देउवा पक्षलाई निर्वाचन आयोगको यस्तो जवाफ

देउवा पक्षलाई निर्वाचन आयोगको यस्तो जवाफ

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली काँग्रेसको आधिकारिता विवादमा आयोगले विधि र परम्पराअनुसार निर्णय गर्ने बताएका छन् ।
 
पार्टीको आधिकारिकता दाबी गर्न पुगेका काँग्रेस संस्थापन पक्षीय नेताहरूसँगको कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । राजनीतिक दलसम्बन्धी विवादमा आयोगले संविधान, ऐन, विधि र अहिलेसम्मको अभ्यासलाई हेरेर निर्णय गर्दै आएकाले काँग्रेसको हकमा पनि त्यहि हुने प्रमुख आयुक्त भण्डारीले स्पष्ट पारे । 

निर्वाचन आयोग विधि र पद्धतिभन्दा बाहिर नजाने बताउँदै भने, ‘निर्वाचन आयोगको आफ्नो परम्परा छ । विधि, परम्परा छ । संविधान, ऐन, कानून छ । यसको परिधिभित्र रहेर निर्वाचन आयोगले निर्णय गर्ने हो । निर्वाचन आयोगले विधि र पद्धतिअनुसार निर्णय गर्नेछ । हाम्रो संस्थागत परम्परा पनि छ ।’

काँग्रेसमा गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरी छुट्टै केन्द्रीय कार्यसमिति चयन गरेसँगै सो पार्टी विभाजित छ । दुवै पक्षले आधिकारिकता दावी गरिरहेका छन् । 

फागुन २१ को निर्वाचनको मनोनयन दर्ताको समय आउन मात्र ४ दिन बाँकी रहेको अवस्थामा आयोगले विवाद समाधानमा कस्ती भूमिका खेल्छ भन्ने आमचासो छ ।

टिप्पणीहरू