बालेनका उम्मेदवार सागरमाथि विदेशबाट परिचालित भएको आरोप
प्रायःले सुनेकै नाम र चिनेकै व्यक्ति हुन्–सागर ढकाल । कुनै समय पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबाट गाली खाएर उनैसँग चुनाव लडेका युवा हुन्,उनी ।
२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उनी पूर्वप्रधानमन्त्री देउवासँग डडेल्धुरा निर्वाचन क्षेत्र नम्बर–१ मा लडेका थिए । स्वतन्त्र उम्मेदवार उनी १३ हजार ४२ मत ल्याएर पराजित भए ।
चुनावपछि गुमनामझैं भएका ढकाल फेरि राजनीतिक गतिविधिमा होमिन थालेका छन् । उनी पछिल्लो समय रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध छन् । रास्वपाबाटै फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा होमिने उनको तयारी छ । रास्वपा वरिष्ठ नेतासमेत रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले केही दिनअघि ढकाल नै डडेल्धुराको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।
तर,तिनै ढकालमाथि यतिबेला एउटा गम्भीर आरोप लागेको छ । त्यो हो–अमेरिकाबाट परिचालित भएको आरोप । उनी अमेरिकी संस्थामा आबद्ध भएको तथ्य पनि सार्वजनिक भएको छ । अमेरिकी दूतावासको युथ काउन्सिल नेपालले सन् २०१६ मा आफ्नो आधिकारिक फेसबुक पेजमा उनको तस्बिरसहितको एउटा पोष्ट गर्दै ढकाल संस्थाको सदस्य भएको जनाएको थियो ।

जुन पोष्ट अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । पोष्टमा लेखिएअनुसार उनी सन् २०१५ देखि संस्थामा आबद्ध छन् । देश बनाउँछु भन्नेहरु सबै अमेरिकाबाट परिचालित भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता शिव फुयाँलले विरोध जनाएका छन् । उनले लेखेका छन्,‘झोलेहरुका लागि देश बनाउँछु भन्नेहरु सबै अमेरिकाबाट परिचालित ।’
ढकाललगायत सबै अमेरिकी दास भएको राजु तोलाङ्गीको आरोप छ । ‘यिनीहरु सबै अमेरिकी दास हुन् । जब देश नै भड्खालोमा जान्छ अनि खान्छन्, यिनका भेडाहरु’,उनले भनेका छन् । पुष्पराज जोशीले जुन जोगी आएपनि कानै चिरेको भन्दै गुनासो पोखेका छन् । लेख्छन्,‘जुन जोगी आए पनि कानै चिरेको भनेको यही हो ।’
टिप्पणीहरू