिकटको लागि भागवण्डा खोज्न विशेष महाधिवेशन गरेको हुन्’, उनले भने, ‘यो गलत हो, यहाँ हजारौँ प्रतिनिधि आउनुभएको छ, अब यो हलले नै नयाँ नेतृत्व चयन गर्छ र त्यसपछि मात्र हामी घर फर्किन्छौँ ।’
नेता थापाले जोखिम मोलेर साथ दिएकोमा शर्मालाई धन्यवाद समेत दिए । ‘मैले विश्वप्रकाश दाइको भाषण सुनेरै बोल्न सिकेको हुँ, आज उहाँलाई कुनै स्वार्थ छैन, कुनै पद चाहिएको छैन, वश्, सुध्रिएको कांग्रेस चाहिएको छ, जुन हामी सबैको चाहना हो’, उनले थपे ।
विशेष महाधिवेशनको अपनत्व लिएर निर्वाचन प्रक्रियामा सहभागी हुन पनि थापाले संस्थापन पक्षका नेताहरुलाई आग्रह गरेका छन् । उनले अघि भने, ‘निर्वाचन प्रक्रिया अघि बढिसकेको छ, यो कुनै पनि हालतमा रोकिदैन, हामीलाई सभापति पनि चाहिएको छैन, कसलाई नेतृत्व गर्नुपर्ने हो आउनुस्, प्रतिस्पर्धा गर्न तयार हुनुस् ।’
टिप्पणीहरू